विकासका लागि शान्ति



विकासका लागि शान्ति महत्वपूर्ण हुन्छ । जहाँ शान्ति हुन्छ, त्यहाँ स्वतः विकासमूलक कार्यक्रमहरू विस्तार भएर जान्छन् । शान्तिलाई नै विकासको जग मान्न सकिन्छ । शान्ति र विकास यस्ता दुई पाटा हुन् जसको एकार्कासँग नजिकको सम्बन्ध रहेको हुन्छ । आजको दिनमा हाम्रो राज्य जुन विकासको मानकमा विद्यामान छ त्यसमा सर्वा्धिक ठूलो भूमिका शान्तिले कायम गरेको छ ।

सिक्किमको राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा विगत तीन दशकदेखिको स्थिरताका कारण यहाँ व्याप्त शान्तिमय वातावरणका कारण आज यो भारतको एउटा कान्छो राज्यले देशमा विकासको दिशामा जेठो राज्यको भूमिका निर्वाह गरिरहेको जगजाहेर छ । बितेका पाँच दशकमा राज्यले गरेको प्रगति र समृद्धिको मानक अन्य केही नभएर मात्र शान्ति हो, जसलाई कायम गर्न वर्तमान सरकारले ठूलो प्रयत्न गरिरहेको छ ।

एसडीएफ सरकारले निरन्तर राज्यमा शान्ति कायम राख्दै कानुनको राज स्थापना गर्न सफल भएकै कारण आज सिक्किम छोटो अवधिमा नै शिक्षाको गढका रूपमा विकसित भएको छ । शिक्षाकै निम्ति पनि शान्ति महत्वपूर्ण छ । यसरी नै सिक्किमको पर्यटन अहिले विश्वको मानचित्रमा परिचित भएको छ । विश्वका नामी संस्थाहरूले सिक्किमको पर्यटनलाई चयनीत स्थानका रूपमा स्वीकार गरिसकेका छन् । यसले गर्दा सिक्किममा पर्यटन उद्योगले विकासको एउटा सन्तोषजनक स्थान प्राप्त गर्न सकेको छ ।

सिक्किमले देशका अन्य राज्यहरूको तुलनामा निरन्तर शान्ति कायम राखेर सीमावर्ती राज्यको परिभाषा नै परिवर्तन गर्न सफल भएको छ । यसरी नै सरकारले शान्ति पूर्ण माहौलमा राज्यमा विविध क्षेत्रका भौतिक पूर्वाधारसितै सर्वाङ्गीण विकासलाई निरन्तरता दिन सफल भयो अनि सिक्किमले दिगो विकासको लक्ष्यमा पनि सफलता हात पार्न सक्यो । यसैले प्रजातन्त्रका सबै हितधारकहरूले शान्ति महत्वपूर्ण छ भन्ने कुरालाई महत्व दिन आवश्यक छ ।
–सुन्दर कार्की, काठमाडौं ।

 

प्रतिक्रिया दिनुहोस्