स्वदेशमै स्वरोजगारी दिन जरुरी



मुलुकको स्थायी सरकारले जनताका धेरै खाले चाहनालाई पूरा गर्नुपर्ने चुनौती छँदै छ । यससँगै स्थानीय तहमा रोजगारी सृजना गरेर धेरै बरोजगार युवाहरुलाई रोजगारी दिनुपर्ने पनि चुनौती कायमै रहेको छ । हरेक दिन नेपाली युवाहरुले विदेशमा ज्यान गुमाएका बेला सरकारले सोही अनुसारको स्थानीय तहमै रोजगारीका लागि उद्योग, कलकारखाना सञ्चालन गर्ने नीति ल्याई काम गरिरहेको सन्दर्भलाई मध्यनजर गरी अब हरेक स्थानीय तहहरुमा आवश्यकताअनुसार उद्योगहरु सञ्चालन गर्नु अहिलेको आवश्यकता देखिएको छ ।

स्थानीय तहमा रहेका भैंसीपालक, बंगुरपालक, बाख्रापालक र अन्य पशु चौपायापालक किसानहरुसँग सहकार्य र समन्वय गरेर सामूहिक पशुपालनका कामहरु लागू गर्नुपर्ने देखिएको छ । कार्यक्रम लागू गरेर मात्र हुनेवाला छैन, करिब पाँच वर्षसम्मको कार्ययोजना निर्माण गरेर समूहमा रहेका व्यक्तिहरुको आर्थिक अवस्था सुधारका लागि बजारीकरणसम्मको पहुँच विस्तार गर्ने र सोको प्रत्यक्ष रेखदेख, परामर्श गर्ने काम स्थानीय सरकारले थालनी गर्न सकेमा स्थानीय स्तरमा रोजगारीको एउटा महत्वपूर्ण अवसर हुने देखिएको छ ।

त्यस्तै हिमाली क्षेत्रहरुमा निकै सञ्भावना रहेको जडीबुटी, फलफूल खेतीलाई पनि सामूहिकरुपमा विस्तार गर्दै कार्ययोजनासहितको काम थालनी गर्नुपर्ने देखिएको छ । हरेक स्थानीय तहमा उएटा उद्योग अनिवार्य स्थापना गर्ने आवश्यकताअनुसार र भौगोलिक अवस्थितिअनुसार एकभन्दा बढी कति सम्भावना हुन सक्छन् त्यस्ता उद्योगहरु सञ्चालन गर्नु अहिलेको आवश्यकता हो ।

सरकारलाई विभिन्न तरिकाबाट असफल बनाउने र मुलुकको आर्थिक समृद्धिमा असर गर्ने खालका कामहरु पनि नियोजितरुपमा हुने खतरालाई मध्यनजर गर्दै सरकारले काम थालनी गर्नुपर्ने र सकारात्मक कामहरुका लागि सबैले हातेमालो गर्नुपर्ने अहिलेको आवश्यकता हो ।
– टीका विक, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्