नेपालको विकास हुन नसक्नुको कारण



नेपालको विकास हामी सम्पूर्ण नेपालीका लागि एउटा महत्वपूर्ण विषय हो । यो हरेक नेपालीले बोल्ने शब्द पनि बनिसकेको छ । नेपालको विकास कहिले होला ? यो प्रश्न धेरैले गर्ने गर्छन् तर सोच्दैनन् कि हरेक चिज परिवर्तन गर्नुअघि आफूबाट नै शुरु गर्नुपर्छ भनेर ।

हरेक चिज भनेर मात्र सम्भव हुने भए त नेपाल पहिले नै अमेरिका भैसक्थ्यो होला । हैन भन्नुस् त ? तपाईं आफैं आफ्नो घरअगाडिको फोहोर व्यवस्थापन गर्न नगरपालिकाको गाडी नै कुर्नहुन्छ, अफिस निस्कँदा होस् वा कहीँ कतै जाँदा तपाईं त्यही बाटो आफ्नो नाक थुन्दै हिँड्नुहुन्छ । तर सोच्नुहुन्न कि यो हामी आफैंले सफा गर्दा पनि हुन्छ भनेर ।

हरेकले भन्नुहुन्छ– घूसखोरीले नै देश बिग्रेको हो भनेर । तर त्यो घूस कसले दिएको हुन्छ ? सोच्नुभएको छ कहिल्यै ? त्यो घूस त निश्चय नै अन्यत्रबाट आएर कसैले दिँदैन होला, हैन र ? त्यो घूस दिने पनि त तपाईं–हामी नै हो । अनि किन दोष दिन्छौं हामी अरुलाई ? हामीले आफ्नै काम गर्नलाई त अरुको बाटो हेर्छौं भने देशको विकासको बारेमा त कुरा गर्नबाहेक अरु केही सिकेका छौं जस्तो लाग्दैन मलाई ।

बरु तपाईंसँग आफ्ना बकमफुसे गफ गरेर बस्ने समय हुन्छ, अरुको कुरा काटेर बस्ने समय हुन्छ, फलानाले त फलानोको यति पैसा लिएर यस्तो ठाउँमा काम लगाइदियो रे ! अथवा यस्तो काम गरिदियो रे त भन्दै चौतारोमा बसेर गफ चुट्नसम्म चुट्नुहुन्छ । अनि आफैं भन्नुहुन्छ– देश नेताले बिगारेका हुन् भनेर । एकपटक सोच्नुस् त, तपाईं–हामीले नै देश बिगारेको हो कि हाम्रा माननीय नेताले ?

हो, म मान्छु– हाम्रा माननीय नेताको पनि गल्ती हो तर उहाँहरुलाई हामीले नै बिगारेको होइन र ? यदि तपाईंको आफन्ती कसैले कहीँ–कतै केही गल्ती गरिहाल्यो भने तपाईं उक्त कुरा बाहिर देखाउनुहुँदैन तर अफसोस तपाईंसँग कोही नमिल्ले मान्छेले गल्ती गरोस् त तपाईं जत्तिको अगाडि उसको सिकायत गर्न अरु कोही पुगेको हुँदैन । तपाईं–हामी आफैंले नै आफ्नो पावर लाग्ने ठाउँमा भरपूर फाइदा उठाउँछौं अनि आफैं भन्छौं कि अर्काे दिन कसैसँग यहाँ पावर हुनेको मात्रै चल्छ, हामी जस्ता साधारणको त केही लाग्दैन भनेर ।

तपाईंले एकदिन दुःख भोग्दा त्यस्तो सास्ती हुन्छ भने अन्य सधैँ हरेक चिज बनाउँदा लाइन लागेर बनाउनुपर्ने अवस्थामा अन्य सामान्य मान्छेलाई कस्तो हुँदो हो ? कहिल्यै सोच्नुहुन्छ तपाईं ? कदापि सोच्नुहुन्न । किनकि तपाईं त व्यस्त मान्छे होइन र ?

हिजोको अवस्था भुल्दै जान्छौं हामी । आज आफैं यो सफलता प्राप्त गरेका हौं भन्ने सोच्छौं हामी । अनि कुनै कुर्सीमा बसेर भन्दा गरिब भनेका यस्तै हुन् हामी आफ्नो बाटो लाग्दै गरौं । सेल्युट गर्छु म तपाईंको सोचलाई, आफू केही गर्नुहुन्न अनि अर्काेलाई दोष दिँदै बस्नुहुन्छ । देशको विकास गर्ने कुरा गर्नहुन्छ, तर तपाईंमा मानसिक सोचको त विकास भएको छैन झन् देशको त कुरै नगरौं ।

हामी आफंै नाराबाजी गर्छौं– नेपालमा छन् त दुईवटा मात्र, ती हुन् नारी र पुरष भनेर । तर जो नारा लगाउनुहुन्छ, उहाँकै घरमा गाउँको तल्लो जात भनेर चिनिने कुनै मानिस आएमा भन्ने गर्नुहुन्छ, बाहिर बैठक कोठामा बस् भनेर । मानौं कि ऊसँग छोइयो भने आफू बाँचिदैन होला भनेर । मेरा माननीयज्यूहरु, हरेक कुरा विकास गर्नु छ भने पहिला आफ्नो दिमागी सोचको विकास गर्नुस् अनि देशले आफैं विकासको बाटो पछ्याउनेछ ।
– प्रदीप विवश भण्डारी, दाङ ।

प्रतिक्रिया दिनुहोस्