एसिया कप खेल्ने लक्ष्यमा धक्का



नेपाल समाचारपत्र, काठमाडौं
मलेसियामा जारी एसीसी एसियाकप छनोट क्रिकेटअन्तर्गत दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

बिहीबार भएको खेलमा नेपाललाई युएईले ७८ रनले हराएको हो । योसँगै नेपालको प्रतियोगितामा लगातार दोस्रो हार भयो । २ सय ५५ रनको लक्ष्य पाएको नेपालको पुरै टोली ४८.५ ओभरमा १ सय ७६ रनमा समेटिएको थियो ।

नेपालको तर्फबाट सुवास खकुरेल र दीपेन्द्रसिंह ऐरीबाहेक अन्य ब्याटसम्यान चल्न सकेनन् । सुवासले ५० रन र दीपेन्द्रले ४० रन बनाएका थिए । युएईका बलरमा अहमद राजाले ४ तथा मोहम्मद नाभिदले ३ विकेट हासिल गरे ।

नेपालको लागि बलिङमा सन्दीप लामिछाने बाहेक अन्य बलर चल्न नसक्नु नै दुर्भाग्य भएको थियो । किफायती बलिङ गर्नेक्रममा सन्दीपले १० ओभरमा २ मेडनसहित २४ रन दिएर ४ विकेट लिएका थिए । अरु बलर भने युएईका ब्याटसम्यानबाट धुलाई भए । जसको फलस्वरुप नेपालविरुद्ध युएईले २ सय ५४ रनको सुरक्षित योगफल बनायो । जसमा चिराग सुरीले ६५ रन, अदनान मुफ्तीले ५७ रन र अशफाक अहमदले ४५ रन योगदान दिएका थिए ।

नेपाली बलरमा सोमपाल कामीले २ विकेट लिए पनि ५८ रन खर्चेका थिए । त्यस्तै बसन्त रेग्मीले पनि त्यति नै विकेट हात पार्न ४९ रन दिएका थिए । अन्यमा कप्तान पारस खड्काले ६ ओभरमा ३३ रन, करण केसीले ८ ओभरमा ६१ रन, प्रदीप ऐरीले ६ ओभरमा २६ रन दिए र विकेटविहीन बने ।

नेपाली ब्याटिङको ठोस आधार साझेदारी नै हुन सकेन । ज्ञानेन्द्र मल्ल ४ रन, पारस १६ रन र सागर पुन ३ रन बनाएर आउट भएपछि नै नेपाल दवावमा परेको थियो । यद्दपि चौथो विकेटका लागि सुवास र दिपेन्द्रले ५८ रनको साझेदारी गरेर नेपालको स्कोर १ सय १ मा पु¥याए । यो साझेदारी टुटेपछि अर्को उत्कृष्ट साझेदारी हुन नसक्नु नै नेपालको लागि जित टाढा भएको थियो ।

नेपालको संभावना न्युन
नेपाल ६ राष्ट्र सम्मिलित प्रतियोगितामा दुई हारसँगै कठिन मोडमा उभिएको छ । यो प्रतियोगिताका विजेताले मात्रै यसै महिनाको अन्त्यमा युएईमा हुने एसिया कपमा खेल्न पाउनेछ ।

मलेसियामा जारी प्रतियोगितामा युएई र ओमान लगातार दुई–दुई खेल जित्दै एसियाकपमा खेल्ने संभावनालाई बलियो बनाउँदै गएका छन् । मलेसिया र हङकङले दुई खेलमा एक–एक जित हासिल गरेका छन् । प्रतियोगितामा नेपाल र सिंगापुर मात्रै दुबै खेलमा हारेका टोली हुन् । नेपालले बाँकी ३ खेल जितेमा पनि नेपालको छनोट हुने संभावना अन्य खेलको नतिजाले मात्रै निर्धारण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्