टोरोन्टोमा चम्केका युवा सितसिपास



टोरन्टो, (एजेन्सी)
स्टीफानोस सितसिपास ग्रीसका नम्बर एक टेनिस खेलाडी हुन् । २० वर्षीय सितसिपास वर्तमान एटीपी टप–१०० भित्रका तेस्रो सबैभन्दा युवा र ग्रीसका एकमात्र खेलाडी हुन् । उनी ओपन एरामा ग्रीसको सबैभन्दा सफल पुरुष टेनिस खेलाडी बनेको छ । उनी एटीपी वरियताको २७ औं स्थानमा छन् । उनी ग्रीस टेनिस इतिहासको मात्र दोस्रो खेलाडी हुन, जसले टप–१०० भित्र स्थान बनाउन सफल भएका छन् ।

सन् २०१७ मा उनले फ्रेन्च ओपनमार्फत् ग्रान्डस्लाममा डेब्यू गरेका थिए । पछिल्लो १२ वर्षमा एकै टूर्नामेन्टमा उत्कृष्ट १० वरियताभित्रका तीन खेलाडीहरुलाई हराउनेमध्ये सबैभन्दा युवा खेलाडी बनेका छन् । सितसिपासले टप–१० भित्रका डोमिनिक थिएम, जोकोभिच, ज्वेरेभलाई हराउदै टोरोन्टो मास्टर्सअन्तर्गत सोमबार फाइनलमा स्पेनका राफेल नाडालसँग भेट पक्का गरेका थिए । तर सितसिपासले विश्वका नम्बर १ टेनिस खेलाडी स्पेनका राफेल नाडाललाई भने माथ दिन सकेन । एक घन्टा ४३ मिनेट चलेको फाइनलमा उनी नाडालसंग ६–२, ७–६ ले पराजित भएका थिए ।

उनले नाडाललाई पहिलो सेटको पहिलो गेममा पछि पारेका थिए । तर पछि नाडालले सानदार कमब्याक गर्दै पाँच गेम जित्दै सेट जितेपछि सितसिपास इतिहास रच्नबाट चुकेका थिए ।

पिता टेनिस कोच
सितसिपास १२ अगस्त १९९८ मा जन्मेका हुन् । अर्थात् उनी गत आइतबार मात्र २० वर्ष भएका हुन् । उनका पिता एपोसतोलोस ग्रीसका र आमा यूलिया सेलिनकोभा रूसी मूलकी हुन् । सितसिपासका पिता टेनिस कोच र आमा ब्यवसायिक टेनिस खिलाडी थिए । यस्तै उनका बाजे सर्जिय सेलनिकोभले तत्कालिन सोभियत यूनियनबाट फुटबल समेत खेलेका थिए ।

सितसिपासले तीन वर्षको उमेरमा पितासँग टेनिसको प्रशिक्षण लिन सुरु गरेका थिए । सितसिपासले १५ वर्षको उमेरमा जूनियर करिअर शुरू गरेका हुन् । त्यसको एक वर्षपछि नै उनी जूनियर टेनिसको प्रतिष्ठित ओरेन्ज बल टूर्नामेन्टको फाइनलमा पुगेका थिए ।

प्रशिक्षण लिन ग्रीस छोडे
सन् २०१५ मा उनले फ्रान्सको मोराटोगलू टेनिस एकेडेमीमा प्रशिक्षण लिनका लागि ग्रीस छोडेका थिए । यो उनको करिअरको टर्निंग प्वाइन्ट साबित बन्यो । त्यसको १ वर्षपछि नै उनी जूनियर वल्र्ड नम्बर–१ बने । सन् २०१७ मा उनले विम्बल्डनको मुख्य ड्र मा पनि स्थान बनाउन सफल भए । अनि नेक्स्ट जेन एटीपी फाइनल्सका लागि पनि उनी छनोट भए ।

अप्रिल २०१८ मा उनी बार्सिलोना ओपनको फाइनलमा पुगेका थिए । अहिले उनले टोरन्टो मास्टर्सको फाइनलसम्म स्थान पक्का गर्दा टप–१० वरियताभित्रका तीन खेलाडीहरुलाई माथ दिएको थियो । यो बाहेक उनको नाममा अन्य उपलब्धिहरु पनि रहेको छ । उनले सन् २०१६ मा विम्बल्डन जूनियर पुरुष डबल्सको उपाधि पनि जितेका थिए । त्यतिबेला कुनै पनि डिभिजनमा ग्रान्डस्लाम जित्ने उनी ५३ वर्षपछि ग्रीसका पहिलो खेलाडी बन्न सफल भए ।

“टेनिसले सबै दिएको छ“– सितसिपास
सितसिपास फुटबल, टेबल टेनिस, बास्केटबल र भिडियो गेम्स खेल्न रुचाउंछन् । उनी विश्व घुम्न, विविध रितिरिवाज हेर्न, नयाँ मान्छेसंग भेट्न, नयाँ–नयाँ कुराहरु सिक्न मन पराउन्छन् । सितसिपासले भने,–’टेनिसले मलाई त्यो सबै कुरा दिएको छ जुन मलाई मनपर्छ । यदि म खेलसँग नजोडिएको भए, यो सबै पाउँदैनथ्यो । म कुनै विधालयमा हुन्थे होला । म यसको लागि खेललाई धन्यबाद दिन चाहन्छु ।’

८० उपाधि जित्ने नाडाल
संसारको नम्बर एक टेनिस खेलाडी राफेल नाडाल टोरन्टो मास्टर्सको च्याम्पियन बने । स्पेनका नाडालले ग्रीसका स्टीफानोस सितसिपासलाई ६–२, ७–६ ले हराएका थिए । नाडालले सितसिपासलाई उनको २०औं जन्मदिनमा हराएका थिए । यो उनको करिअरको ८०औं उपाधि हो । उनी ओपन एरामा सर्वाधिक उपाधि जित्ने खेलाडीमध्ये शीर्ष ४ भित्र परेका छन् । उनीभन्दा अगाडी अमेरिकाका जिमी कोनर्स (१०९), स्विट्जरल्यान्डका रोजर फेडेरर (९८) र चेक रिपब्लिक–अमेरिकाका इभान लेन्डल (९४) छन् ।

टप सीड नाडालले चौथो पटक यस टूर्नामेन्टको उपाधि जितेको हो । यसअघि, उनले २००५, २००८ र २०१३ मा यो उपाधि जितिसकेका छन् । ३२ वर्षीय नाडालले सितसिपासलाई १ घन्टा ४५ मिनेटमा हराएका थिए । नाडालले यस सिजनमा पांचवटा उपाधि जितिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्