जापानको होक्काइदोमा शक्तिशाली भुकम्पको धक्का



राजबिन थापा, टोकियो ।
विहिवार विहानै जापानको होक्काइदोमा प्रारम्भिक ६ दशमलव ७ म्याग्नेच्यूड मापन गरिएको भुकम्प गएको छ । भुकम्पका कारण विद्युत प्रवाह ठप्प छ भने यातायातहरु रोकिएको साथै भुकम्पपश्चातको पहिरोमा परि घरहरु पुरिएको अधिकारीहरुले बताएका छन् । भुकम्पपश्चात ठूलो पराकम्प पनि गएको थियो ।

आत्चुमा तथा आविरा सहरहरुमा विहानै३ बजेर ८ मिनेट जाँदा गएको भुकम्पका कारण पहिरो जाँदा धेरै घरहरु पुरिएको र त्यहाँ २० जनाभन्दा बढि हराइरहेको उद्धार टोलीलाई उधृत गर्दै क्योदो न्यूजले समाचार लेखेको छ । १० जनाको हेलिकप्टरमार्फत उद्धार भएको र ४८ जना घाइते रहेको एनएचकेले जनाएको छ । एक ८२ बर्षिय वृद्धको उद्धार गरिएको पनि समाचारमा उल्लेख छ । हजारौंको संख्यामा उद्धारकर्मीहरु परिचालन गरिएको स्थानीय सरकाले जनाएको छ ।

भुकम्पका कारण होक्काइदो इलेक्ट्रिक पावर कम्पनीको सहयाक उर्जा श्रोतसंगको सम्बन्ध विच्छेद हुँदा विद्युत प्रवाह बन्द भएको छ । त्यहाँका ३० लाख घरहरुमा विद्युत सुचारु हुन सकेको छैन भने साप्पोरो क्षेत्रमा टेलिफोन तथा टेलिभिजन समेत नचलेको बताइएको छ ।

त्यहाँ रहेका परमाणु प्लान्टहरुमा विकिरण स्तरमा कुनै असामान्य गतिविधि नभेटिएकाले विकिरण प्रवाहको कुनै खतरा नरहेको बताइएको छ ।

दक्षिणी होक्काइदोको लगभग ३७ किलोमिटरको गहिराईमा जापानी भूकम्प तीव्रता स्तर मापन अनुसार ७ मापन गरिएको भुकम्प सन् १९९६ यताकै ठूलो हो ।

न्यू चितोसे एअरपोर्टको एक भागमा सिलिङ भत्किएको र विद्युत प्रवाह पनि रोकिएका कारण आज दिनभर बन्द रहने यातायात मन्त्रालयले जनाएको छ ।

बुलेट ट्रेन तथा स्थानीय रेल सेवाहरु पनि अवरुद्ध रहेका छन् ।

धेरै सहरहरुमा अस्थायी आश्रयस्थलहरु तयार पारिसकिएको बताइएको छ ।

होक्काइदो गर्भनरको अनुरोधमा टोकियोबाट आत्मरक्षा दलका २५ हजार उद्धारकर्मीहरु पठाउने तयारी भएको केन्द्रिय सरकारले जनाएको छ । प्रधानमन्त्री सिन्जो आवेले सरकारले इमर्जेन्सी कार्यदल तयार गरिएको र खोजी तथा उद्धारको कार्यलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्