दूधमा पनि अखाद्य वस्तु !



दूध र दूधजन्य पदार्थमा नेपाल केही समयअगाडिबाट नै आत्मनिर्भर रहेको छ। यसरी आत्मनिर्भर रहेको र सहज पहँुचमा पुगेको खाद्यपदार्थको गुणस्तरमा भने आवाज उठाउने अवस्था देखा परेको छ।

दूधमा उपभोक्तको स्वास्थ्यमा असर गर्ने हानिकारक पदार्थ मिसाउने गरेको तथ्य फेला परेको छ। काठमाडौं उपत्यकामा रहेका ३० मध्ये २५ डेरी उद्योगले बजारमा पठाएका दूधको परीक्षण गर्दा मान्छेले खान नहुने रसायनिक पदार्थ पाइएको समाचारले भने चिन्ता बढाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा जाँचिएका ४२ मध्ये ४० थरीका दूधमा मानव स्वास्थ्यलाई हानि गर्ने रसायनिक पदार्थ मिसाइएको भेटिएको छ। दूधलाई पिउनयोग्य गुणस्तरमा राखी बिक्री गर्ने वातावरण बनाउन उद्यमीले विशेष ध्यान दिनु आवश्यक छ।

सरकारले समेत यस विषयमा चासो देखाएर उचित कदम चाल्नुपर्दछ। दूधलाई विषमुक्त बनाउनु राज्यको पहिलो कर्तव्य हो। साथै, देशको दूग्ध उद्योगको संरक्षण गर्नु पनि राज्यकै दायित्व हो। काठमाडौंबाहिरबाट दूध ढुवानी गर्दा बिग्रन नदिनका लागि अखाद्य रसायनिक मिसाइएको हो भने सरकारले त्यसको विकल्प खोज्न उद्यमीलाई सहयोग पनि गर्नुपर्छ। डेरी उद्योगले पनि सबैभन्दा पहिले कुनै पनि अवस्थामा दूधमा अखाद्य वस्तु नमिसाउने सुनिश्चित गर्नुपर्छ।
–विष्णु खकुरेल, पाल्पा।

प्रतिक्रिया दिनुहोस्