प्राविधिक ज्ञानबारे सोचिएन कि ?



नेपालको संविधान २०७२ ले परिकल्पना गरेअनुसार बनेको संघीय संरचनाका कारण यति बेला सबै जिल्लाका सबै कार्यालयहरु कुनै न कुनै रुपमा खारेज भएका छन् भने केही कार्यालयहरु प्रदेश सरकारको मातहतमा रहने गरी नयाँ नामाकरणसहित परिमार्जित भएको अवस्थामा छन् ।

बागलुङमा रहेको जिल्ला कृषि विकास कार्यालय खारेज भएसँगै कृषि ज्ञान केन्द्रको रुपमा डिभिजन रहने गरी पर्वत जिल्लामा सारिएको छ । जिल्लाभर रहेका सेवा केन्द्र तथा उपकेन्द्रहरुमा रहेका विविध समस्याका बाबजुद कार्यालय खारेज गरेर ती केन्द्रहरुलाई स्थानीय सरकारको मातहतमा रहने गरी व्यवस्था मिलाइएको छ ।
कृषिसम्बन्धी हरेक कुराको जानकारी लिन वा दिनको लागि जिल्ला कृषि विकास कार्यालयकै भर परिरहेका यहाँका किसान तथा सेवा केन्द्रहरुका कर्मचारी यति बेला अन्यौलमा परेका छन् । कृषकले पाउने सेवा सुविधाको विषयमा स्थानीय सरकार जिम्मेवार बनेको भए पनि कृषि कार्यालय तथा कृषि सेवा केन्द्रबाट प्रवाह हुने सल्लाह सुझाव र कृषि कर्मका बेला आईपर्ने समस्या समाधानको विषयमा स्थानीय सरकारले त्यति ध्यान दिएको पाइएको छैन ।

स–साना समस्यासमेत जिल्लाकै मुख ताकेर लामो समय बिताएका सेवा केन्द्रहरुले कृषकले चाहेको जस्तो प्रविधिक ज्ञान दिन सकिरहेका छैनन् । पछिल्लो समय जिल्ला कृषि विकास कार्यालय खारेज भएयता सबैभन्दा बढी व्यावसायिक उत्पादनमा लागेका किसानहरु मारमा परेका छन् । समयानुकूल उत्पादनका लागि उनीहरुले लिँदै आएको सल्लाह सुझाव पाउन नसकेको अवस्थामा उनीहरु छन् भने अर्कोतर्फ सिजनका भरमा गरिने खेती बालीमा भएको संक्रमणको समाधानको उपाय उनीहरुसँग नभएका कारण समस्या पैदा भएको छ । एकातर्फ संघीयतापछिका संरचना र ती संरचनाको विषयमा आमसर्वसाधारणको तहमा जानकारी नहुनु र अर्कोतर्फ नयाँ बनेको संरचनामा पनि सेवाप्रवाहमा देखिएको अन्यौलताका कारण पनि समस्या बढ्दै गएको छ ।

यदि स्थानीय तहले चाहेको जस्तो आफ्नो चौतर्फी विकासका लागि कृषि पेसालाई नै बढवा दिन चाहेका हो भने अब कृषिसम्बन्धी प्राविधिक ज्ञानको विकास गर्न जरुरी छ । प्रविधिक ज्ञानको विकासका लागि मुख्य जिम्मेवार भनेका कृषिसँग सम्बन्धित सेवा केन्द्रहरु हुन् । सेवा केन्द्रहरुमा रहेको दक्ष कर्मचारी, भौतिक पूर्वाधार, तालिम तथा औजारलगायतका आधारभूत आवश्यकताका वस्तुहरुको उपलव्धतामा स्थानीय सरकारले ध्यान दिने र सेवा केन्द्र तथा स्थानीय सरकारले तोकेको ज्ञान लिने स्थानमा आमसर्वसाधारणको विश्वास बढाउनु अहिलेको आवश्यकता हो । विश्वासको वातावरण र दक्षताको विकास गर्दै कृषिजन्य उत्पादनसँग आमनागरिकलाई जोडेर समयानुकूल विकासको लागि कुनै पनि बाधा आई नपर्ने वातावरण बनाउनमा जुटौं ।
–सुरज शर्मा बाग्लुङ ।

प्रतिक्रिया दिनुहोस्