सकस भाे कर्मचारी समायोजन



सुनील महर्जन, काठमाडौं
सरकारले कार्तिकदेखि स्थानीय तह र प्रदेशमा कर्मचारी समायोजनको प्रकृया अघि बढाउने भएको छ ।

कर्मचारी समायोजनको गाँठो फुत्काउन नसकिरहेको समयमा फेरी तीन महिनाभित्र कर्मचारी समायोजन गर्ने लक्ष्य लिइएको हो । कर्मचारी समायोजन गर्न नसक्दा संघीयताको कार्यान्वयनमा केन्द्र सरकार निकै बाधक रहेको प्रदेश र स्थानीय तहबाट निरन्तर आलोचना खेप्नु परिहेको अवस्थामा सो लक्ष्य लिएर गृहकार्य अघि बढाइएको बुझिएको छ ।

संघीय निजामती सेवा ऐन संसद्बाट पारित भएपछि कर्मचारी समायोजन थाल्ने योजनाअनुरुप सो लक्ष्य राखिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

संघीय निजामती ऐन पारित भएपछि समायोजन प्रक्रिया अघि बढाउनेछौं –मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भन्नुभयो । कार्तिकदेखि पुस मसान्तसम्म स्वीकृत दरबन्दी अनुसार आवश्यक कर्मचारीहरूको व्यवस्था भइसक्ने उहाँको भनाइ थियो ।

संघीय निजामती सेवा ऐनको मस्यौदा छलफलका लागि भर्खरै मन्त्रिपरिषद्मा पठाइएको छ । मन्त्रालयका अनुसार असोज मसान्तसम्ममा संघीय निजामती सेवा ऐन संसद्मा स्वीकृत भएर आउने छ ।

त्यसअनुरुप नियमावली बनेपछि समायोजन प्रक्रिया अघि बढाउने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ । ऐनअनुरुप प्रदेश र स्थानीय तहको कर्मचारी ऐन बन्ने र त्यसपछि मात्र समायोजनको काम अघि बढाइने बताउँदै प्रवक्ता अधिकारीले थप्नुभयो–कात्तिक मसान्तबाट समायोजनको प्रक्रिया अघि बढ्छ ।

यसैबीच लोक सेवा आयोगले २ हजार कर्मचारी तत्काल पूर्ति हुने गरी मौखिक परीक्षाको तयारी गरिरहेको बुझिएको छ । अहिले स्थानीय तहमा करिब १० देखि १५ हजारसम्म कर्मचारी अपुग छ । संघमा ४५ हजार ८ सय १५, प्रदेशमा १६ हजार ५ सय ७० र ५७ हजार ६ सय ९० कर्मचारीको दरबन्दी टुंग्याइएको छ ।

यसैगरी हरेक प्रदेशमा ३ हजारका दरले २१ हजार कर्मचारी रहने छ । प्रदेश अन्तर्गत रहने भनिएका कतिपय विभागहरु संघ अन्तर्गत नै रहने भएकाले अब प्रदेशमा १६ हजार ५ सय ७० कर्मचारी रहने छन् । स्थानीय तहको हकमा दुई वर्षका लागि ५७ हजार ७ सय ६६ र संघ, प्रदेश र स्थानीय गरी १ लाख २० हजार ५१ कर्मचारी रहने छन् ।

कर्मचारी खटाइएको गाउँपालिका वा नगरपालिकामा नजाने, गए पनि केही दिनपछि मन्त्रालयमै फर्कने र समायोजनमा गएका कर्मचारीले पनि काठमाडौंका स्थानीय तहमा जान होडबाजी गर्नाले समायोजन जटिल र संघीयता कार्यान्वयनमा चुनौती थपिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्