व्यवहारमा देखिएन गरिबका लागि नागरिकको अधिकार



भगवती तिमल्सिना ।
विवाहित महिला गर्भवती हुनु र स्वस्थ बच्चा जन्माउनु नेपालको संविधान–२०७२ मा नैसर्गिक अधिकारका रूपमा स्थापित गरिएको छ। तर नेपाल गरिबी र अभावमा गुज्रिएको आर्थिक दृष्टिकोणले कमजोर मुलुक हो। यस्तो अवस्थामा संविधान र कानुनले ती गरिब महिला जो गर्भवती छन् उनका लागि सकुशल स्वस्थ बच्चा जन्माउने वातावरण कुन अस्पताल तथा स्वास्थ्य संस्थामा तय गरिएको छ ?

महिला गर्भवती बनेदेखि बच्चा जन्माउने बेलासम्म पटक–पटक मरेर ठूला–ठूला चुनौती पार गर्दै संघर्ष गर्छन्। यस्तो अवस्थामा राज्यले विशेष व्यवस्था गर्नुपर्छ भने घरपरिवार, आफन्त, समाज, छरछिमेकीले समेत उत्तिकै सहयोग र सद्भाव देखाउनुपर्छ।

कानुनी भाषामा जेसुकै लेखिएको भए तापनि व्यवहारमा लागू हुन सकेको छैन भन्ने कुरालाई बेथानचोक गाउँपालिका वडा नं ६ की १८ वर्षीया सुमित्रा विकको घटनाले छर्लंग पार्दछ। सुमित्रा विक बहुविवाहको केसमा जेठीको उजुरी अनुसार २०७५ साल असार ९ गते धुनामा परिन्। उनी कानुनी कारबाहीको भागीदार बनिन् र काभ्रेको धुलिखेलमा रहेको जेलमा थुनामा परिन्। उनी गर्भवती भएको र बच्चा जन्मने बेला भइसकेकाले उनका श्रीमान् कुमार थिङको आग्रहमा सुमित्रालाई २०७५ साल श्रावण २५ गते तारिखमा छोडियो।

उनका श्रीमान् कुमार थिङ जेलमै छन्। सुमित्रा बिहीबार तारिख तोकिएकाले जिल्ला अदालत धुलिखेलमा हाजिर हुन आउँदा उनलाई बाटोदेखि नै प्रसव बेथाले च्याप्यो। उनी सकी नसकी अदालत पुगेर हाजिर गरी सरासर काठामाडौं विश्वविद्यालय शिक्षण अस्पताल तथा सामुदायिक अस्पताल धुलिखेलको प्रसूति वार्डको आकस्मिक कक्षमा पिता र सहयोगी रेशम विकका साथ पुगिन्।

रेशम विक भन्छन्– ‘सुमित्रा २ दिन लगातार हिँडेर यही भाद्र ७ गतेको तारिख भ्याउन धुलिखेल आउँदा गाह्रो भएको रहेछ। उहाँका बुबाले धुलिखेल अस्पताल ल्याउनुभएको रहेछ, म पनि बच्चा बिरामी भएकाले धुलिखेल अस्पतालमै थिएँ। उहाँहरूले मलाई भेट्नुभयो। मानवीयताको नाताले मैलै धुलिखेल अस्पतालको प्रसूति वार्डको आकस्मिक कक्षसम्म पुर्याउन सहयोग गरें।’

‘अस्पतालमा नर्सले सुमित्राको परिचय लिनुभयो। मैले उहाँको श्रीमान् कुमार थिङ बहुविवाहको केसमा जेलमा रहनुभएको र उनी धरौटीमा छुटेको बताएँ। नर्सहरूले आफूभन्दा सिनियरलाई खबर गरे। सिनियर नर्स आएर सुमित्रालाई भर्ना गर्नुपर्छ, बच्चा सजिलै जन्मिएन भने अप्रेसन गर्नुपर्ने पनि हुन सक्छ, रगत चाहिन्छ, आईसीयू पनि चाहिन सक्छ भन्नुभयो’, उनले भने– ‘नर्सको सल्लाहअनुसार सुमित्राका बुबाले छोरीलाई भर्ना गर्ने भन्नुभयो। १ जना चिकित्सक आएर तपाईंको पुलिस केस रहेछ थापाथली लैजानुस् हामी यहाँ हेर्दैनौं भन्नुभयो। हामीसँग साधन पनि छैन, पैसा पनि छैन सुमित्राको ज्यान बचाउन पाए पैसा त हामी पछि ल्याएर तिरौंला, भोलिसम्म म पैसा जुटाउँछु भनेर सुमित्राका बुबाले भन्नुभयो। चिकित्सकले भर्नाको लागि डिपोजिट राख्नुपर्छ भन्नुभयो।’

उनी भन्दै थिए –‘साथमा पैसा नभएका कारण हामी निराश भएर बाहिरियौं। अन्त्यमा मेरो धुलिखेलमा रहेको कोठामा ल्याएर राख्ने र पैसाको बन्दोबस्त गरेर थापाथली लैजाने भनेर बाहिरियौं। पुनः चिकित्सकले बोलाएर २ वटा घर खुलिसकेको छ, बच्चाको धड्कन राम्रै छ डिपोजिट राख्नुस् भर्ना हुन्छ भन्नुभयो। हाम्रो साथमा जम्म १ हजार रुपियाँ मात्र थियो। त्यतिले हुन्न थापाथली नै लैजानोस् त्यहाँ भए निःशुल्क हुन्छ भन्नुभयो।’

‘सहयोगी रेशमका अनुसार सुमित्राको बुबा पैसा खोज्न भकुण्डेतर्फ लाग्नुभयो। सुमित्रालाई कोठामा ल्याएर राख्यौं। रातभरि पनि उनलाई प्रसव बेथाले च्यापिरहयो। उनका बुबा आइपुग्नुभएन। बिहान भएपछि निकै गाह्रो भयो। पैसा नभएका कारण अस्पताल लैजान सकेनौं’, विकले भने– ‘अन्त्यमा शुक्रबार बिहान १० बजेदेखि छरछिमेकका आमा विष्णुमाया कार्की, दिदीहरू शर्मिला तामाङ, संगीता साहु, अमृता महतो, इन्दिरा कार्कीलगायतको सहयोग र अथक प्रयासमा दिनको १ बजे नवजात शिशुको घरमै जन्म भयो। बच्चा घ्यार–घ्यार गरिरहेको छ, दूध चुसेको छैन र आमाको दूध पनि आएको छैन। यस्तो अवस्थामा हामी जस्ता गरिबका लागि लोकतन्त्र, सरकारको फोस्रो नारा संविधानमा उल्लेख गरिएको स्वास्थ्य सेवा आम जनताको नैसर्गिक अधिकार भन्ने लेखाइले केही गर्दो रहेनछ। म आफ्नो बिरामी बच्चालाई अस्पतालमा छोडेर यता सुमित्राको समस्याको स्याहारमा जुटेको छु।’

रेशम ज्यामी काम गरेर आफ्नो परिवार पाल्दै आएका एक मनकारी व्यक्ति हुन्। उनकै सहयोगमा आज सुमित्राको बच्चा त जन्मियो। आर्थिक अवस्थाका कारण उनको पोषण र बच्चाको रेखदेख गर्न सक्ने परिवारको अवस्था छैन। सुमित्राका श्रीमान् पनि जेलमा छन्। यो अवस्थामा विष्णुमाया कार्कीलगायतका छिमेकी उनको सहयोगका लागि दाल, चामल, नुन, तेल जुटाउन तल्लीन भएका छन्। विष्णुमायाले सुमित्रालाई देख्दा अत्यन्तै दयनीय अवस्था भएकाले आफूले आमा र बच्चाका लागि न्यानो कपडा, खाद्यान्न उपलब्ध गराएको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ– ‘बच्चा जन्मिए पनि आमाको दूध पनि चुसेको छैन र श्वास फेराइ पनि अत्यन्तै गाह्रो देखिएको छ। आमाको उमेर नै पुगेको छैन। आफ्नै घरछेउमा देखे माया लाग्छ, सरकारले पनि वास्ता नगरेको सुन्दा दिक्क लाग्छ। नियम कानुन जे भए पनि पहिला त मान्छे बचाउनुपर्ने हो। हुनेका लागि मात्र सबैथोक हुँदोरहेछ, गरिबका लागि दुःखै दुःख।’

स्वास्थ्य नीतिमा हेर्ने हो भने नवजात शिशुलाई न्यानो बनाएर राख्ने, बच्चा जन्मँदा २ किलो ५ सय ग्रामभन्दा कम तौलको छ भने मायाको अँगालोमा राख्नुपर्छ। शिशु जन्मेको २४ घन्टाभित्र दिसा गरिसकेको हुनुपर्दछ। ४८ देखि ७२ घन्टाभित्र पिसाब फेरेको हुनुपर्छ। नगरेमा जन्मजात गुदद्वार बन्द भएको पनि हुन सक्छ, अर्थात् बच्चालाई कुनै समस्या भएको या खुवाएको दूध कम भएको हुनसक्छ। यसका लागि बालरोग विशेषज्ञको परामर्श लिनुपर्छ। शिशु जन्मेको २ देखि ४ दिनमा सामान्य पहेंलो देखिए पनि आमाले चिल्लो, बेसार जस्ता खानेकुरा बार्नुपर्दैन बरू चिकित्सकको सल्लाह लिनुपर्छ भनिएको छ। नेपालका लागि सुमित्रा एक प्रतिनिधि पात्र मात्र हुन्। उनले कसरी लिने चिकित्सकको सेवा ?

नवजात शिशु जन्मनेबित्तिकै सरसफाइ, नाभीको स्याहार, न्यानो बनाउने, मनतातो पानीले पुछिदिने, दिसा तातोपानीमा भिजाएको नरम कपडाले पुछ्ने, जन्मेको २४ घन्टापछि नुहाएर सफा कपडा लगाउने कुरा सुमित्राका लागि कति सम्भव होला ?

रेशम भन्छन्– ‘स्वास्थ्य विज्ञानमा उल्लेख गरिएअनुसार सुत्केरी गराउने कोठालाई २५ डिग्रीदेखि २८ डिग्री सेन्टिग्रेड तापक्रम कायम हुने गरी न्यानो राख्नुपर्ने कुरालाई नेपालका कति सुमित्राको हकमा लागू होला ? यतिमात्र नभई हस्पिटलबाट डिस्चार्ज भएकोे ७२ घन्टापछि र १ हप्तापछि पुनः बच्चालाई डाक्टरलाई देखाउने कुरा?, सुमित्रा प्रसव बेथामा छट्पटाइरहँदा एउटा पातलो म्याक्सीमा थिइन् र उनको शरीर पूरै चिसो हिउँजस्तै भएको थियो। छिमेकी आमा, दिदीहरूले आफ्नै कपडा लगाइदिने, दूध, घिउ, तताएर खान दिने, तेल तताएर लगाइदिने, आसनलाई सहज बनाउनेजस्ता सहयोग जुटाएकै कारण उनको जिउ छुट्टियो, नत्र के हुन्थ्यो ?’

प्रतिक्रिया दिनुहोस्