तरकारीमा रोकिएन बिचौलिया, टिस्टुङमा ५ रुपियाँ, काठमाडौं पुग्दा ५०



नेपाल समाचारपत्र
हेटौंडा
‘बुबाले (टिस्टुङ) मा ५ रुपियाँमा बेचेको खुर्सानी (काठमाडौं) मा छोराले ५० रुपियाँमा किन्नुपर्छ। ६० किलोमिटर दूरीमा सामान ल्याउँदा यत्रो मूल्य फरक हुनु नै लुट हो। अझ अनुगमन टोलीलाई थुनेर दादागिरी गर्छन्, बिचौलिया सबैलाई पक्रेर कोर्रा हान्नुपर्छ,’ हाल काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका मकवानपुर थाहा नगरका रामजी बलामीले सोमबार फेसबुकमा लेखे।

हुन पनि बेमौसमी तरकारीको ‘राजधानी’ का रुपमा परिचित उत्तरी मकवानपुरको थाहानगरका किसानले वर्षौंदेखि यस्तो पीडा भोग्दै आएका छन्। त्यहाँका किसानले पसिना बगाएर उत्पादन गरेका तरकारीको मूल्य नै पाएका छैनन्।तर, सोही ठाउँबाट केबल ६० किलोमिटर पर रहेको काठमाडौं पुग्दा भने तरकारीको मूल्य करिब १० गुणा बढिसकेको हुन्छ। सरकारले बजारको व्यवस्था नगरिदिँदा बिचौलियाको बिगबिगीले किसान परिवारले आफ्नो पसिनाको उचित मूल्य पाउन सकेका छैनन्। यद्यपि, मकवानपुरे परिश्रमी किसानले आफ्नो कर्म र धर्म छाडेका छैनन्।
हरिया डाँडाबीच भर्खर बाटो बनाउन खनिएका पाखा अनि, नजिकै खेतबारीमा भरिभराउ बन्दाकोभीलगायत तरकारी, थाहानगरको वडा–१० मा पर्ने सोसिनडोलमा पुग्दा यस्तै दृश्य देखिन्छन्। बाटो छेवैमा बन्दाकोभी थुपार्दै गरेका परिश्रमी किसान महिला। उनी अर्थात् लक्ष्मी श्रेष्ठ, उमेरले ५० कटेकी महिला, शिरमा रातो रुमाल, आङमा बोकेकी डोकोलाई केही बेर अड्याउँदै मुसुक्क हाँसिन्। उनी हाँस्दा उनले सारा दुःखलाई त्यही तरकारी अनि डोको÷नाम्लोसँग मितेरी गाँसेर भुलिसकेकी झैं देखिन्थिन्।

हो, उनी किसान हुनुमा खुशी थिइन् तर त्यस क्षेत्रका उनीजस्ता कयौं किसानको पिरमर्कामा सुन्नेको मन भने खुशी हुन सक्दैन। ‘बन्दा राम्रो लाग्यो, कति रुपियाँमा बेच्नुहुन्छ ?,’ उनले मुख बिगार्दै भनिन्–‘खासै पैसा छैन, ५ रुपियाँ किलो।’

उनको जवाफ सुन्ने अचम्ममा पर्छन्। हेटौंडा बजारमा ३० रुपियाँ किलोमा बन्दा किनिरहेकालाई यो कुरा स्वीकार्य भएन। तर, वास्तविकता त्यही थियो। थाहानगर हेटौंडाबाट करिब ७० किलोमिटरमात्र टाढा छ। खेतबारीमा मरिमरि जोतिने किसानलाई किलोको ५ रुपियाँ आउने अनि व्यापारीले उपभोक्तालाई ३० रुपियाँ किलोमा बेच्ने १ यसबाट परिश्रम गर्ने किसानलाई बिचौलियाले कति ठगेका छन् भन्ने प्रष्ट हुन्छ।

थाहानगर प्रमुख लवशेर विष्टका अनुसार केही वर्ष अगाडि किसानलाई मर्का परेको भन्दै तत्कालीन पालुङ गाविसमा सहकारीमार्फत् किसानले उत्पादन गरेको तरकारी संकलन केन्द्र खोलिएको थियो। तर, बिचौलिया र व्यापारी एक भएपछि त्यो कार्य सफल हुन सकेन। उनको भनाइबाट स्पष्ट हुन्छ कि तरकारीहरू बजारमा आएर उपभोक्ताको घरमा पुग्दासम्म बिचौलियाहरू कति सक्रियपूर्वक लागेका हुँदा रहेछन्।

बिचौलियामार्फत् थाहानगरका कयौं किसान सस्तो मूल्यमा तरकारी बेच्न बाध्य छन्। सरकारले ‘एक नगर, एक पहिचान’ को अवधारणाअनुसार विकास गर्ने लक्ष्य लिएको र कृषि पर्यटन नै मुख्य आकर्षण बनेको थाहा नगरमा त्यसको मुख्य आधारशीला बोक्ने किसान नै यति पीडित देखिए। आफ्नो पौरखको बन्दा ५ रुपियाँ किलोमा बेच्न बाध्य किसानको पिरमर्कालाई कसले सम्बोधन गर्ने ? यसको जवाफ किसानले कहिले पाउँछन्, त्यसको समय किटान गरेर कसैले भन्न सक्ने अवस्था छैन। किनकी, व्यापारमा बिचौलियाको भूमिका खेल्नेलाई जबसम्म किसानको पसिनाको मूल्यको बोध गराउन सकिन्न, तबसम्म बिचौलिया जन्मिरहन्छन् र किसान आफ्नो पसिना लुटाइरहन बाध्य हुन्छन्।

उक्त क्षेत्रमा कृषि उपजका वस्तुहरू उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तु उत्पादनमा वृद्धि गर्ने उद्धेश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा थाहानगर–३ मा व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यालय पनि स्थापना भएको छ।

थाहामा परियोजना कार्यान्वयन एकाई (तरकारी जोन) को रुपमा कार्यालय स्थापना भएको हो। कृषिका चार वटा संवाहक सुपर जोन, जोन, ब्लक र पकेटअन्तर्गत त्यहाँ जोन स्थापना भएको हो। यो मकवानपुरको पहिलो कृषि जोन हो।

जोनअन्तर्गत थाहानगर–१ देखि १० नम्बर वडा र इन्द्रसरोवर गाउँपालिकाको पाँच वटै वडा छन्। जोन स्थापनापछि कृषकले हाल अपनाइरहेको कृषि प्रविधिलाई आधुनिकीकरण गर्न थप मद्दत मिल्ने जनाइएको छ। कृषि पेशालाई थप व्यवस्थित गर्न कृषिमा यान्त्रिकीकरण, ट्रयाक्टर र पावरटेलर प्रविधि विकासका लागि औजारको अनुदान र सेवा सुविधाका लागि थप कल्याणकारी कृषि कार्यक्रम सञ्चालन गरिने जिल्ला कृषि विकास कार्यालयले बताएको छ।

तरकारी उत्पादनको उर्वर क्षेत्र मानिएको थाहानगर र इन्द्रसरोवरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा कृषिलाई आधुनिकीकरण गर्न खोजिएको हो। जोन परियोजना कार्यान्वयन एकाईमार्फत व्यावसायिक तरकारी उत्पादनलाई जोड दिनुका साथै कृषकको क्षमता अभिवृद्धिका कार्यक्रम, उन्नत खेती प्रविधि प्रदर्शनीलगायत कार्यक्रम सञ्चालन हुनेछ।

जोनमार्फत सञ्चालन हुने कार्यक्रम सीधै व्यक्तिमा पुग्दैनन्। जोन कार्यक्षेत्रमा रहेका क्रियाशील कृषक समूह, कृषि सहकारी, कृषि फर्ममार्फत् सेवा तथा अनुदान कृषकसमक्ष पुर्याउने प्रावधान छ। जोन स्थापनापछि किसानले अत्याधुनिक कृषिप्रविधि अपनाएर उत्पादनमा समेत वृद्धि गर्ने र उच्च गुणस्तरका तरकारी उत्पादन गरेर राम्रो मूल्य लिनसक्ने छन्। आर्थिक वर्ष २०७३÷७४ बाट शुरू परियोजना १० वर्षका लागि भएकाले जोन पनि सोहीअन्तर्गत कार्यक्रम भएको हो।

प्रतिक्रिया दिनुहोस्