नेपाली सुरक्षाकर्मी- विदेशमा अब्बल स्वदेशमा निर्बल !



टीका बन्धन, काठमाडौं
नेपाली सुरक्षाकर्मी र सुरक्षा निकायले निर्वाह गरेका सफलता र बहादुरीका उदाहरण पर्याप्त छन्, सैन्यबलमा निकै अब्बल मानिएका मुलुकले समेत नेपाली सुरक्षाकर्मीलाई महत्वपूर्ण जिम्मेवारी दिने गर्छन् ।

गत जेठ अन्तिम साता सिंगापुरमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उनबीचको वार्तास्थलको सुरक्षार्थ नेपाली सुरक्षाटोली समेत खटिँदा ठूलै चर्चा भएको थियो । तर नेपालमा आयोजना हुने कतिपय अन्तर्राष्ट्रियस्तरका सभा÷सम्मेलन र उच्चस्तरीय जमघटमा नेपाली सुरक्षाकर्मीलाई विश्वास नगरेका उदाहरण पनि दोहोरिन थालेका छन् ।

नेपाल भ्रमणका क्रममा आफ्नै मुलुकबाट सुरक्षाकर्मी र सवारी ल्याउने परम्पराजस्तै बन्न थालेको छ । आसन्न बिमस्टेक सम्मेलन होस् या ४ वर्षअघिको सार्क सम्मेलन अनि त्यस अघिपछि भारतीय राष्ट्रपति र प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा भारतले आफ्ना मुलुकका सुरक्षाकर्मीको टुकडी नै खटाउने गर्छ । यही साता शुरु हुने बिमस्टेकको चौथो शिखर सम्मेलनलाई लक्षित गर्दै गत शुक्रबार भारतबाट दर्जन हाराहारीमा ‘स्पेसल ब्लाक कमान्डो फोर्स’ काठमाडौं आएर सुरक्षा अनुगमन (रेकी) शुरु गरेको छ ।

लैनचौरस्थित भारतीय दूतावासमा रहेको यो फोर्सले आफ्नै शैली र नेपाली सुरक्षा निकायसँगको समन्वयमा पनि रेकी शुरु गरेको नेपाल प्रहरी स्रोतले जानकारी दियो । प्रहरीका एक उच्च अधिकारीले आइतबार नेपाल समाचारपत्रसँग भने– ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा प्रयोजनका लागि भारतबाट अर्को सुरक्षा टोली (भोलि) सोमबार काठमाडौं आउँदै छ ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ओहोरदोहोर गर्ने मार्ग, उहाँ बस्ने सोल्टी होटल र सहभागी हुने कार्यक्रमस्थल आसपासका भेगको सुरक्षा निगरानीका लागि भारतीय टोलीले चासो बढाएको ती अधिकारीले बताए ।

सम्मेलन आगामी बुधबार र बिहीबार काठमाडौंमा आयोजना हुँदै छ । बिमस्टेक सदस्य राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुख भोलि मंगलबारदेखि नै काठमाडौं आउँदै छन् भने भारतीय प्रधानमन्त्री मोदी सम्मेलन उद्घाटन हुने दिन बिहीबार बिहान नेपाल आउने कार्यक्रम तय भएको छ । मोदीको सवारी प्रयोजनका लागि गत शुक्रबार नै ३ वटा कालो रङका बुलेटप्रुफ मर्सिडिज कार पनि काठमाडौं भित्रिसकेका छन् । गत वैशाख अन्तिम साताको मोदीको नेपाल भ्रमणका क्रममा पनि काठमाडौं, जनकपुर, मुक्तिनाथसहित तराईका सीमावर्ती भेगमा बाक्लै संख्यामा भारतीय सुरक्षाकर्मी खटिएका थिए ।

राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रको कमीकमजोरीका कारण एकपछि अर्को उच्चस्तरीय भ्रमणमा भारतले नेपाली सुरक्षाकर्मीमाथि अविश्वास गर्ने वातावरण बढ्दै गएको सुरक्षा मामलाका जानकार बताउँछन् । उच्चस्तरीय भ्रमणको व्यवस्थापन गर्न नेपाली सुरक्षाकर्मी सबल भए पनि परराष्ट्र मन्त्रालयले सुरक्षा मामिलाबारे आश्वस्त गराउन नसक्दा सुरक्षा मामिलामा शंका गर्ने अवस्था रहेको नेपाली सेनाका पूर्वसहायक रथी डा. उमेश भट्टराई बताउनुहुन्छ । ‘हाम्रो कमजोरी के–के हो भनेर नेपालले प्रस्ट रुपमा सोध्नुपर्छ र भारतले पनि प्रस्ट रुपमा कमजोरी औंल्याउनुपर्छ, तर त्यस्तो हुन सकेको छैन’ –द्वन्द्व व्यवस्थापनमा विद्यावारिधि गर्नुभएका उहाँले भन्नुभयो ।

राजनीतिक नेतृत्वमा रहेकाहरुले यो विषयलाई गम्भीरतापूर्वक नलिँदा भारतबाहेक अन्य मुलुकबाट हुने आगामी दिनका उच्चस्तरीय भ्रमणमा पनि उस्तै प्रचलन दोहोरिन सक्ने भट्टराईको आशंका छ । राष्ट्राध्यक्ष र सरकार प्रमुखले आफ्नो विदेश भ्रमणका क्रममा आफ्नै मुलुकका सादा पोसाकका सुरक्षाकर्मी पनि साथै लाने प्रचलन छ । तर भारतले भम्रण अगावै बाक्लै संख्यामा सादा र युनिफर्मसहितका सुरक्षाकर्मी खटाउँदै आएको छ । भारतको यस्तो शैली नेपाल र अन्य दक्षिण एसियाली मुलुकमा केही बढी देखिने गरेको नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा बताउनुहुन्छ ।

नेपालसहित दक्षिण एसियाली अन्य मुलुकमा पनि भारतीय सुरक्षा चासो रहेको र नेपालसँगको खुला सीमाका कारण नेपालमाथि उसको सुरक्षा चासो झनै बढेको उहाँको ठहर छ । भारतले नेपाली सुरक्षाकर्मीमाथि विश्वास नगरेको भन्दा पनि नेपालसहित समग्र सार्क क्षेत्रमा आफू बढी सुरक्षित हुन उसले चाहेको बताउँदै शर्माले भन्नुभयो– ‘भारत विगतदेखि सार्क क्षेत्रको सुरक्षा मामिलामा केही बढी शंकालु छ ।’
विशिष्ठ विदेशी पाहुना ओहोरदोहोर गर्ने सडक र उनीहरु सहभागी हुने कार्यक्रमस्थल आसपासमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटाउँदैमा सुरक्षा अवस्था चुस्त नहुने भएकाले सुरक्षा निकाय स्रोतसाधन सम्पन्न हुन आवश्यक रहेको विज्ञहरुको तर्क छ । यही पक्षलाई जोड दिँदै शर्माले भन्नुभयो– ‘सुरक्षाकर्मीको बाक्लो भौतिक उपस्थितिले मात्रै सुरक्षा सुनिश्चिता हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्