‘बुद्धिस्ट सर्किट’ स्थापनामा ढिलाइ नहोस्



नेपालले तुलनात्मकरुपमा लाभ लिन सकिने पर्यटकीय क्षेत्रमा बुद्धिस्ट सर्किटको अवधारणाले विशिष्ट महत्व राख्दछ । यही महत्व यसपटकको बिमस्टेक सम्मेलनमा पनि अभिव्यक्त भएको छ । बुद्धिस्ट सर्किट स्थापना गर्ने प्रतिबद्धता बिमस्टेक सम्मेलनको घोषणापत्रमार्फत व्यक्त गरिएको छ । यसले पनि बुद्धिस्ट सर्किट अवधारणाको महत्व दर्शाउँछ । त्यसैले सम्मेलनले बुद्धिस्ट सर्किटलाई निकै प्राथमिकतामा राखेको बुझ्न सकिन्छ । विषय उठान भएअनुरुप यसको कार्यान्वयन अघि बढ्ला त ? यदि कार्यान्वयन अघि बढ्यो भने कसरी बढ्ला ? उही पुराना प्रश्न फेरि उठेका छन् । बुद्धिस्ट सर्किटको चर्चा चलेको यो पहिलोपटक भने होइन । म्यानमारमा भएको तेस्रो बिमस्टेक सम्मेलनमा पनि कुरा उठेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यसअघिको नेपाल भ्रमणका समयमा पनि बुद्धिस्ट सर्किट निकै चर्चा भएको विषय हो । पटक–पटक चर्चा भए पनि कार्यान्वयनतर्फ अघि नबढेको अवस्थामा यसको महत्व र सन्दर्भ फेरि पनि सम्मेलनमै मात्र सीमित हुने त होइन ? भन्ने शंका गर्ने ठाउँ रहेको छ ।

नेपालले विश्वको ध्यान आकृष्ट गरी पर्यटक प्रर्वद्धन गर्न सकिने अन्तर्राष्ट्रिय महत्वको विषय हो बुद्धिस्ट सर्किट । भगवान् गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी क्षेत्र विश्वका शान्तिमार्गी र बौद्धधर्मावलम्बीहरुको महत्वपूर्ण गन्तव्य रहेको छ । त्यसै गरी बुद्धले ज्ञान प्राप्त गरेको स्थान भारतको बोधगया, पहिलोपटक धर्मप्रवचन दिएको भारतको सारनाथ (मृगदावन) र महापरिनिर्वाण (देहत्याग) गरेको भारतको कुशीनगर पनि बौद्धमार्गीको महत्वपूर्ण गन्तव्यस्थल मानिन्छ । यस अर्थमा बुद्धिस्ट सर्किटको अवधारणा कार्यान्वयनका लागि अन्य राष्ट्रहरुले भन्दा बढी अग्रसरता नेपाल र भारतले देखाउनुपर्ने खाँचो रहेको छ । यसलाई अघि बढाउन दुवै देश मिलेर विशेष परियोजना ल्याउनुपर्ने देखिन्छ ।

आगामी दुई वर्षपछि भारतमा हुने बौद्ध सम्मेलनले पनि बुद्धिस्ट सर्किटको अवधारणा कार्यान्वयन गर्न सघाउने विश्वास गरिरहेको समयमा नेपालले यस विषयमा कुनै पनि हिसाबले ढिलाइ गर्नु कूटनीतिक हिसाबले उचित हुन्न । नेपालले भारत सरकारसँग गर्नुपर्ने त मुख्य ‘कनेक्टिभिटी’कै कुरा हो । ‘कनेक्टिभिटी’ भनेको सडक यातायात, रेल यातायात, हवाई यातायातको कुरो हो । यसले विश्वका बौद्धधर्मावलम्बी र शान्तिकामीलाई चार धामको दर्शन गर्न प्रेरित गर्ने र त्यसको लाभ दुवै देशले लिन सक्र्ने अवस्था रहन्छ । त्यसपछि क्रमशः बिमस्टेक सदस्य राष्ट्रहरुलाई समेट्दै जानुपर्ने हुन्छ । बिमस्टेकका सदस्य राष्ट्र श्रीलंका, थाइल्यान्ड र म्यानमार बौद्धमार्गी राष्ट्र हुन् । बंगलादेशको चक्मा क्षेत्र पनि बौद्धधर्मावलम्बीहरुकै बाहुल्यता छ । ती राष्ट्रका नागरिकलाई नेपालमा आकर्षित गर्न सक्ने हो भने देशको पर्यटन क्षेत्रले लाभ लिन सक्छ । त्यसैले बुद्धिष्ट सर्किटको अवधारणालाई उच्च महत्वका साथ अघि बढाउनुपर्ने देखिन्छ । यसलाई अघि बढाउन सके बिमस्टेक सम्मेलनको समेत सार्थकता रहन्छ ।

प्रतिक्रिया दिनुहोस्