जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो, सुनामीको डर छैन



टोकियो ।
उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार गएको ६।६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको सङ्ख्या १८ पुगेको अधिकारीहरूले जनाएका छन् ।

शुक्रबार जापानबाट प्राप्त समाचारमा यस भूकम्पबाट भवन भत्किएर र भूस्खलनमा परी १८ जनाको ज्यान गएको र अझै पनि अरू करिब २२ जना स्थानीय नागरिक बेपत्ता भएको जनाइएको छ ।

गत साता होक्काइदो वरपर शक्तिशाली आँधी पनि आएको थियो । त्यस आँधीले पनि जनधनको ठूलो क्षति भएको थियो ।

अधिकारीहरू उद्धार कार्यमा खटिरहेका समाचारमा जनाइएको छ । क्षतिको पूर्ण विवरण आइसकेको छैन । सरकारी निकायले सुनामीको भने डर नरहेको बताएका छन् ।

यस द्वीपका अधिकांश भू–भागमा विद्युत्सेवा र रेलसेवा चलेको छैन । आँधीले विच्छेद गराएको विद्युत् सेवा पुनः शुरु भएपछि भूकम्प गएको अधिकरीहरूले बताएका छन् ।

भूकम्पबाट दर्जनौँ घर ध्वस्त भएका र अरू धेरै घरमा आंशिक क्षति पुगेको बताइएको छ । भूकम्प प्रभावित इलाकाका स्थानीय बासिन्दालाई राहात उपलब्ध गराइएको छ । बढी प्रभावित केही व्यक्तिलाई हेलिकोप्टरबाट समेत उद्धार गरिएको छ ।

यस भूकम्पबाट कम्तीमा पनि १६ लाख नागरिक प्रभावित भएका छन् । तर शुक्रबारसम्म यो सङ्ख्या आधा जति घटेको र ती नागरिकलाई विद्युत् र खानेपानी उपलब्ध गराइएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

सो द्वीपमा उद्वारका लागि करीब २० हजार उद्धारकर्ता परिचालित भएका सरकारका प्रवक्ता योसिहिदे सुगाले बताउनुभएको छ । उद्धार कार्यमा हजाराँैको सङ्ख्यामा सैनिक पनि परिचालन गरिएको छ ।

सन् २०११ को मार्च ११ मा जापानमा आएको विनाशकारी ९।० रिक्टर स्केलको भूकम्पपछिको सुनामीमा परी निकै ठूलो जनधनको ठूलो क्षति भएको थियो । सो सुनामीबाट करीब १९ हजार नागरिकको ज्यान गएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्