लिबियामा संकटकाल घोषणा



काठमाडौं । राजधानी त्रिपोलीमा विद्रोही समूहसँगको युद्ध चर्किएपछि लिबियाको संकटकाल घोषणा गरिएको छ ।विद्रोहीसँगको युद्ध मत्थर हुने अवस्था नआएको जनाउँदै संयुक्त राष्ट्र समर्थित सरकारले संकटकाल घोषणा गरेको बीबीसीले जनाएको छ ।

सरकारी सुरक्षाकर्मी र विद्रोहीबीचको लडाइँको क्रममा जेलबाट करिब ४ सय कैदी फरार भएका छन् । प्रहरीका अनुसार कैदीहरु आइन जारा भन्ने स्थानको जेल फोडेर फरार भएका हुन् । जेलका सुरक्षाकर्मीहरु आफ्नो ज्यान जोगाउन भागेका थिए ।

आइन जारा जेलमा राखिएका धेरैजसो कैदी लिबियाका पूर्व नेता मोअमर गद्दाफीका समर्थक थिए । सन् २०११ मा गद्दाफीको सरकारविरुद्ध भएको विद्रोहमा हत्या गरेको आरोप यिनीहरुमा लगाइएको थियो ।

यसैबीच आइतबार राजधानी त्रिपोलीको एक शहरी क्षेत्रमा भएको रकेट हमलामा दुई जनाको मृत्यु भएको छ । अन्य धेरै व्यक्ति घाइते भएका छन् । सरकारी र विद्रोही समूहबीच लडाइँ चर्किएपछि हजारौं व्यक्तिहरु बिस्थापित भएका छन् ।

त्रिपोलीमा जारी हिंसाका कारण कम्तिमा ३९ जनाको मृत्यु भइसकेको छ । मारिनेमा सर्वसाधारण नागरिक पनि छन् ।लिबियामा संयुक्त राष्ट्र समर्थित सरकार सत्तामा छ । तर देशका अधिकांश हिस्सामा विद्रोहीको नियन्त्रण छ ।

प्रतिक्रिया दिनुहोस्