सुरुङ खन्दा नयाँ प्रविधि अपनाउन एडिबीको आग्रह



नेपाल समाचारपत्र, काठमाडौं ।
मेलम्ची खानेपानी आयोजनालाई सुरुङ मार्ग निर्माणमा नयाँ प्रविधि अपनाउन एशियाली विकास बैंकले सुझाव दिएको छ ।

परामर्शदाताले तयार पारेको लार्के र यांग्रीेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) माथि टिप्पणी गर्न आयोजनाले डाकेको छलफलमा एडिबिले यस्तो सुझाब दिएको हो ।

यांग्री खोलाबाट मेलम्ची खोलामा पानी खसाल्न ९ किलोमिटर सुरुङ र लार्के खोलाबाट यांग्रीमा पानी खसाल्न २ किमि गरी जम्मा ११ किमि सुरुङ खन्नु पर्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।

यी सुरुङ टनेल बोरिङ मेसिन मार्फत खन्दा छिटो काम सम्पन्न हुने भन्दै एडिबिले यसमा ध्यान दिन सुझाव दिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले बताउनुभयो ।

‘परामर्शदाताले मेलम्चीको सुरुङ खनेकै प्रविधिबाट खन्न आग्रह गरेको छ भने एडिबिले भने नयाँ प्रविधि मार्फत सुरुङ खन्दा छिटो र लागतमापनि कमी आउने भएकाले त्यस तर्फ ध्यान दिन पनि आग्रह गरेको छ ।

मेलम्चीको २७ किमि सुरुङ ड्रिल एण्ड ब्लास्ट प्रविधिबाट खनिएको छ ।
एडिबि लगायत विज्ञहरुले तयारी अवस्थामा रहेको डिपिआरमाथि छलफल सकेपछि परामर्शदाताले त्यसलाई संशोधन गरी रहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पन्तले बताउनुभयो ।

डिपिआर स्पेनी परामर्शदाता ईप्टिसाले तयार पारेको हो । ईप्टिसाले तयार पारेको संशोधन सम्पन्न गर्न १ महिनादेखि ६ महिना समय लाग्न सक्ने आयोजनाले जनाएको छ ।

‘डिपिआर संशोधनको काम १ महिना भित्र पनि सम्पन्न हुन सक्छ ।,’ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पन्तले भन्नुभयो–‘तर एडिबिको टिप्पनी अनुसार नै नयाँ प्रविधि अपनाएर बनाउने हो भने थप अध्ययन गरेर डिपिआरलाई अन्तिम रुप दिन ६ महिना लाग्न सक्छ ।’

चालु आब भित्रै सुरुङ खन्ने ठेक्का गरेर निर्माण चरणमै लाग्ने आयोजनाले योजना बनाएको छ । मेलम्ची खानेपानी विकास समितिले मेलम्ची पछि लार्के र यांग्री खोलाको पानी काठमाडाँै ल्याउन तीब्र तयारी थालेको छ । समितिले दुबै खोलाको पानी सुरुङ मार्ग हुँदै दैनिक १७÷१७ करोड गरी ३४ करोड लिटर ल्याउन लागेको हो ।

समितिले गत आबमा परामर्शदाता छनौट गर्दै विस्तृत परियोजना प्रतिबेदन तयार पार्ने काम भईरहेको समितिका सिनियर डिभिजनल ईन्जिनियर राजेन्द्रप्रसाद पन्तले बताउनुभयो ।

सन् २०१७ जनवरीबाट डिसेम्वरसम्ममा सम्पन्न गर्ने गरी ईप्टिसाले डिपिआरको काम थालेको थियो । तर निर्धारित समयभित्र डिपिआर तयार नभएपछि आयोजनाले ईप्टिसालाई ६ महिना समय थप गरेको थियो ।

सरकारले डिपिआरका लागि २० करोड विनियोजन गरेको थियो । आयोजनाले चालु आर्थिक वर्षमा सडकको ट्रयाक स्तरोन्नती गर्न ४५ करोड बजेट पाएको छ भने मुआब्जा क्षतीपूर्तीका लागि २५ करोड विनियोजन भैसकेको छ ।

आयोजनाले मुअब्जाका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा प्रतिवेदन बुझाईसकेको छ । लार्के र यांग्रीको काम सम्पन्न भएपछि काठमाडौं उपत्यकामा दैनिक १७÷१७ करोड लिटर खानेपानी आपूर्ती हुने छ । निर्माण कार्य थालेको ४ वर्ष भित्र सम्पन्न गर्ने यो परियोजनामा २५ अर्व लागत लाग्ने अनुमान समितिको रहेको छ ।

अहिले लार्केसम्म पुग्न सडक निर्माणको काम सम्पन्न गरिसकेको छ । आयोजनाले मेलम्ची पुलबजारदेखि लार्केसम्म पुग्न २५ किमि सडक निर्माण गरी स्तरोन्नतीको प्रकृया अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्