संस्कृति–इतिहास विज्ञ चुन्दा वज्राचार्य



मोहन दुवाल,
चुन्दादेवी वज्राचार्य अर्थात् हालकी डा. चुन्दा वज्राचार्य। संस्कृति, इतिहास खोज्दै आफ्नो जीवन्तता अन्वेषणमा प्रयोग गरिरहन सफल अन्वेषिका। नेपालभाषा साहित्यका एक सफल समालोचक। प्राध्यापन सेवामा जीवनका क्षणहरू गुजार्न सफल एक कर्मठ प्राध्यापिका। वि.सं. २०३९ सालदेखि निवृत्त नभएसम्म क्याम्पसमा सेवारत रहँदै आएकी यिनी हाल संस्कृति, इतिहासको लेखनमा, नेपालभाषाको उत्थानमा सक्रिय छन्। यिनी नेपालभाषा विषयमा मातृभाषाको माध्यमबाट प्रवेशिकादेखि विद्यावारिधिसम्म उत्तीर्ण गर्ने प्रथम व्यक्तिसमेत हुन्। नेपालमा नेवार भाषा र संस्कृतिमा विज्ञता हासिल गर्न सफल विद्वान्का रूपमा पनि यिनी परिचित छन्।

पिता वेदानन्द र माता ज्वालादेवी वज्राचार्यकी सुपुत्री चुन्दाको जन्म वि.सं. २०१० माघ १० गते भीमाष्टमीका दिन मरु ख्यःक्यब, काठमाडौंमा भएको हो। बौद्धधर्मका अनुयायी परिवारमा जन्मेकी यिनले २०४९ सालमा नेपालभाषा आधुनिक नाटकको प्रवृत्ति र प्रवाहमा विद्यावारिधि गरिन्। नेपालको संविधानअन्तर्गत कानुनहरू बनिरहेका छैनन् भनी वि.सं. २०५० तिर सर्वोच्चमा मुद्दा दायर गरेकी यिनले कुमारी परम्पराको प्रतिरक्षाका लागि २०६२ चैत्र २० र २१ गते विभिन्न संघ क्षेत्रका महिलाहरूको नेतृत्व गरी पुनः एउटा नयाँ विषयमा सर्वोच्चमा मुद्दा हालिन्। यस खालको अभियानमा लागेर नै यिनले आफूलाई जीवनमा परिमार्जित तुल्याउँदै लगिन्। नेपालभाषा मिसा खलः र राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको संस्थापक रही सेवा पुर्याइसकेकी यिनले नेवाः दे दबू, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको सल्लाहकार पनि भएर आफूलाई समर्पित तुल्याएको देखिन्छ। नेवाः मिसा सहकारी, राष्ट्रिय आदिवासी जनजाति महासंघको अध्यक्ष भई सेवा पुर्याइसकेकी यिनी शान्ति निकुञ्ज मावि भूपू विद्यार्थी संघ, भिन्तुना सहकारीमा पनि उपाध्यक्ष भई सेवा गरेकी छन्।

नेपालभाषा मिसा खलःकी महासचिव, युगकवि सिद्धिचरण प्रतिष्ठानको सचिव भई सेवा गरिसकेकी यिनी जगतसुन्दर व्वनेकुथीको संस्थापक कोषाध्यक्ष हुनाका साथै नेपाल इन्डिजिनियस ओमन नेटवर्क, साउथ एसिया इन्डिजिनियस ओमन्स फोरम, साउथ एसिया फोरम फर ह्युमन राइट्स, नेपालभाषा अकादेमी, नेपाल विश्वविद्यालय महिला संघको संस्थापक सदस्य पनि हुन्। वि.सं. २०६३ मा गठित बृहत् राष्ट्रिय लोक गणतन्त्र मोर्चाको अध्यक्षमण्डलको सदस्य भई कार्यरत रहेकी यिनी धर्मोदय सभामा पनि संलग्न रही सेवा पुर्याइसकेकी व्यक्तित्व हुन्। विभूषण समितिको सदस्यसमेत भइसकेकी यिनी बहुभाषा शिक्षा निर्देशन समिति, प्रतिभा समाजको सदस्य पनि हुन्। थुप्रै खालका संघसंस्थामा संलग्न रही जीवनलाई कुदाइरहेकी यिनी अन्वेषणका गाह्रो विषय र क्षेत्रहरूलाई आफ्नो विषय ठानेर सधैँ अन्वेषणमा लागिरहन रुचाइरहने प्रतिभा हुन्। दाजु उदयानन्द वज्राचार्यको प्रेरणाले साहित्य लेखनमा लागेकी यिनी आर्थर मिलर, इब्सेन, सिमोन र बोउचरका रचनाहरू पढेर आफूलाई सक्षम तुल्याउँदै आएको बताउँछिन्। यिनले विजय मल्ल, नारायणदेवी श्रेष्ठ, ईश्वरानन्द श्रेष्ठाचार्य र डा. मणिकलाल श्रेष्ठलाई मन परेका नेपालभाषाका साहित्यकारहरूको रूपमा उल्लेख गर्न रुचाउँछिन्।

‘कुनै पनि समाजले महिलाहरूको सम्मान गर्नुपर्छ। महिलाहरूको सम्मान हुने समाज र देश उँभो लाग्छ।’ यस्तै चिन्तनमा व्याप्त रहेर जीवनपथमा क्रियाशील यिनी आफ्नो नेवार समुदायले पनि महिलाहरूको सम्मान गर्ने सोचमा विकास गरोस् भनी विचार सम्प्रेषण गर्छिन्। यिनले जे–जति गर्दै र लेख्दै गरिन्, यसमा सन्तोष राखेर यात्रामा लागिरहन सक्नु नै यिनले देखाइरहेको महानता हो।

दर्जनौं बढी साहित्यिक, शैक्षिक, भाषिक, जातीय, सामाजिक समिति, खलः, गुठी, परिषद्, आयोगमा सदस्य रही सेवा पुर्याउँदै आएकी यिनी लोकतान्त्रिक नेवाः मिसा संघर्ष समितिलगायत दर्जनौं आदिवासी, नेपालभाषी, महिलावादी संघसंस्था, समितिको संयोजक भई सेवा पुर्याइसकेकी सक्रिय चेतनशील महिला हुन्। मध्यकालीन अभिलेख योजना सम्पादित एवं सङ्कलित गर्न इतिहासकार धनवज्र वज्राचार्यको देहान्तपछि सहायक अनुसन्धानकर्ता रही सहयोग पुर्याउँदै आएकी यिनी प्राचीन नेपालभाषा शब्दकोष निर्माण, च्वसापासा टोयोटा फाउन्डेसनअन्तर्गत रही सहायक सङ्कलक भई पनि कार्य गरेको देखिन्छ। अध्यापन, अन्वेषण, इतिहास र साहित्यिक समीक्षा लेखनमा सधैँ सक्रिय यिनले आफ्नो जीवनको अधिकांश समय भाषा, साहित्यको उत्थान, संस्कृति र इतिहासको लेखन र अन्वेषणमा बिताइरहको पाइन्छ।

धेरै खालको अनुभवले चुन्दालाई सक्रिय महिलाका रूपमा मात्र चिनाएन, यिनको जाँगर र साहसलाई सक्षम पुरुषभन्दा कमजोर देखाएन। यस अर्थमा, चुन्दाको आफ्नो छवि इतिहासमा जीवन्त रहने खालका छन्। आदिवासी महिलाको स्थितिअन्तर्गत गोपाली, तामाङ, दनुवार जातिको अनुसन्धान अनुभव सँगालेकी यिनले राष्ट्रिय इतिहास निर्माण योजनाअन्तर्गत मध्यकालीन ऐतिहासिक सामग्री संकलन, सम्पादन, अनुवाद गर्नुका साथै व्याख्यासमेत गरेर आफ्नो जाँगर देखाइदिएकै हुन्।

मध्यकालीन अभिलेख इतिहास, नेवार जाति र तिनीहरूको संस्कृति, प्राचीन नेपालभाषा शब्दकोष निर्माण, आधुनिक नेपालभाषा शब्दकोष निर्माणका साथै धलःपौमा विशेष अनुसन्धान गरेकी छिन्। हाल यिनी आदिवासी महिलाको स्थिति, नेवार संस्कार र चाडपर्वको अनुसन्धानमा संलग्न छन्। मध्यकालीन ऐतिहासिक सामग्री धलःपौलाई विशेषरूपमा अध्ययन गर्ने पहिलो व्यक्ति। नेपालभाषा अध्ययनमा विशिष्टता कायम गर्न सफल एक भाषा अध्येता। प्राध्यापन पेसामा संलग्न रहेर पनि विशिष्ट अनुसन्धान प्रतिवेदन बुझाउन सफल अन्वेषक। नेपाल लिपिलाई देवनागरी लिपिमा, प्राचीन नेपालभाषालाई नेपालीमा अनुवाद गर्दै आएकी एक अनुवादक। सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक तथा आर्थिक पक्षमा महिलाहरूको स्थिति के–कस्तो छ, त्यसको विश्लेषक। यस खालका थुप्रै विशेषणहरू जोडेर मूल्याङ्कन गर्न सकिने व्यक्तित्व बनेकी छन् डा. चुन्दा। यिनको ऐतिहासिक पदचापहरूलाई पछ्याउँदै केदारनाथ प्रधान स्मृति प्रतिष्ठान, बनेपाबाट यिनी सम्मानित भएकी छिन्।

थुप्रै राष्ट्रिय, अन्तर्राष्ट्रिय गोष्ठीहरूमा गहन तथा ठोस अनुसन्धानका कार्यपत्र प्रस्तुत गर्दै आएकी यिनी थुप्रै गोष्ठीका टिप्पणीकार भई आफ्नो तिखो प्रतिक्रिया पनि दिन भ्याएकी छिन्। यिनले गोष्ठीमा प्रस्तुत गरेका उल्लेखयोग्य कार्यपत्रहरू जो पुस्तक–पुस्तिकामा पनि प्रकाशित छन्। ती हुन्– ओमन इन नेवार्स कल्चर, इन्डिजिनियस ओमन अफ नेपाल एट प्रिजेन्ट गभर्मेन्ट, इन्डिजिनियस ओम इन नेपाल, नेवार्स ओमल, नेपालभाषा, उपन्यासमा निगूगु दशक, सांस्कृतिक विविधतामा नेवार संस्कृति, आदिवासी जनजाति महिला महासंघको संगठन, विकास, मध्यकालीन गद्य साहित्य, नेवार संस्कार, नेवारहरूले मनाउँदै आएको चाडपर्व, धार्मिक र सांस्कृतिक दृष्टिकोणमा नेपालका आदिवासी महिलाहरू, नेपालभाषा नाटक साहित्यको इतिहास, नेपालभाषाको आधुनिक नाटकमा नारी समस्या, नेपालभाषाको नाटक विधामा एक दृष्टि, नेपालभाषा म्हिगः व थौं, नेपालभाषाया नाटकय् बौद्ध संस्कृति, नेवाः संस्कृतिइ कुमारी, नेपालभाषाको प्राचीन रङ्गमञ्च, राज्यको पुनःसंरचनामा महिला आदि छन्।

यसरी थुप्रै सिर्जनात्मक, अनुसन्धात्मक कार्यहरूमा लागेर पनि भाषा आन्दोलनमा महिलाहरूको हक अधिकारको आन्दोलनमा पनि यिनले आफूलाई समर्पित तुल्याएको देखिन्छ। वि.सं. २०४६ मा नेपालभाषा मंका खलःको सदस्य भएर भाषिक आन्दोलनमा लागेकी यिनी २०४६ सालमा नेपालभाषा मिसा खलः स्थापना गरेर महिलाहरूको अधिकारका लागि भाषा, धर्म, महिलाको अधिकारलाई लिएर २०६२ मा लोकतान्त्रिक नेवाः मिसा संघर्ष समिति बनाएर जातीय, क्षेत्रीय, भाषिक आधारमा आत्मनिर्णय र अग्राधिकारसहित लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानमा सक्रिय सहभागी भई सेवा पुर्याउँदै छिन्। हाल यिनी राज्यको पुनःसंरचना, संविधानसभा र महिला विषयमा पाँच विकास क्षेत्रमा नै पुगेर राष्ट्रिय स्तरमा प्रशिक्षक रहेर पनि सेवा पुर्याइसकेकी व्यक्तित्व हुन्।

डा. चुन्दा वज्राचार्य बौद्धिक व्यक्तित्व हुन्। यिनका हालसम्म प्रकाशित पुस्तकहरूमा १. थक्वाः देःया आदिनारायण, २. नेवा तजिलजि च्वँखमुना, ३. नेवाः तजिलजिइ नखः च्वखः, ४. नेपालभाषाया आधुनिक नाटकय् मिसा समस्या, ५. भिक्षु सुदर्शनया नाटक विधा, ६. जितामित्र मल्लकालीन धलःपौ, ७. रणजीत मल्लया भम्चा काःवंगु धलःपौ, ८. मोतिलक्ष्मीया जीवनी– छपुलु, ९. मध्यकालीन छुं घटनावली, १०. मल्लकालीन छुं संस्कृति ११. नेवाः संस्कृतिका चाडपर्व, १२. समालोचनात्मक च्वखँ मुनाः १३. नेपाल भाषाया नाट्य साहित्यया इतिहास, १४. नेपाल मण्डल व नेवाः, १५. नेपालभाषाका पूर्णाङ्की नाटकको विवेचना आदि छन्। पत्रिका सम्पादनमा नेवाः मिसा, पौभा, हयाउँबाला, थायभु आदि छन्। अध्ययन गरिरहने, लेखिरहने, व्याख्या गरिरहने, संघ–संगठनमा धाइरहने, निरन्तर बौद्धिक कार्यमा रमाइरहने डा. चुन्दाले लेखन, अध्ययन, प्राध्यापन, व्याख्यान प्रवचनलाई नै आफ्नो जीवनसँगी बनाएर जीवनपथमा यात्रा गरिरहेकी छिन्। यिनको उच्च खालका रचनात्मक यात्रालाई म धन्य भनिरहेछु।

प्रतिक्रिया दिनुहोस्