शिवराज–९ “बालमैत्री वडा” घोषणाको तयारीमा



सीताराम चौधरी, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ अन्तर्गत साविक शिवगढी गाविसलाई बालमैत्री वडा घोषणा गरिने भएको छ ।
विगत ५ वर्षदेखि वडाले बालबालिका लक्षित कार्यक्रम संचालन गरी ३९ वटा सूचक पूरा भएको भन्दै आगामी असोज ३ गते भव्यताका साथ बालमैत्री वडा घोषणाको तयारी गरिएको हो । वडालाई बालमैत्री घोषणाका लागि मूल समितिको मातहतमा विभिन्न ७ वटा उपसमिति गठन गरी कार्यक्रम तीब्र गतिमा अघि बढाइएको वडाध्यक्ष चुरबहादुर खडकाले जानकारी दिनुभयो ।

वडाध्यक्ष चुरबहादुर खडकाको संयोजकत्वमा अनुगमन तथा समन्वय उपसमिति गठन गरिएको छ । वडासचिव प्रेम वलीको संयोजकत्वमा प्रचारप्रसार तथा ¥याली व्यवस्थापन र प्रतिवेदन लेखन तथा तथ्यांक संकलन उपसमिति गठन गरी कार्य गति बढाइएको छ । यस्तै नन्दलाल पुरी संयोजक रहेको मञ्च व्यवस्थापन तथा स्वयंसेवक परिचालन, हरि श्रेष्ठको संयोजकत्वमा बालमैत्री सडक सरसफाई, पार्वती सुवेदीको संयोजकत्वमा स्वागत तथा सत्कार उपसमिति गठन गरी तयारीमा जुटेका छन् । यसैगरी स्वास्थ्य चौकी इन्चार्ज जितबहादुर विसीको संयोजकत्वमा प्राथमिक उपचार व्यवस्थापन समिति गठन गरी घोषणाको तयारीमा जुटेको वडा सचिव प्रेम वलीले जनाउनुभयो ।
वि.सं. २०७१ सालमा तत्कालिन शिवगढी गाविसको गाउँसभाले बालमैत्री स्थानीय शासन अवलम्बन गरी बालबालिका लक्षित कार्यक्रमलाई अघि सारेको हो । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८ ले निर्दिष्ट गरेका सेवा प्रभाव सम्बन्धी २७ वटा सूचक तथा संस्थागत विकास सम्बन्धी १२ वटा सूचक गरी ३९ वटा सूचक पूरा गर्ने लक्ष्यका साथ कार्यक्रमलाई अघि बढाइएको थियो । सोही अनुसार हरेक वर्ष कूल बजेटको १५ प्रतिशत बालबालिका लक्षित कार्यक्रममा छुट्टाई कार्यक्रमलाई अघि बढाइएको थियो । ५ वर्षमा ३९ वटा सूचक पूरा भएपछि बालमैत्री वडा घोषणाको तयारीमा जुटेको वडाध्यक्ष चुरबहादुर खडकाको भनाई छ ।

बालमैत्री घोषणा अघि वडास्तरीय अनुगमन समितिले अनुगमन गरी नगरस्तरीय अनुगमन समितिलाई रिपोर्ट दिन्छ । त्यसपछि नगरस्तरीय अनुगमन समितिले अनुगमन गरी सूचक प्रमाणीकरण गरेर जिल्ला समन्वय समितिलाई घोषणाका लागि स्वीकृतिका लागि अनुरोध गर्ने प्रावधान रहेको वडा सचिव प्रेम वलीले जनाउनुभयो । त्यसपछि जिल्ला समन्वय समितिले अनुगमन गरेपछि घोषणाको स्वीकृति दिएर मन्त्रालयमा जानकारी गराएपछि वडालाई बालमैत्री घोषणाको प्रक्रिया पूरा हुने वडासचिव वलीले बताउनुभयो । वडालाई बालमैत्री घोषणाका लागि सबै प्रक्रिया अघि बढाइएको र तोकिएकै समयमा भव्य कार्यक्रमका साथ वडालाई बालमैत्री घोषणाको तयारीमा जुटेको वडासचिव वलीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्