रोज र रामकहानी सँगै



केही समययता चाडपर्व नजिकिँदै जाँदा नेपाली फिल्मले सिंगल रिलिज पाउन छोडेका छन्। एकै साता २ वा २ भन्दा बढी फिल्म रिलिज हुन थालेका छन्। आज शुक्रबार पनि एकभन्दा बढी फिल्म रिलिजमा आउन लागेका छन्।

आज एकसाथ २ फिल्म एक आपसमा भिड्दै छन्। चकलेटी नायक प्रदीप खड्का अभिनित रोज र नायिका पूजा शर्मा अभिनित फिल्म रामकहानी आजबाट देशभर एकसाथ रिलिज हुन लागेका हुन्।

गोपीकृष्ण मुभिज र आरोही फिल्म्स्को ब्यानरमा निकिता पौडेल र मणिकरण केसीद्वारा संयुक्तरूपमा निर्मित, निरक पौडेल निर्देशित तथा उद्धव पौडेलद्वारा प्रस्तुत फिल्ममा लेखन केदार भुसाल, गीत राजेशकुमार श्रेष्ठ र दयाराम पाण्डे, संगीत अर्जुन पोखरेल र एलिस कार्की, कोरियोग्राफी कविराज गहतराज, छायांकन राजुविक्रम थापा र सम्पादन मित्र डी गुरुङको रहेको छ। फिल्ममा प्रदीप खड्का, परमिता राज्यलक्ष्मी राणा र मिरुना मगरको मुख्य भूमिका छ। कर्मा शाक्य, वरुण शमशेर जबरा, नरेश पौड्याल, केदार भुसाल, पल्पसा डंगोल, प्रकाश श्रेष्ठ, प्रदीप दाहाललगायतले पनि अभिनय गरेका छन्।

नायक प्रदीप खड्काले बिगतको भन्दा रोजमा फरक काम गरेको बताएका छन्। एउटा सामान्य व्यक्ति कसरी आफूले सबैभन्दा बढी चाहेको प्रेमिकाको हत्या गर्न विवश भयो भन्ने भूमिकामा दर्शकले आफूलाई यो फिल्ममा हेर्न पाउने पनि उनले बताए। मिरुनाले यो फिल्ममा आफू वकिलको भूमिकामा भएको बताएकी छिन्। अर्की अभिनेत्री परमिताले आफू मोडलको भूमिकामा भएको खुलाएकी छिन्। एक सातासम्म मोफसलका ८ शहरमा कन्सर्ट गरेर काठमाडौं आएका प्रदीप, पारमिता र मिरुनाले बुधबार र बिहीबार पनि काठमाडौंमा कन्सर्ट गरेका थिए। फिल्मको नाम पहिले रोजी थियो। विवादका कारण यसको नाम परिवर्तन गरी रोज बनाइएको हो।

अभिनेत्री पूर्जा र निर्देशक सुदर्शन थापाको निर्माण रहेको फिल्म रामकहानीमा हास्यकलाकार केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रवीन्द्र झा, राजाराम पौडेललगायतका कलाकारको प्रमुख भूमिका रहेको छ। गीत–संगीतको कारण चर्चामा रहेको फिल्ममा सुदर्शन थापाको कथा, महेश दवाडी र दिनेश न्यौपानेको पटकथा तथा संवाद रहेको छ। अर्जुन पोखरेलको गीत तथा संगीत, कविराज गहतराज कोरियोग्राफी तथा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्