व्याकुल व्यक्ति होइन, व्यक्तित्व हो



-ज्ञानेन्द्र गदाल
नेपाली साहित्यका एक सिद्धहस्त लेखक, नेपाली पत्रकारिता जगत्का एक व्यावसायिक एवं सिर्जनशील पत्रकार अर्थात् समग्र नेपाली वाङ्मयका एक अथक साधक हुन् व्याकुल पाठक । वि.सं. २०२९ सालमा नुवाकोटमा जन्मिएका व्याकुलको औपचारिक नाम यादवराज पाठक हो । जीवनका साढे चार दशक उमेर पार गरिसकेका उनै यादवराज पाठक अढाइ दशकभन्दा बढी समयदेखि नेपाली भाषा–साहित्य र पत्रकारिताको सेवामा व्याकुल पाठकका नामले सुपरिचित छन्, समर्पित छन् । स्कुले जीवनदेखि नै लेखन कार्य थालेका उनले लेखनलाई नै पेसा बनाए । लेखनबाट आर्थिक उपार्जन सन्तोषजनक नहुने ज्ञान हुँदाहुँदै पनि उनले लेखनलाई नै सधैँ अँगालिरहे । लेखन छाडेर अन्य क्षेत्रमा पाइला चाल्ने सोच उनले कहिल्यै गरेनन् । चाहे साहित्यका माध्यमबाट होस् अथवा पत्रकारितामार्फत उनले अक्षरकै खेती र गोडमेलमा आफूलाई समर्पित गरिरहेका छन् ।

वि.सं. २०५२ देखि कामना न्युज पब्लिकेसन्स प्रालिद्वारा प्रकाशित राष्ट्रिय दैनिक नेपाल समाचारपत्रमा समाचार सम्पादकको रूपमा प्रवेश गरेका व्याकुल पाठकले १७ वर्षसम्म त्यहीँ रहेर काम गरे । जीवनका उर्वर युवा उमेर उक्त प्रकाशन गृहमा बिताएका उनले त्यस क्रममा केवल राष्ट्रिय दैनिक नेपाल समाचारपत्रमा मात्र सीमित नरही उक्त पब्लिकेसन्सकै खोजमूलक मासिक पत्रिका ‘साधना’मा पनि सहसम्पादकका रूपमा रही खोजमूलक समाचारहरू लेख्नमा सक्रिय रहे । उनले साधनामा लेखेका केही खोजमूलक समाचारहरू नेपाली खोज पत्रकारिताका क्षेत्रमा कोसेढुंगाका रूपमा रहेका छन् ।

उनले नेपाल समाचारपत्रमा लामो समयसम्म साहित्यिक स्तम्भ लेखन पनि गरे । हरेक हप्ता नेपाल समाचारपत्रमा प्रकाशित हुने उनको स्तम्भ साहित्यिक जगत्मा चर्चित हुने गरेको थियो । उनी एक सिद्धहस्त साहित्यिक परिशिष्टांक संयोजक पनि हुन् । उनले नेपाल समाचारपत्रमा सबै स्तरका साहित्यकारका रचनालाई स्थान दिएर उनीहरूको योगदानको कदर गर्नमा कुनै कन्जुस्याइँ गरेनन् । कामना पब्लिकेसन्सकै अर्को मासिक प्रकाशन ‘कामना’मा पनि उनले नियमित रूपमा कला, सिनेमा तथा संगीतसम्बन्धी लेखहरू लेखेका थिए ।

कामना पब्लिकेसन्समा आबद्ध हुनुअघि पाठक नेपालीपत्र साप्ताहिकमा संवाददाताका रूपमा आबद्ध थिए । उनको पत्रकारिताको शुरुवात यसै साप्ताहिक पत्रिकाबाट भएको थियो । त्यस पत्रिकामा पनि उनले साहित्यिक स्तम्भ सञ्चालन गर्ने गर्थे । उनले त्यस स्तम्भमा साहित्यसम्बन्धी आफ्ना विचारहरू पस्किनुका साथै पुस्तक समीक्षा, विभिन्न साहित्यकारहरूसँगको अन्तरवार्ता एवं जीवनीहरू लेख्ने गर्थे । मासिक पत्रिका ‘यती’ तथा ‘योषा’मा पनि उनले सम्पादकीय सीप देखाएका थिए । ती पत्रिकामा पनि उनले साहित्यलाई स्थान दिनमा कुनै कन्जुस्याइँ देखाएनन् ।

नेपाल समाचारपत्रबाट अलग भएपछि उनी अर्को राष्ट्रिय दैनिक ‘कमाण्डर पोष्ट’मा आबद्ध भई कार्यकारी सम्पादकका रूपमा सेवा गरे । ती पत्रिकामा मूलधारका विषयका अलावा साहित्यलाई पनि सधैँ स्थान दिइरहे । यस हिसाबले पत्रकारितामार्फत साहित्यलाई बढावा दिनमा उनको ठूलो योगदान रहेको छ ।

सञ्चार क्षेत्रमा संवाददातादेखि उद्यमीसम्म बन्न पाठक सफल भएका छन् । पछिल्लो समय उनले विद्युतीय तथा छापा माध्यममा लगानी गरेर आफ्नो सफलतालाई निरन्तर अगाडि बढाइरहेका छन् । नेपालमा निजी तवरको विद्युतीय सञ्चार माध्यमको शुरुवात र सञ्चालन भएसँगै काठमाण्डौंमा सञ्चालित क्यापिटल एफएममा लगानी गरी उनी निर्देशक पदमा रही २०६८ सालदेखि कार्यरत छन् । साथै उनले आफ्नै लगानीमा ड्रिम नेपाल पब्लिकेसन्स प्रालिको स्थापना गरी ‘हट नेपाल’ नामको विविध विषय समेटिने मासिक प्रकाशनमा ल्याएका छन् । राष्ट्रिय स्तरका यी सञ्चारमाध्यम उनी जहाँ–जहाँ आबद्ध हुन्छन् त्यहाँ साहित्यलाई स्थान दिन कहिल्यै भुल्दैनन् । यसरी भन्नुपर्दा उनको रगतमै साहित्य मिसिएको छ । साहित्यलाई नअँगाली उनी जिउनै सक्दैनन् ।

व्यावसायिक पत्रकारिताको अलावा साहित्य लेखनलाई पनि उनले निरन्तरता दिइरहेका छन् । कविता, गीत, गजल, निबन्ध, जीवनीजस्ता साहित्यका विधामा उनले कलम चलाइरहेका छन् । उनले पुस्तकाकार रूपमा ‘चर्चित व्यक्तित्व’ तथा ‘नेपालका विश्वकोश’ नामका दुईवटा जीवनीका पुस्तक प्रकाशनमा ल्याएका छन् । चर्चित व्यक्तित्वमा समकालीन नेपालका विभिन्न क्षेत्रका दुई दर्जन व्यक्तित्वका जीवनी समावेश छ । उनको जीवनी लेखनको शैली विशिष्ट किसिमको भएकोले विद्वानहरूबाट त्यस पुस्तकको प्रशंसा भएको थियो । नेपालका पुराना विद्वान साहित्यकार एवं व्याकरणकार हेमराज शर्माको जीवनीमा आधारित ‘नेपालका विश्वकोश’मा उनले लामो समय खोजी गरेर तथ्यमा आधारित जीवनी लेखेका छन् ।

पत्रपत्रिका सम्पादनका अलवा उनले साहित्यिक पुस्तकहरू पनि सम्पादन गरेका छन् । ‘प्रख्यात नेपाली कथा’ शृङ्खला (खण्ड ५ सम्म), ‘विख्यात विदेशी कथा’ शृङ्खला (खण्ड ६ सम्म), ‘नेपाली नियात्रा’, ‘एच.सी. आन्डर्सनका कथाहरू’, ‘स्वेट मार्डेनका पुस्तकहरु’ आदि कृतिहरू उनले सम्पादन गरिसकेका छन् ।

पत्रकारितामा राम्रो दखल राख्ने अनुभवी पत्रकार व्याकुल पाठक एक कुशल लेखक पनि हुन् । नेपाली साहित्यको कविता, गीत, गजल तथा निबन्ध विधामा उनी विशेष कलम चलाउँछन् । नेपालका लोकप्रिय एवं प्रतिष्ठित विभिन्न पत्रपत्रिकाहरूमा उनका साहित्यिक सिर्जनाहरु दर्जनौंको संख्यामा प्रकाशित भएका छन् । नेपाली वाङ्मयका दुई सयभन्दा बढी साधकहरुको जीवनी र व्यक्तित्वसहितको आलेख तयार गरी विभिन्न पत्रपत्रिकामा प्रकाशित गर्नुका साथै सयौं साहित्यिक पुस्तकहरूको समीक्षा एवं समालोचनासमेत गरिसकेका छन् व्याकुलले ।

यसरी आफ्नो लेखन र सम्पादनको माध्यमबाट नेपाली भाषा–साहित्य र पत्रकारितामा अनवरतरूपले सेवारत, अविचलित किसिमले साधनारत साधक व्याकुल पाठक यिनै क्षेत्रका विभिन्न संघसंस्थाहरूसँग संलग्न रही भाषासाहित्यकै अभियन्ताको रूपमा समेत कार्यरत छन् । यस सन्दर्भको चर्चा गर्दा उनी नेपाल पत्रकार महासंघ, साहित्यिक पत्रकार संघ, विद्वत्शिरोमणि हेमराज पुरस्कार गुठी, वासुशशी स्मृति परिषद्, पन्त स्मृति प्रतिष्ठान आदिमा प्रत्यक्ष संलग्न रहेका छन् । वि.सं. २०६० देखि २०६३ सम्म तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको प्रेस सल्लाहकार भई कार्य सम्पादनसमेत गरिसकेका छन् उनले । प्रज्ञाप्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीको प्रत्यक्ष सम्पर्कमा रही काम गर्न पाउँदा त्यस अवधिमा आफ्नो बौद्धिक विकासमा पनि सघाउ पुगेको पाठक स्वीकार्छन् ।

हरेक व्यक्तिको विद्वत्ता, योग्यता र कार्यकुशलताबाट सभ्य समाजको निर्माण हुन सक्तछ । विद्वान, योग्य एवं क्षमतावान्हरूले पु¥याएको योगदानबाट नै गाउँ, समाज, राष्ट्र र विश्व पनि उज्यालिने हो । संसारभर सभ्य समाजमा मात्र यस्ता योगदानहरूको चर्चा र कदर पनि हुन्छ । एक निष्ठावान्, इमानदार र सक्षम स्रष्टाले सभ्य समाजबाट आफ्नो योगदानको प्रतिफलस्वरूप जीवनमा पाउने कदर र सम्मान हो । यस्ता असल मानिसहरुमध्येका एक व्याकुल पाठक पनि हुन् ।

फलतः आफूले गरेका असल कर्म र योगदानको कदरस्वरुप सरकारी तथा गैरसरकारी विभिन्न संघसंस्थाहरूबाट उनी सम्मानित भएका छन् । युवा वर्ष मोती पुरस्कार, पल्लव साहित्य पुरस्कार, साहित्यिक पत्रकारिता सम्मान, सिम्पल सम्मान, डी.बी. त्यागी पुरस्कार, दीपज्योति साहित्य सम्मान, योगी नरहरिनाथ ट्रस्ट सम्मानसहित देश–विदेशका नेपाली समुदायबाट सम्मानित भइसकेका एक कुशल साहित्यिक स्रष्टा एवं पत्रकार व्याकुल पाठकलाई उनी गतवर्ष अमेरिका भ्रमणमा आएको मौका पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरले एक भव्य समारोहको आयोजना गरी सम्मान गरेको थियो ।

असल नियतवश समग्र समाजलाई प्रभावित पार्ने हरेक कर्महरू यसै गरी सम्मानित हुँदै जानुपर्छ । विश्वभर रहेका हरनेपाली समाजमा व्याकुल पाठकहरू फैलिँदै जाऊन् ।
(लेखक गदाल अमेरिकाको कोलोराडो निवासी वरिष्ठ साहित्यकार हुन् ।)

प्रतिक्रिया दिनुहोस्