स्वारेजको च्याम्पियन्स लिग जित्ने चाहना



लन्डन, (एजेन्सी)
उरुग्वेली स्टार लुइस स्वारेजले मेसीको लागि यूएफा च्याम्पियन्स लिगको उपाधि जित्ने चाहना रहेको बताएका छन् ।

स्पेनिस ला लिगामा बार्सिलोनाको चिर प्रतिद्वन्द्वी रियल मेड्रिडले लगातार तीन पटक उक्त उपाधि जितेपछि बार्सिलानाका स्वारेजले यो सिजनको च्याम्पियन्स लिग जित्ने संकल्प गरेका हुन् । यदि बार्सिलोनाले यो सफलता पाएमा लुइस स्वारेज आफ्ना स्ट्राइकर पार्टनर लियोनल मेसीका लागि खुशी हुनेछन् ।

मेसी चारभन्दा बढी च्याम्पियन्स लिग उपाधिका हकदार भएको स्वारेजले बताए । ’च्याम्पियन्स लिग यस्तो प्रतिस्पर्धा हो, जसले तपाईलाई युरोपको उत्कृष्ट खेलाडी र टिमको रुपमा परिभाषित गर्छ’–उनले भने ।

यो सिजन च्याम्पियन्स लिग जित्न टिममा इच्छा, प्रेरणा र अपेक्षा सबै रहेको उनले बताए । ‘जब प्रतिस्पर्धीले तीन च्याम्पियन्स लिग जित्छ, अवश्य डाहा लाग्छ’ स्वारेजले भने, ‘यसले परिस्थितिमा परिर्वतन ल्याउने इच्छा जगाएको छ ।’

मेसी अहिले जितभन्दा धेरै च्याम्पियन्स लिगको उपाधिको हकदार भएको उनको दाबी छ । ‘गत सिजनको च्याम्पियन्स लिग र विश्वकपपछि उनमा भोक छ’ स्वरेजले भनेका छन्, ‘उनले सँधै नेतृत्वदायी भूमिका निभाएका छन् र अरु उपाधि उचाल्न इच्छुक छन् ।’

क्रिस्टियानो रोनाल्डोले रियल मेड्रिड छाडेको प्रसंगमा कुराकानी गर्दै स्वारेजले बेर्नबाउमा अरु क्षमतावान खेलाडी पनि रहेको बताए । ‘रियल मेड्रिड भनेको रियल मेड्रिड हो । मलाई लाग्छ, उनीहरुसँग थुप्रै राम्रा खेलाडीहरु छन् ।’ नयाँ प्रशिक्षकको नेतृत्वमा नयाँ लक्ष्य रहेको भन्दै उनले रोनाल्डो नभए पनि बार्सिलोना रियल मेड्रिडसँग सतर्क हुनु पर्ने बताए ।

बार्सिलानाले यो सिजन भित्र्याएका नयाँ खेलाडीहरुमा उल्लेख्य क्षमता भएको उनले बताए । आर्थरमा जाभीका धेरै गुण रहेको मेसीले आफूलाई बताएको स्वारेजले बताए ।

प्रतिक्रिया दिनुहोस्