सहकार्य परिणाममुखी बनाउन केन्द्रित हुँदै बिमस्टेक सम्मेलन



नेपाल समाचारपत्र, काठमाडौं
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन क्षेत्रीय सहकार्यलाई परिणाममुखी बनाउन केन्द्रित हुने भएको छ ।

सम्मेलनले बिमस्टेक वडापत्र, सचिवालयको संस्थागत सुदृढीकरण, बिमस्टेक कोष र अन्य क्षेत्रीय निकायको प्रस्ट खाका तय गर्ने भएको छ । कनेक्टिभिटी, व्यापार, पर्यटन, ऊर्जा, कृषि, यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारणलाइनजस्ता विषय सम्मेलनका एजेन्डा बनेका छन् । बुधबारको १६औं बिमस्टेक मन्त्रीस्तरीय बैठकले क्षेत्रीय सहकार्य परिणामुखी जस्ता विषयलाई प्राथमिकता दिएको हो ।

सम्मेलनको औपचारिक उद्घाटन आज बिहीबार दिउँसो होटल सोल्टीमा हुँदै छ । यही सम्मेलनमा बहुपक्षीय ऊर्जा सम्झौता हुँदै छ । मंगलबारको परराष्ट्र सचिवस्तरीय ‘सिनियर अफिसियल्स मिटिङ’ (सोम) बैठकले सुझाएको यो विषयलाई मन्त्रीस्तरीय बैठकले अनुमोदन गरेको हो ।

‘सोम बैठकले दिएका अधिकांश सुझावमा मन्त्रीस्तरीय बैठकले अनुमोदन गरेको छ, ऊर्जा सम्झौता हुने निश्चित भयो, यातायात कनेक्टिभिटीको गुरुयोजना केही महिनाभित्रै बनाउने वातावरण तय भएको छ’ –परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।

बिमस्टेकका १४ प्राथमिकता क्षेत्र घटाउन र मिल्दाजुल्दा प्राथमिकता क्षेत्र एकआपसमा गाभ्ने विषय सम्मेलनको अर्को एजेन्डा बन्दै छ । तर वर्षांैैदेखि चर्चामा रहेको स्वतन्त्र व्यापार सम्झौता यसपटक पनि छलफलको विषयमा सीमित हुने भएको र यसबारेको विस्तृत खाका आगामी महिना बंगलादेशमा हुने बैठकले तय गर्ने बताइएको छ ।

नेपालले कनेक्टिभिटी, ‘माउन्टेन इकोनोमी’, जलवायु परिवर्तन, ‘बुद्धिस्ट सर्किट’को एजेन्डालाई प्राथमिकतामा राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘नेपाल र भूटान जस्ता पर्वतीय र भू–परिवेष्ठित मुलुकका लागि माउन्टेन र समुद्रसँग पहुँच भएकाहरुका लागि ब्लु इकोनोमीको अवधारणालाई जोड दिइएको हो’ –मन्त्रालयका एक अधिकारीले भने ।

गत वर्ष काठमाडौंमा सम्पन्न बिमस्टेको १५औं मन्त्रीस्तरीय बैठकद्वारा यो अवधारणा अघि सारिएको थियो । त्यसै गरी क्षेत्रीय सहकार्य परिणाममुखी बनाउन हरेक सदस्य राष्ट्रका २÷२ जना प्रबुद्ध व्यक्तिको संलग्नता रहने गरी प्रबुद्ध व्यक्ति समूह स्थापना गर्न पनि सो बैठकले सुझाएको थियो । यसैबीच बुधबारको मन्त्रीस्तरीय बैठकको उद्घाटनसत्रमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिमस्टेकलाई प्रतिबद्धताबाट कार्यान्वयन चरणमा लैजानुपर्नेमा जोड दिनुभयो ।

उहाँले कनेक्टिभिटी, व्यापार, पर्यटन, ऊर्जा, कृषि, यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारणलाइन, सूचना महामार्गजस्ता क्षेत्रमा गतिलो हातेमालो हुने औंल्याउनुभयो । मन्त्री ज्ञवालीले भन्नुभयो–‘प्राकृतिक प्रकोप, गरिबी, खाद्य असुरक्षा, पछौटेपन, संगठित अपराध, लागूऔषध कारोबार, जलवायु परिवर्तनले निम्त्याउने जोखिमको सामना गर्न पनि उत्तिकै आवश्यक छ ।’ सदस्य राष्ट्रलाई निकट र बिमस्टेकलाई परिणाममुखी बनाउन स्वतन्त्र व्यापार सम्झौता अपरिहार्य रहेको बताउँदै उहाँले यसबारे गुरुयोजना छिट्टै कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल बिमस्टेकको वर्तमान अध्यक्ष राष्ट्र भएकाले बैठकको अध्यक्षता मन्त्री ज्ञवालीले गर्नुभएको थियो । सो अवसरमा बोल्दै बिमस्टेक महासचिव सहाइदुल इस्लामले सचिवालयलाई चुस्तदुरुस्त बनाउन आवश्यक रहेकोमा जोड दिँदै क्षेत्रीय केन्द्र स्थापनाको खाँचो औंल्याउनुभयो । भारतमा बिमस्टेक ऊर्जा केन्द्र र श्रीलंकामा प्रविधि हस्तान्तरण संयन्त्रलाई मूर्त रुप दिन गृहकार्यसहित भन्सार सञ्चालन, सामुद्रिक पारवहन र स्वतन्त्र व्यापार सम्झौताको खाका तयार हुनु उपलब्धि भएको उहाँको भनाइ थियो ।

बैठकमा नेपालबाट मन्त्री ज्ञवाली, भारतका बाह्य मामिला राज्यमन्त्री भीके सिंह, बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अलि, म्यान्मारका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी संघीय मन्त्री क्याब तिन, श्रीलंकाका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्यान्डका विदेशमन्त्री दोन प्रमुदविनय र भुटानका विदेश सचिव सोनामा छोङ सहभागी छन् । बिमस्टेकको १७औं मन्त्रीस्तरीय बैठक श्रीलंकामा हुनेछ । सो बैठकको मिति भने कूटनीतिक माध्यममार्फत पछि तय हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच सम्मेलनमा आएका राष्ट्र प्रमुख र सरकार प्रमुखहरु द्विपक्षीय भेटवार्तामा जुटेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका म्यानमारका समकक्षी विन मिन्टबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार साँझको भेटवार्तामा दुवै मुलुकका सम्बन्ध र आगामी दिनमा हुन सक्ने द्विपक्षीय सहकार्यकाबारेमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति मिन्टबीच पनि सम्मेलनस्थल होटल सोल्टीमा भेटवार्ता भएको छ । बुधबार मिन्टले गर्नुभएको लुम्बिनी यात्रासहित दुवै मुलुकबीचको सम्बन्ध र आगामी दिनमा हुन सक्ने द्विपक्षीय सहकार्यका बारेमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे अवगत गराउँदै नेपाल अब समृद्धिको यात्रामा अघि बढेको बताउनुभएको थियो ।

उहाँले बुधबार नै भुटानका अन्तरिम सरकार प्रमुख छिरिङ वाङचुकसँग पनि भेटवार्ता गर्नुभएको छ । भुटानको आसन्न आम निर्वाचनका बारेमा चासो लिनुभएका ओलीले दक्षिण एसियाली मुलुकको समृद्धिका लागि बिमस्टेकजस्ता निकाय आवश्यक भएको बताउनुभएको थियो । नेपालमा रहेका भुटानी शरणार्थी समस्या समाधान गर्नेबारेमा उहाँहरुबीच छलफल भएको भन्ने जिज्ञासामा परराष्ट्र प्रवक्ता भरतराज पौडेलले आफू यसबारेमा अनविज्ञ रहेको बताउनुभयो ।

सम्मेलनमा सहभागी हुन श्रीलंकाली राष्ट्रपति मैथ्रीपाला सिरिसेना बुधबार दिउँसो काठमाडौं आइपुग्नुभएको छ भने बुधबार बिहान भुटानका अन्तरिम सरकार प्रमुख वाङचुक आउनुभएको थियो । आज बिहीवार भारतीय, बंगलादेशी र थाइल्यान्डका प्रधानमन्त्रीहरु आउँदै हुनुहुन्छ । सम्मेलन उद्घाटन अघि मित्रराष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिवा भोजको आयोजना गर्दै हुनुहुन्छ ।

मंगलबार बसेको १९औं सचिवस्तरीय बैठकले विद्युत् प्रसारण लाइनसम्बन्धी सहमतिपत्रलाई हस्तक्षारका लागि सिफारिस गरेको छ । मन्त्रीस्तरीय बैठकले अनुमोदन गरेपछि सहमति चौथो शिखर सम्मेलनमा प्रस्तुत गरिनेछ ।

 

 


राजधानीको सवारी ब्यवस्थापन भद्रगोल

आजदेखि औपचारिक रुपमा सुरु हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखका कारण बुधबार दिनभर राजधानीको सवारी आवागम अस्तब्यस्त बन्नपुग्यो ।

बुधबार भुटानको अन्तरिक सरकारका प्रमुुख छिरिङ वाङचुक र श्रीलंकाली राष्ट्रपति मैथ्रीपाला सिरिसेनाको आगमनका कारण राजधानीको सवारी आवागमन अस्तब्यस्त भएको हो ।

बुधबार बिहान नै देखि नै सवारी आवागमनमा बाधा उत्पन्न भएको थियो । बिहान देखि नै गन्तब्यमा हिडेका सवारीहरु घण्टौं जाममा परेका थिए भने सार्वजनिक सवारी प्रयोग गर्नेहरुको बिजोग भएको थियो । घन्टौं सम्म सार्वजनिक सवारी साधन नआउदा ठाउं ठाउंको अवस्था कहालिलाग्दो अवस्थामा पुगेको थियो ।

मंगलबार नै नेपाल आउनु भएका म्यानमारका राष्ट्रपति विन मिन्टले बुधबार नै लुम्वीनीको भ्रमणमा जानु भएकाले ट्राफिक ब्यवस्थापन अस्त ब्यस्त नै बन्न पुगेको थियो ।

सरकारले बुधबारबाटै जोर बिजोर प्रणाली लागू गरेको भएपनि राजधानीका सडकमा हजारौं सवारी साधन निस्किएपछि ट्राफिक ब्यवस्थापनमा केही असजहता भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसपी राजकुमार लम्सालले जानकारी दिनुभयो ।

सरकारले लागू गरेको जोरबिजोर प्रणाली उल्लघन गरेको अभियोगमा सुरक्षाकर्मीले ७ सय सवारी साधनलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका सवारी साधनलाई भने शनिबार मात्रै छोडिने महाशाखाले जनाएको छ ।

नेपाल भारत वीच महत्वर्पूण सम्झौता हुने
प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदी वीच भोली शुक्रवार द्धिपक्षिय भेटवार्ता हुने भएको छ । दुवै प्रधानमन्त्रीको उपस्थितीमा रक्सौल–काठमाडौं रेल्वे र बल्क कार्गो सम्बन्धी सम्झौता हुने भएको छ ।

बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) सम्मेलनमा सहभागी हुन आज विहीवार काठमाडौं आउनुहुने मोदीको उपस्थितीमा उक्त सम्झौता हुन लागेको हो । विगतमा भएको सहमति अनुसार भारतले रेलमार्गको बिस्तृत परियोजना प्रतिवेदन तयार गर्न सहयोग गर्ने भएको छ । मोदीको यही भ्रमणका क्रममा नेपाल तर्फको पारवहन प्रकृया सहज गराउने बारेमा पनि हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यससँगै मोदीले भारतीय सहयोगमा काठमाडौंको गौशालामा निर्माण भएको धर्मशालाको उद्घाटन गर्ने र पशुपतिको दर्शन समेत गर्दै हुनुहुन्छ । विहीवार मोदीले पशुपतिमा दर्शनसँगै पुजा–आजा गर्ने भएपछि पशुपति र आसपासका भेगको सुरक्षा निगरानी बढाइएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्