शहरबजारको प्रमुख समस्या बन्यो फोहोर



नेपालका प्रमुख शहरहरुको प्रमुख समस्या फोहोरको उचित व्यवस्थापन नहुनु रहेको छ । नेपालमा हतारमै नगरपालिका घोषणा गर्ने तर न्यूनतम मापदण्ड पनि पूरा नगर्ने नगरहरु थुप्रै छन् । देशभरकै नगरपालिकाका बजार फोहोरले दुर्घन्धित भइसक्दा पनि सरोकारवालाको ध्यान केन्द्रित भएको छैन ।

प्रायः महानगरदेखि नगरपालिकाले डम्पिङ साइटका लागि उपयुक्त जग्गा नपाउँदा फोहोर व्यवस्थापन हुन नसकेको लाचारी व्यक्त गर्दै आएका छन् । फोहोर समयमै नउठ्नु नगरवासी सबैका लागि प्रतित्युपादक हुन्छ । राप्तीमा दुई सातादेखि फोहोर नउठ्दा रोगव्याधी फैलने खतरासमेत बढेको छ । फोहोरमैलाको व्यवस्थापन गर्नु हरेक स्थानीय तहको प्राथमिक जिम्मेवारी पनि हो । बजारक्षेत्रमा फोहोरबापतको शुल्क पनि नगरवासीले बुझाउँदै आएका हुन्छन् । फोहोरको व्यवस्थापन सभ्यतासँग पनि जोडिएको विषय हो ।

एउटा घरको व्यवस्थापन कस्तो छ भन्नका लागि सर्वप्रथम शौचालयको अवलोकन गरे पुग्छ । सफा शौचालयबाटै घरको सफासुग्घर र व्यवस्थापनबारे बुझ्न सकिएजस्तै फोहोर व्यवस्थापन हेरेर सम्बन्धित गाउँ–नगरको सभ्यता पहिल्याउन सकिन्छ । सफा शहर देख्दा बाहिरबाट घुम्न आउने पर्यटकसमेत खुशी हुन्छन् । आफ्नो गाउँ–नगरमा बाहिरबाट आउने मान्छेले फोहोर देखेर मुख खुम्च्याउनुपर्ने र नाक थुन्नुपर्ने अवस्था देखिनु सभ्य समाजकै लागि पटाक्षेप हो । दुर्भाग्य, हाम्रा शहरहरुले हाम्रो सभ्यतामाथि नै बारम्बार प्रश्न गरिरहेका छन् ।

एकाधबाहेक नेपालका सबै शहरबजार फोहोर र अव्यवस्थित छन् । फोहोरमैलाको व्यवस्थापन मुलुककै लागि ठूलो चुनौती बन्न पुगेको छ । स्थानीय निकायले मामुली मानिने फोहोर व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा गाउँ–नगरलाई कसरी समृद्ध बनाउला ? चुनावी सरगर्मीमा प्रायः सबै दलले स्मार्ट सिटीको अवधारणा अघि सारेका थिए ।

शहरमा फोहोरमैलाको दुर्गन्धले गिज्याउँदै गर्दा कसरी स्मार्ट सिटीको सपना पूरा होला ? काठमाडौँ फोहोरको राजधानी बनेको दशकौँ भइसक्यो । महानगरवासीले सधैँ आफूलाई आत्मग्लानि महसुस गरिरहेका छन् । अति भएपछि राजधानीवासी जनस्तरबाटै वाग्मतीको शृङ्खलाबद्ध सफाइ र महानगरको फोहोरमैला व्यवस्थापनमा जुट्दै छन् ।

पछिल्लो समय केही सामाजिक संस्थाहरुले प्रचारका लागि सरसफाइ गरेको जस्तो देखिन्छ । हरेक टोलले साताको एकपटक सरसफाइ अभियान गर्न सके बजारै दुर्गन्धित हुने अवस्था आउँदैन । फोहोर व्यवस्थापन एकैदिनमा सम्भव हुने विषय होइन । यसका लागि सम्बन्धित गाउँ–नगरले दीर्घकालीन योजनाका साथ काम गर्नुपर्छ । तर, हाम्रा स्थानीय निकायले फोहोरको अल्पकालीन र अस्थायी व्यवस्थापन गर्दै आएका छन् । अहिले राप्ती नगर दुर्गन्धित भएको छ । खैरहनी, रत्ननगर र भरतपुरका बजार पनि गन्हाइरहेकै छन् । फोहोर व्यवस्थापन गाउँ–नगरले चाहेर मात्रै सम्भव हुने कुरा होइन । हरेक व्यक्तिमा फोहोरमैला व्यवस्थापन गर्नुपर्छ भन्ने चेतना जागृत नभएसम्म यस्ता समस्याको पुनरावृत्ति भइरहन्छ ।

हामीकहाँ घरबाट निस्कने सामान्य फोहोरको विसर्जन गर्न पनि नगरपालिकाकै रिक्सा, ट्याक्टर पर्खिने प्रवृत्ति छ । फोहोरमैला व्यवस्थापनमा अनुशासन र संस्कारको पनि ठूलो भूमिका रहेको हुन्छ । जस्तोसुकै फोहोर जहाँतहीँ फाल्ने संस्कारले व्यवस्थापनमा समस्या उत्पन्न भइरहेको छ । शहरबजारको सौन्दर्य बढाउन फोहोरको उचित व्यवस्थापन हुनै पर्छ । नगरपालिकाले डम्पिङ साइटको अभाव देखाएर फोहोर संकलन नगरी शहरबजार दुर्गन्धित बन्न दिनुहुँदैन । नगरवासीको स्वास्थ्य र सभ्यतासँग जोडिएको फोहोरको उचित व्यवस्थापनमा सरोकारवाला निकायले ध्यान दिनु आवश्यक छ ।
– कान्ति सुनार, चितवन ।

प्रतिक्रिया दिनुहोस्