शैक्षिक विकासमा काङ्ग्रेसको महत्वपूर्ण योगदान छः डा. महत



काठमाडौँ ।
नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले नेपाली शिक्षा क्षेत्रको विकासमा काङ्ग्रेसको महत्वपूर्ण योगदान रहेको दावी गर्नुभएको छ ।

नेपाल विद्यार्थी सङ्घ पाल्पा–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘एसईई, प्लस टु उर्तिण विद्यार्थी तथा विशिष्ट व्यक्ति सम्मान’ कार्यक्रममा उहाँले शिक्षाको विकासमा काङ्ग्रेसले उल्लेख्य काम गरेको बताउनुभएको हो ।

“विस २०४६ मा नेपालमा साक्षरता प्रतिशत ४५ प्रतिशत थियो, अहिले ८५ प्रतिशत पुगेको थियो, पहिला मेडिकल कलेज एक÷दुईवटा थियो, अहिले १८÷२० वटा पुगेको छ,” उहाँले भन्नुभयो ।

डा महतले नेपालमा थुप्रै सम्भावना रहेको भन्दै जुन क्षेत्रमा आफू गएपनि उत्कृष्ट हुने गरेर अगाडि बढ्न विद्यार्थीलाई सुझाव दिनुभयो । काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले नेविसङ्घ सफल भए लोकतन्त्र सफल हुने भन्दै नेविसङ्घलाई बलियो बनाउन सम्पूर्ण विद्यार्थीहरु लाग्नुपर्ने बताउनुभयो ।

प्रा डा विष्णु खनालले नेपालमा पढाइ हुने जुनसुकै विषय उत्तिकै महत्वपूर्ण भएको भन्दै अरुको करकापमा भन्दापनि आफ्नो स्र्वच्छाले पढ्न आग्रह गर्नुभयो । नेविसङ्घ सम्पर्क समितिका अध्यक्ष सुरज पौडेल, काङ्ग्रेस पाल्पा–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष खिमानन्द बस्याल तथा काङ्ग्रेसका नेता हिमालदत्त श्रेष्ठलगायतले नेपालको शैक्षिक आन्दोलनको नेतृत्व नेविसङ्घले गर्नुपर्ने बेला आएको बताउनुभयो ।

कार्यक्रममा पाल्पा जिल्लाबाट २०७४ को एसईई परीक्षा तथा कक्षा १२ मा उर्तिण विद्यार्थीलाई सम्मान गर्नुका साथै सोही जिल्लामा जन्मेर विशिष्ट तहमा पुगेका व्यक्तिलाई सम्मान गरिएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्