सिंहदरबार पश्चिम भागको पुनःनिर्माण



काठमाडौँ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुुशील ज्ञवालीले पुरातात्विक र ऐतिहासिक महत्व जोगाएर सिंहदरबारको पश्चिम भागको पुनःनिर्माण गरिने प्रतिबद्धता जनाउनुभएको छ । “पुरातात्विक महत्वका सम्पदा जोगाएर पुनः निर्माण गर्ने कुरालाई प्राधिकरणले प्राथमिकता दिएर काम गर्छ,” ऐतिहासिक सिंहदरबार पश्चिम भागको निरीक्षणपछि उहाँले भन्नुभयो ।

सिंहदरबारको पश्चिम भागलाई के गर्ने भन्नेबारे अध्ययन जारी रहेको प्राधिकरणले जनाएको छ । अध्ययन गर्ने जिम्मेवारी लिएको परामर्शदाता कम्पनीलाई छिटो प्रतिवेदन बुझाउन निर्देशन दिएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्रतिवेदन आएलगत्तै सिंहदरबार पुनःनिर्माण हुने बताउनुभयो । निरीक्षणमा प्राधिकरणका कार्यकारी सदस्यद्वय धु्रवप्रसाद शर्मा र डा हरिराम पराजुली, सहसचिव मानन्धरलगायत सहभागी हुनुहुुन्थ्यो ।

भूकम्पबाट बढी क्षति पुगेको पश्चिमी भागलाई भत्काएर बनाउने कि प्रबलीकरण गर्ने भनेर स्पष्ट नभएकाले त्यसको अध्ययन गर्न इन्फ्रास्ट्रक्चर इञ्जिनियरिङ रिसर्च एण्ड कन्सलट्यान्ट प्रालिलाई जिम्मा दिइएको छ । प्राधिकरणका सहसचिव राजुमान मानन्धरका अनुसार दुई हप्ताभित्रमा अध्ययन प्रतिवेदन तयार भइसक्छ ।

सिंहदरबारको पश्चिम खण्ड राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो । यो विसं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । जसको पछि पुनः निर्माण गरियो ।

विसं २०३० मा आगलागीबाट नष्ट भई पछि पुनःनिर्माण भएको सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागको भने प्रबलीकरण भइरहेको छ । शर्मा एण्ड न्यू टेक्निकल जेभीले प्रबलीकरण शुुरु गरेको करीब तीन महिना भएको छ ।
रु २४ करोडको लागतमा शुरु भएको प्रबलीकरण १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको सहसचिव मानन्धरले बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्