बालकद्वारा बालिका बलात्कृत



कृष्णउदास खनाल, वीरगन्ज
पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीमा आइतबार १५ वर्षीय बालकले छिमेककै १२ वर्षीया बालिकालाई बलात्कार गरेको पाइएको छ ।

घर बाहिरको चापाकलमा पानी लिन गएकी बालिकालाई बालकले आफ्नो घरमा लगेर जबरजस्ती बलात्कार गरेको दाबी गरिएको हो । परिवारका कोही पनि सदस्य नबस्ने र सरसामान मात्रै राख्ने गरिएको आफ्नो फुसको घरमा बालिकालाई लगेर ती किशोरले जबरजस्ती बलात्कार गरेपछि बालिका चिच्याएकी थिइन् । त्यो आवाज छिमेकीले सुनेपछि घटना सार्वजनिक भएको हो । बालिका चिच्याएको हल्ला सुनेपछि घर भित्र पुगेका छिमेकीले बालकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

पीडित बालिका र आरोपित बालक दुवैजनाको आइतबार नै नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको प्रहरी निरीक्षक ज्ञानकुमार महत्तोले जानकारी दिए। स्वास्थ्य परीक्षणपछि बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ भने आरोपित बालकलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ । आरोपित पनि बालक भएकाले उनको परिचय गोप्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्