गैंडा संरक्षणमा चुनौती



चितवन निकुञ्जमा कालगतिले गैंडा मर्ने क्रम बढेपछि संरक्षणमा चुनौती थपिएको छ । पछिल्ला दुई वर्षमा चितवनमा प्राकृतिक कारणले गैंडा मर्ने क्रम पाइएको छ । निकुञ्जको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४÷०७५ मा २६ र आर्थिक वर्ष २०७३÷०७४ मा २४ गैंडा प्राकृतिक कारणले मरेका छन् । ०७३ चैत २६ गते चोरी सिकारीका कारण थप एक गैंडा मरेको थियो ।

चालू आर्थिक वर्षको डेढ महिनाभित्रै चार गैंडा कालगतिले मरेका छन् । गत मंगलबार मात्रै माडीमा एक गैंडा मृत अवस्थामा भेटिएको थियो ।

पछिल्लोपटक सन् २०१५ मा गैंडा गणना भएको थियो, जसमा देशभर ६४५ गैंडा गणना गरिएकोमा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ फेला परेका थिए । गैंडा गणनायता चितवन निकुञ्जमा ६९ वटा गैंडा मरेको निकुञ्जले जनाएको छ । पछिल्लो समय गैंडा बूढो भएर, एक–आपसमा जुधेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र साना केटोलाई बाघले खाइदिएर मर्ने गरेका छन् ।

अहिले विश्वव्यापीरुपमा वन्यजन्तु तस्करी नियन्त्रणमा चुनौती बढिरहेको छ । यद्यपि, नेपालमा चोरी सिकारका कारण गैंडाको मृत्यु लगभग नियन्त्रणजस्तै भइसके पनि प्राकृतिक मृत्युका कारण गैंडा मर्न थालेपछि त्यसको अनुसन्धान थालिनु जरुरी भएको छ । नेपालमा विगतमा एकै महिनामा १० वटासम्म गैंडा मारिने गरेको अवस्था थियो । केही वर्षअघिसम्म गैंडा संरक्षणका लागि चोरी सिकारी नियन्त्रण प्रमुख समस्या रहे पनि अहिलेको अवस्थामा गैंडा मर्नुको कारण खोजी गर्नै पर्ने भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले प्रकृति संरक्षण कोषसँग मिलेर हरेक चार–चार वर्षमा गैंडा गणना गर्दै आएको थियो । तर, गैंडाको बढ्दो मृत्यु क्रमले सरोकारवाला निकायलाई चुनौती थपिदिएको छ । विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडाका लागि नेपाल उर्वरभूमि मानिँदै आएको छ । गैंडाको संख्या वृद्धिले उत्साहित संरक्षणकर्मीलाई बढ्दो मृत्युले चिन्तित बनाएको छ ।

नेपालमा सन् २०११ मा गैंडा गणना ५३४ रेकर्ड भएको थियो । त्यसको चार वर्षपछि अर्थात् सन् २०१५ सम्म बढेर ६४५ रेकर्ड भयो । अबको गणनाले मात्र गैंडाको वृद्धि भए÷नभएको थाहा लाग्नेछ । यदि गैंडाको संख्या घटेको पाइएमा त्यसले निकै चुनौती थपिदिने निश्चित छ ।
– खिमकुमार शर्मा, चितवन ।

प्रतिक्रिया दिनुहोस्