बलात्कारी नरपिचासलाई दुई शब्द



सुधिर पन्थी, भनभने–५, गुल्मी
हालः बलम्बु, काठमाडौं ।
पछिल्लो समय नेपाली समाज असुरक्षित बन्दै गएको विभिन्न घटनाले प्रमाणित गरेका छन् । अहिले बलात्कार तथा यौनहिंसाका घटनाहरुको प्रकृति झनै भयावहरुपमा प्रकट भइरहेका छन् । हरेक दिनजसो बालिका बलात्कारजस्तो निकृष्ट अपराध बढिरहँदा सभ्य समाजमाथि पटाक्षेप भइरहेको छ । विश्वास र भरोसा मानिने परिवार, आफन्त, शिक्षित र सभ्य मानिएका व्यक्तिबाटै बालिकादेखि किशोरीहरु बलात्कारको चपेटामा पर्दै आएका छन् । रक्षकहरु नै भक्षक हुन थालेपछि सभ्य समाजमाथि कलंकको टीका लाग्न थालेको छ ।
प्रदेश नं. ५ मा एकसाताभित्रै आधा दर्जन बलात्कारका घटना सार्वजनिक भए । जसमध्ये तीन छ वर्षमुनिका बालिका छन् । बाँकेको कोहलपुरमा पाँच वर्षीया बालिकामाथि काकाले बलात्कार गरेको मुद्दा सेलाउन नपाउँदै १३ वर्षीया बालिका आफ्नै हजुरबुबाबाट बलात्कारको सिकार भइन् । पीडित बालिकाले ७० वर्षे हजुरबुबाबाट लगातार तीन वर्षदेखि यौनशोषणमा परेको कोहलपुर इलाका प्रहरीमा उजुरी दिएकी छन् । यस्तै, कोहलपुर–३, मैटहवामा पनि नाताले काका पर्ने किशोरले पाँच वर्षीया बालिकालाई जर्बजस्ती बलात्कार गरेको घटनामा आरोपीलाई प्रहरीले पक्राउ ग¥यो ।
यसअघि, बुटवलको ज्ञानपुञ्ज विद्यालयका प्रिन्सिपल तोयाराम पौडेल नै छात्रावासका छात्रामाथि यौनहिंसाको आरोपमा पक्राउ परे । यस्तै प्रदेश नं. ५ अन्तर्गतका जिल्ला मात्रै होइन, हरेक प्रदेशका जिल्लाहरुमा बलात्कार तथा यौनहिंसाका घटना बढोत्तरी भइरहेका छन् । हरेक दिन सञ्चारमाध्यममा कहालीलाग्दा बलात्कार घटनाका दृष्टान्त सार्वजनिक भइरहेका छन् । घरपरिवारदेखि छरछिमेक, विद्यालयदेखि सार्वजनिक क्षेत्र, बजारदेखि कार्यस्थलसम्म बालिका बलात्कार, सामूहिक बलात्कार, बलात्कारपश्चात् हत्याजस्तो निकृष्ट अपराधको शृङ्खला चलिरहेको छ ।
पछिल्लो समय दूधेबालिकादेखि ७५ वर्षीया वृद्धासम्म बलात्कारको सिकार हुन थालेका छन् । दिनहुँजसो बलात्कारका घटनाका प्रकृति डरलाग्दोरुपमा सार्वजनिक हुन थालेपछि महिला अधिकारकर्मी, प्रहरी, नागरिक समाज सबै क्षेत्रमा चिन्ता र चुनौती बढेको छ । तोतेबोली फुटेर सुखद बाल्यकाल नभोग्दै दानवीय सिकार बन्नुपरेका बालिकाको विदारक घटनाहरुले असुरक्षित समाजको चित्रण गरेको छ । आफन्त र परिवारबाटै पनि बलात्कार तथा यौनहिंसाका घटनाले सीमा नाघ्न थालेपछि सडकमा बलात्कारीलाई ‘मृत्युदण्ड’ दिनुपर्ने मागसहित विरोध प्रदर्शन हुन थालेको छ । अहिले सडकदेखि संसद्सम्म बलात्कारजस्तो जघन्य अपराध गर्नेलाई कठोर सजाय दिइनुपर्ने आवाज उठिरहेका छन् ।
‘अति भएपछि खति हुन्छ’ भन्ने नेपाली उखान छ । बलात्कारका घटनाले समाज असुरक्षित बन्दै गएपछि र मानवीय संवेदनाको पराकाष्ठा नाघेपछि बलात्कारीलाई ‘मृत्युदण्ड’ दिनुपर्ने आवाज उठ्नु अस्वाभाविक लाग्दैन । तथापि, नेपालमा मृत्युदण्ड दिइने प्रावधान छैन । तर, कडा कानुनको अभावमा मानवीय सम्यता र समाजलाई नै कलंकित पार्ने घटना बढिरहँदा न्यूनतम आजीवन कारावासको सजायचाहिँ दिनुपर्ने आवश्यकता महसुस भइसकेको छ । कतिपय गाउँमा डर र त्रासका कारण अझै पनि बलात्कारमा परेको घटना परिवार या प्रहरीसम्म बताउन नसक्ने अवस्था विद्यमान छ । आफूमाथि परेको अन्याय र पीडा सार्वजनिक गर्न नसक्ने अवस्थाले असुरक्षित समाजलाई नै प्रतिबिम्बित गर्छ ।
मानिसमा मानवीयता हराएपछि आपराधिक कार्य हुने गर्दछन् । कतिपय घटनामा प्रहरीले नै उजुरी लिन नमानेका, सामान्य मिलापत्र गरेर छाड्ने गरेका र घटनाको वास्तविकता सार्वजनिक नगरी गुपचुपमै मिलाउने गरेका दृष्टान्त बाहिर आएका पाइन्छन् । अपराधी जोसुकै होओस्, संरक्षण गर्ने होइन, सामाजिक बहिष्कार गरिनुपर्छ । बलात्कारका कहाली लाग्दा घटना बढ्दै गएपछि सिंगो समाज नै चिन्तित र असुरक्षित हुन थालेको परिप्रेक्ष्यमा निकृष्ट अपराधका विरुद्ध हरेक क्षेत्रबाट संवेदनशीलता देखाउनुपर्ने भएको छ । बलात्कारको घटना बालहिंसाको निकृष्ट नमुना बनिरहँदा यो गम्भीर सामाजिक मुद्दाका रुपमा उठ्नै पर्छ । र, यस्ता घटना निरुत्साहित गर्न चौतर्फीरुपमा अभियान सञ्चालन गरी अपराधीलाई कडा सजायको व्यवस्था गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्