रोजको ट्रेलरमा प्रदीपको हत्यारा रूप



विवादका कारण रोजीबाट नाम परिवर्तन गरी रोज नामकरण गरिएको फिल्मको बिहीबार राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ।

आगामी २२ गतेदेखि अल नेपाल रिलिज हुने फिल्मको २ मिनेटको ट्रेलरमा चकलेटी हिरो प्रदीप खड्कालाई प्रेमिकाको हत्याराको रूपमा देखाइको छ। ट्रेलरमा प्रदीपले आफूले माया गर्ने प्रेमीको हत्या नगरी उनलाई मुक्ति दिएको संवाद बोलेका छन्। कार्यक्रममा फिल्मका निर्देशक निरक पौडेलले हत्या गरिएकी रोजी महर्जनको परिवारको दबाबका कारण फिल्मको नाम रोजीबाट रोज राखिएको र उनको हत्याकाण्डसँग फिल्मको कुनै सम्बन्ध नरहेको बताए।

नायक प्रदीप खड्काले फिल्ममा प्रेमिकाको हत्याको सिन दिन कठिन भएको बताए। ‘प्रेमिकाको हत्या गर्ने प्रेमिको भूमिकामा डुब्न मलाई केही समय त लाग्यो। तर पछि भूमिकालाई मैले सार्थक तुल्याएको छु’, प्रेमी हिरोको रूपमा देखिँदै आएका प्रदीपले भने– ‘एउटा कलाकार भएपछि हरेक प्रकारको भूमिका निर्वाह गर्नुपर्छ। यसमा मैले स्टोरीको डिमान्डअनुसार काम गरेको छु र दर्शकले विगतको भन्दा केही फरक भूमिकामा देख्नुहुनेछ।’ अभिनेता कर्मा र अभिनेतृ मिरुना मगरले पनि फिल्ममा काम गर्दाको अनुभव सेयर गर्दै फिल्म उत्कृष्ट बनेको र आफूले आफ्नो भूमिकालाई न्याय दिएको बताए।

गोपिकृष्ण मुभिज र आरोही फिल्मस्को ब्यानरमा निकिता पौडेल र मणिकरण केसीद्वारा संयुक्तरूपमा निर्मित तथा उद्वव पौडेलद्वारा प्रस्तुत फिल्ममा प्रदीप खड्का, परमिता राज्यलक्ष्मी राणा, मिरुना मगर, कर्मालगायतका कलाकारले अभिनय गरेका छन्। फिल्मको लेखन केदार भुसाल, गीत राजेशकुमार श्रेष्ठ र दयाराम पाण्डे, संगीत अर्जुन पोखरेल र एलिष कार्की, कोरियोग्राफी कविराज गहतराज, छायांकन राजुविक्रम थापा र सम्पादन मित्र डी गुरुङको रहेको छ।

प्रतिक्रिया दिनुहोस्