बुद्धिस्ट सर्किटको अवधारणा अघि बढ्ला ?



सुनील महर्जन, काठमाडौं
विगतमा झैं यसपटकको बिमस्टेक सम्मेलनमा पनि बुद्धिस्ट सर्किटको अवधारणाले आवश्यक भन्दा बढी चर्चा पाएको छ । बुद्धिस्ट सर्किटको योजना कार्यान्वयन गर्न सम्मेलनलाई उपयोग गर्ने धारणा प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सार्नुभएको छ । त्यसै गरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसपटकको सम्मेलनले बुद्धिस्ट सर्किटलाई आकार दिने लक्ष्य राखेको बताउनुभएको छ ।

भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल बुद्धमार्गीका लागि महत्वपूर्ण गन्तव्य रहेको छ । भारतमा बुद्धको ज्ञानप्राप्ति तथा महापरिनिर्वाण भएको सन्दर्भमा बुद्धिस्ट सर्किटको अवधारणा यहाँका लागि उपयुक्त रहेको छ । यस्तो अवस्थामा बुद्धिस्ट सर्किटको अवधारणा अगाडि बढाउन सक्ने हो भने बिमस्टेक सदस्य राष्ट्रबाट लाभ उठाउन सकिन्छ ।

बिमस्टेकका सदस्य राष्ट्र श्रीलंका, थाइल्यान्ड र म्यानमार बौद्धमार्गी राष्ट्र हुन् । ती राष्ट्रका नागरिकलाई नेपालमा आकर्षित गर्न सक्ने हो भने देशको पर्यटन क्षेत्रले लाभ लिन सक्छ । बुद्धिस्ट सर्किटको अवधारणा यसपटक पनि सतही चर्चामा मात्र सीमित हुने त होइन ?भन्ने चिन्ता पनि ब्यक्त गरिएको छ ।

बुद्धिस्ट सर्किटको चर्चा
वितेको केही बर्षदेखि ‘बुद्धिस्ट सांस्कृतिक सर्किट’ का प्रस्तावले अन्तर्राष्ट्रिय महत्वको सम्मेलनताका सधैं चर्चा हुने गरेको पाइएको छ । बुद्धिस्ट सांस्कृतिक सर्किटको प्रस्तावले चार वर्षअघि राजधानीमा भएको सार्क सम्मेलनमा पनि चर्चा पाएको थियो ।

म्यानमारमा भएको तेस्रंो बिमस्टेक सम्मेलनमा तत्कालीन स्वर्गीय प्रधानमन्त्री सुशील कोइरालाले लुम्बिनी, बोधगया, कुशिनगर र चीनको तीर्थस्थललाई समेटेर बुद्धिस्ट सर्किट बनाउनु पर्नेमा जोड दिनुभएको थियो । त्यस्तै तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको लुम्बिनीलाई केन्द्रबिन्दु गरेर चीन र भारतका तीर्थस्थल समेट्ने गरी बुद्धिस्ट सर्किट बनाएर पर्यटन विकासको ठूलो सम्भावना रहेको भन्दै त्यसको लविङ समेत गर्नुभएको थियो । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा गे्रटर लुम्बिनी कमिटी नै गठन भएको थियो ।

दक्षिण एसियाको आर्थिक विकास, पर्यटन उद्योगको प्रवद्र्धन रोजगारको सम्भावनालाई मध्यनजर गरेर आएको बुद्धिस्ट सर्किटको प्रस्ताव नेपालीहरुले लाभ लिन सक्ने प्रशस्तै सम्भावना रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा नरेशमान वज्राचार्य बताउनुहुन्छ ।

लुम्बिनीको धार्मिक संरक्षण र पर्यटकीय विकासका लागि पूर्वाधार बनाउने जिम्मा पाएको लुम्बिनी विकास कोषका पदाधिकारी बुद्धिस्ट सकिर्टबारे सरकारले अग्रसरता देखाएको खण्डमा विस्तृत परिभाषा गरेर अघि बढ्न सक्ने बताउछन । ‘प्रचण्ड’ पहिलोपटक प्रधानमन्त्री हुँदा गठित बृहत्तर लुम्बिनी विकास समितिमा रहनुभएका भिक्षु कौण्डन्यले भन्नुभयो– ‘पटकपटक चर्चाचले पनि बुद्धिस्ट सर्किटको योजनालाई नेपालले पनि ठोस, मुर्तीकरण गर्न सकिरहेको छैन ।’

बुद्र्धिस्ट सर्किटमा लुम्बिनीलाई मात्र नभई कपिलवस्तु, देवदह, रामग्राम पनि जोड्नुपर्ने विषय उठिरहेको बताउँदै भिक्षु कौण्डन्यले नेपालले यसबाट के कस्तो र कसरी लाभ पाउन सकिन्छ सम्मेलनमा त्यसबारे विस्तृत चर्चा हुनुपर्नेमा जोड दिनुभयो ।

बुद्धिस्ट सर्किटमा भारतको रुचि
२०७१ साउन १८को पहिलो नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी दर्शन गर्ने इच्छा अधुरो रहेको भन्दै भारतको बोधगया, सारनाथ, कुशीनगर र नेपालको लुम्बिनीलाई मिलाएर बुद्धिस्ट सांस्कृतिक सर्किटको अवधारणा अघि सार्नुभएको थियो ।

सोही वर्ष मंसिर १० मा प्रधानमन्त्री मोदी नेपाल आउँदा लुम्बिनी भ्रमण गर्नुभई बुद्धिस्ट सर्किट बनाउने अवधारणालाई थप उर्जा प्रदान गर्नुभएको थियो ।
विशेषतः भारतले बोधगया, सारनाथ र कुशीनगरसँग जोड्ने गरी करिब सात सय किलोमिटर क्षेत्र समेटेर बुद्धिस्ट सर्किट बनाउने कामलाई तीव्रता दिइरहेको छ ।

गौतम बुद्धले ज्ञान प्राप्त गरेको बोधगया, आफ्ना पाँच शिष्यलाई पहिलोपटक बुद्धत्वबारे प्रवचन दिएको सारनाथ र महापरिनिर्वाण भएको (देहत्याग गरेका) कुशीनगरसँग जोड्ने गरी बुद्धिस्ट सर्किट बनाउने काम भइरहेको छ । यो सर्किटमा बुद्धजन्मस्थल लुम्बिनीलाई समेट्ने भारत सरकारको सोच रहेको बताइएको छ ।

विश्वभरका बौद्धमार्गी पर्यटकलाई भारतमा आकर्षित गर्न सहज हुने कारणले नै लुम्बिनीलाई बुद्धिस्ट सर्किटमा जोड्ने उद्देश्य भारतले लिएको जानकारहरु बताउँछन् ।

भारतको उत्तर प्रदेश पर्यटन निगमले भारतको बोधगया, कुशिनगर श्रवास्ती, राजगृहलगायत बौद्ध धर्मको तीर्थस्थलमा पर्यटकहरु घुमाउँदा लुम्बिनीलाई पनि रुटमा राखेको छ ।

बुद्धिस्ट सर्किटलाई बिमस्टेक सम्मेलनको महत्वपूर्ण एजेन्डा बनाएर कार्यान्वयन शुरु गर्नुपर्ने परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले जोड दिनुभयो। नेपालले नै सदस्य राष्ट्रबीच बुद्धिस्ट सर्किटको प्रस्ताव गर्न सक्ने उल्लेख गर्दै उहाँले त्यसबाट पर्यटन क्षेत्रमा ठूलो लाभ पुग्ने बताउनुभयो । ‘यसपटक बुद्धिस्ट सर्किटको अवधारणालाई कार्यान्वयन गर्न नेपालले अग्रसरता लिनुपर्दछ’ –उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्