रोजको सुटिङमा प्रदीपलाई कपालको झमेला



चक्लेटी हिरो प्रदीप खड्काले रिलिजको संघारमा रहेको फिल्म रोजमा कपालमाथि नक्कली कपाल थपेर अभिनय गर्दा भएको कठिनाइलाई रमाइलो मानी–मानी सुनाएका छन्।

‘रोजमा म प्रेमीकाको हत्याराको भूमिकामा छु। त्यसका लागि लामो–लामो कपाल जरुरी थियो। त्यो हेयर स्टाइलको लुक्स मेन्टन गर्न पनि गाह्रो थियो। ओर्जिनल कपलामाथि डुप्लिकेट कपाल जोड्दा त्यसलाई सम्हाल्न गाह्रो परेको थियो। कपालको जरा दुखेर सुत्न पनि सकिरहेको थिइनँ’, प्रदीपले आगामी २२ गते तीजको अवसर पारेर अल नेपाल रिलिज हुन लागेको फिल्म रोजका बारेमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा हाँस्दै सुनाए– ‘त्यसमाथि कपालको जरामा बल पर्दा झर्न पनि सक्छ भन्ने सुनेर अर्को टेन्सन भएको थियो, तर पनि त्यही गेटअपमा लामो समयसम्म काम गरियो। मेहनत र दुःख गरेअनुसार रिजल्ट राम्रै आउनेछ भन्ने विश्वास गरेको छु।’

रोजमा आजसम्म गर्दै आएको प्रेमिल युवकको भन्दा भिन्न भूमिका निर्वाह गरी खतरा मोलेको सुनाउँदै प्रदीप गफिए– ‘सिम्पल सिन मात्र हेरेर इन्जोय गर्ने अडियन्सलेचाहिँ यो फिल्म हेर्दा धेरै मिस गर्न सक्नुहुन्छ कि भन्ने डर छ। किनभने फिल्न ननलिनियर र मल्टिपल न्यारेसनले भरिएको छ। मैले अहिलेसम्म मेरा अडियन्सलाई दिइरहेको फिल्मभन्दा योचाहिँ बिल्कुल फरक छ।’ ‘कहिलेकाहीं रिस्की फिल्म पनि गर्नुपर्छ, जसले गर्दा डाइरेक्टर, प्रोड्युसर, मिडिया तथा दर्शकलाई पनि यसले साँच्चै एक्टिङ गर्न सक्दो रहेछ भन्ने कन्फिडेन्स होस् भनेर यो फिल्म गरेको हुँ’ –उनले भने।

फिल्ममा आफू एक हत्यारा प्रेमीको भूमिकामा रहेको र परिस्थितिले कसरी एउटा सोझो केटालाई पे्रमीकाको हत्या गर्न बाध्य बनायो भन्ने कथा रहेको प्रदीपले बताए। ‘मलाई फिल्मको ओपनिङ, इन्टरभल र क्लाइमेक्स मन परेर काम गरेको हुँ’ –फिल्मको प्रमोसनका लागि टिमका साथ बुधबार नै काठमाडौंबाहिरको शहर टुरमा निस्कनुअगाडिको साक्षात्कारमा प्रदीपको भनाइ थियो। हत्या गरिएकी रोजीना महर्जनको परिवारको दबाबले फिल्मको नाम परिवर्तन गरे पनि फिल्मसँग प्रेमीकाको हत्याबाहेक कुनै कुरा मेल नखाने प्रदीपले स्पष्ट पारे।

नायिका तथा मोडल मिरुना मगरले आफू रोजमा वकिलको भूमिकामा रहेर प्रदीपको पक्षमा वकालत गरेको खुलाइन्। ‘मैले वकिलको रोल गर्छु भन्ने कहिल्यै पनि सोचेकी थिइनँ। यूके बस्दा म नेपाली न्युजपेपर खोजी–खोजी पढिरहन्थे। नेपाली कठिन वर्ड बोल्न मन हुन्थ्यो, तर जान्दिनथें। रोजमा मेरो भूमिका नै लयरको भएकाले गाह्रो खालका धेरै शब्द बोल्ने रहर पूरा गर्न पाएँ’ –उनले भनिन्। फिल्मकी अर्की नायिका परमिता राज्यलक्ष्मी राणाले प्रदीप खड्का र मिरुना मगरजस्ता राम्रा कलाकारको टिमसँग काम गर्दा आफूले राम्रो महसुस गरेको बताइन्। ‘यो फिल्ममा मेरो भूमिका र मेरो वास्तविक जीवनका धेरै कुरा मेल खान्छ।

किनकि रोज क्यारेक्टर पनि फेसन, ग्ल्यामर वल्र्डमा बिताएको हुन्छ। मैले पनि ७ वर्ष इन्टरनेसनल मोडल भएर काम गरेकाले कतिपय ठाउँमा आफूलाई नै भेटें’ –उनले भनिन्।

गोपिकृष्ण मुभिज र आरोही फिल्मस््को ब्यानरमा निकिता पौडेल र मणिकरण केसीद्वारा संयुक्तरूपमा निर्मित तथा उद्वव पौडेलद्वारा प्रस्तुत फिल्ममा प्रदीप खड्का, परमिता राज्यलक्ष्मी राणा, मिरुना मगर, कर्मालगायतका कलाकारले अभिनय गरेका छन्। निरक पौडेलद्वारा निर्देशित फिल्मको लेखन केदार भुसाल, गीत राजेशकुमार श्रेष्ठ र दयाराम पाण्डे, संगीत अर्जुन पोखरेल र एलिष कार्की, कोरियोग्राफी कविराज गहतराज, छायांकन राजुविक्रम थापा र सम्पादन मित्र डी गुरुङको रहेको छ।

प्रतिक्रिया दिनुहोस्