प्युठानको खेलकुदमा न लगानी न पुर्वाधार



सलिम अन्सारी, प्युठान

कमजोर भौतिक पुर्वाधार र लगानीको अभावले प्युठानको खेलक्षेत्रले फड्को मार्न सकेको छैन। जिल्लामा कुनै ठूला खालका प्रतियोगिता नहुनु, नियमित प्रशिक्षण नहुनुले नयाँ खेलाडी उत्पादन हुने र खेल्ने अवसरबाट समेत वञ्चित हुनपरेको छ। जिल्लाको खेलकुद क्रिकेट र भलिबलमै सीमित छ।

सानो चौर, नेट र बल भए सजिलै खेल्न सकिने भलिबल प्युठानमा धेरै पहिलादेखि खेलिदै आएको छ।पछिल्लो केही वर्षयता क्रिकेटमा लहर बढे पनि भलिबलको लोकप्रियतामा कमि आएको छैन्।।स्रोतसाधनको अभावमा भलिबलले पनि फड्को मार्न सकेको छैन्।विद्यालय र क्लबहरूले आयोजना गर्ने प्रतियोगिताले जिल्लाको भलिबल धानेको छ। फुटबल, कराँते, कपर्डी, टेबल टेनिस, ब्याटमिन्टन एथ्लेटिक्सलगायतका खेल नहुँदा यी खेलका खेलाडी शून्य प्रायः छन्।

खेलकुद विकास समितिले पटक–पटक माग गरे पनि हालसम्म पूरा नहुँदा जिल्लाको खेल गतिविधि सुस्ताउँदै गएको छ। जिल्ला खेलकुद विकास समितिसँग प्रर्याप्त बजेट र गाउँसम्म लुकेका प्रतिभा खोज्न सक्ने स्थिति छैन्। लगानी अभावमा जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था नरहेका समितिका अध्यक्ष श्याम थापाले बताए।

जिल्लामा विभिन्न खेलका खेलाडी रहे पनि प्रशिक्षकको अभावमा उनीहरूको प्रतिभा तिखार्न नसकिएको उनी गुनासो गर्छन्। जिल्लामा खेलअनुसारका प्रशिक्षक नभएको स्वीकार्दै यसका लागि राखेपमा माग गरे पनि सुनुवाइ नभएको जानकारी दिए। खेलको विकास र त्यससँग सम्बन्धित पूर्वाधार निमार्णका लागि केन्द्रबाटै कम बजेट आउँछ थापाले भने अन्य गतिविधि सञ्चालन गर्न गाह्रो छ।

यसका लागि सरकारले नै पहल चाल्नुपर्ने थापा बताउँछन्। प्रतिभावान खेलाडी छनोट गर्न सके मात्रै लुकेका प्रतिभा बाहिर आउन सक्ने भलिबल खेलाडी बलबहादुर केसीले बताए। पुराना खेलाडीको सीप नयाँमा स्तान्तरण गर्न समेत कठिनाइ भएको उनले सुनाए। खेलाडीसँग भएको कला नयाँले सिक्ने अवसर पाएका छैनन्। ३ पटकसम्म राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका भलिबल खेलाडी केसीले भने ‘प्रर्याप्त अभ्यास गर्नसमेत खेल सामग्री र खेलमैदानको अभाव छ।’

प्रतिक्रिया दिनुहोस्