‘रोनाल्डो स्वार्थी खेलाडी’– प्रशिक्षक डालिच



लन्डन, (एजेन्सी)
रसियामा सम्पन्न फिफा विश्वकपमा पहिलो पटक फाइनलसम्म पु¥याएका क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालीचले पोर्चुगल तथा युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोलाई स्वार्थी र रिसाहा खेलाडी भनेका छन् ।

डालीचले क्रोएसियाको स्थानीय सञ्चारमाध्यमसँग बोल्ने क्रममा यस्तो भनेका हुन् । उनले भने,–‘क्रिस्टियानो रोनाल्डो स्वार्थी खेलाडी हुन् । उनलाई म कहिलेपनि आफ्नो टोलीमा सामेल गर्दिन ।‘ पाँच पटकका बालोन डी ओर बिजेता रोनाल्डोले बिहिबार सम्पन्न युएईएफए समारोहमा सहभागिता जनाएनन् । जहाँ उनका पूर्व क्लब रियल मेड्रिडका सहकर्मी खेलाडी लुका मोड्रीचले उनलाई पछि पार्दै उत्कृष्ट खेलाडीको उपाधि जितेका थिए ।

रियल मेड्रिडलाई च्याम्पियन्स लिगको विजेता बनाउन रोनाल्डोसँगै मोड्रीचको समेत योगदान अतुलनीय रहेको थियो । उनले आफ्नो टोली क्रोएसियालाई समेत विश्वकप फुटबलको फाइनलसम्म पु¥याए ।

लगातार पछिल्लो समय आलोचनाको सिकार बनिरहेका रोनाल्डोको विषयमा बोल्दै क्रोएसियाका प्रशिक्षकले भने,–”रोनाल्डो युएईएफए समारोहमा उपस्थित नहुनु र मोड्रीचका विषयमा नकारात्मक टिप्पणी गर्नु राम्रो होइन । मलाई लाग्छ रोनाल्डो एक अहंकारी हुन् र म उनलाई मेरो टोलीमा कहिलै पनि लिन्न । रोनाल्डो आफ्नो लागि मात्र सोच्ने खेलाडी हुन्। उनी त्यस्ता खेलाडी हुन् जसले क्लब हारेपनि मैले गोल गर्नुपर्छ भनेर सोच्छ ।”

प्रशिक्षक डालीचको प्रशिक्षणमा क्रोएसियाले पोर्चुगलविरुद्ध अर्को साता मैत्रीपूर्ण म्याच खेल्दै छ । डालीचले भने,–”हाम्रो मुख्य लक्ष्य सन् २०२० को यूरो कप हो । पोर्चुगल वा स्पेनसँग मैत्रीपूर्ण खेलमा हार्नु हाम्रो लागि महत्व राख्ने छैन । हामी जित्नका लागि खेल्ने छैनौं भनेर भन्न खोजिरहेको छैन तर आउँदै गरेको युरो कपलाई हेर्दै म मेरो टोलीमा धेरै दवाब दिने पक्षमा छैन ।”

क्रोएसियाले विश्वकप पछिको आफ्नो पहिलो खेल मान्डुजुकीच, कोर्लुका र सुबासिचबिना नै खेल्नेछ । तीनैजना खेलाडीले विश्वकप पछि अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्