रातारात ‘दुलही’ झै सिंगारियो काठमाडौ, ५७ वटा स्वागतद्वार



ईश्वरराज ढकाल, काठमाडौं

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौँथो शिखर सम्मेलनको पुर्व सन्ध्यामा काठमाडौं झकिझकाउ भएको छ ।

पाहुनाको स्वागतार्थ काठमाडौं र ललितपुर महानगरपालिकाद्वारा ५७ वटा स्वागतद्धार बनाइएको छ । यस्तै विभिन्न सरकारी निकाय, बैक, संस्थान, उद्योग वाणिज्य महासंघ लगायतका निकायले पनि स्वागतद्धार बनाएका छन् । कामपाले त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल, नारायणहिटी दरबार, त्रिपुरेश्वर कान्तिपथ, कलंकी र सोल्टीमोडमा स्वागत द्धार बनाएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न सरकारी, बैक, संस्थान लगायतका निकायलाई पत्र पठाई स्वागत द्धार बनाउन आग्रह गरेको थियो ।

राजधानीको सबै फ्ल्याग पोलमा नेपाल सहित ७ वटै राष्ट्रका झण्डा राखिएको छ । आज मंगलबारबाट विभिन्न देशका राष्ट्र र सरकारप्रमुखको उपस्थित हुने भएकाले काठमाडाँैलाई दुलही झै सिगारिएको छ । विमानस्थलदेखि, सोल्टी होटल, रत्नपार्कदेखि राष्ट्रपति भवन, चावहिलदेखि हायात होटल , थापाथलीदेखि कुपण्डोल हुदै पाटन दरबार क्षेत्रको सडक सिगारिएको छ । सडक छेउका फुटपाथमा रातारात ब्लक छापिएको छ भने पोलमा जेलिएको तार हटाइएको छ ।

कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पनि सडक एवम् ढल सफा गर्ने, सडकपेटीमा थुप्रिएका सामग्री हटाउने, बु्रमर लगाउने, सडक र सडक वरपर रोपिएका विरुवा धुने जस्ता काम गरिसकेको बताउनुभयो । उहाले सोमबार रातीसम्म केन्द्रीय राजधानीलाई दुलही झैँ सजाइसकिने जानकारी दिनुभयो ।

यस्तै मन्त्रालयले बाहिरी सडक मर्मत सकिएको बताएको छ । कामपा वातावरण विभागका पाँच सय कर्मचारीले सोमबार सडक किनारा सफा गरेका थिए । विभागका प्रमुख हरी कुवरले ६ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखको आगमन हुने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि सोल्टी होटल, हायात लगायतका कार्यक्रम स्थल पुग्ने बाटोमा पर्ने करिब ४० आइल्याण्ड र आधा दर्जन पार्क सफा गरेको बताउनुभयो । आइल्याण्डमा विरुवा रोपेका छौ, गमला राखेका छौ–उहाँले नेपाल समाचारपत्रसंग भन्नुभयो ।

तर सबै पाहुनाको पहिलो नगर पर्ने तीनकुने पार्कलाई व्यवस्थित गरिएको छैन । जस्ता र वाहिरबाट विमिस्टेकको प्रचार झल्कने गरी फ्लेक्सले बारिएको छ । २०६० सालदेखि कामपाको स्वात्विमा रहेको सो पार्क चार वर्षअघि सम्पन्न १८ औ सार्क शिखर सम्मेलनकै बेला जस्ताले बारिएको थियो ।

स्थानीयसंग मुआब्जा विवाद नमिल्दा उक्त पार्क बन्न नसकेको हो । कामपाका तत्कालिन कार्यकारी अधिकृत ईश्वरराज पौडेलको कार्यकालमा पार्कको विच भागमा झण्डा र वरिपरी फुटपाथसहित नया डिजाइनको पार्क बनाउने योजना तय गरिएको थियो । करिब २० लाख रुपियाँ लागतमा पार्क बनाउने तयारी गरेका थियौँ तर स्थानीयकै कारण सकेनौ–कामपाका प्रवक्ता ज्ञानेन्दै कार्कीले बताउनुभयो ।

तत्कालिन मेयर केशव स्थापितको कार्यकालमा पार्कमा बनेका भवन लगायतका संरचना हटाइएको थियो । विच भागमा बुद्ध वा मञ्जुश्रीको सालिक राख्ने गरी पार्क बनाउने पटक पटकको योजना विफल बन्दै गएपछि कामपाले बिचभागमा झण्डा सहितको सामान्य पर्क बनाउने योजना बनाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्