रातमा ट्रिपरको लर्को, ध्वनी प्रदुषण चर्को



 

-मोतीराम तिमल्सिना

काठमाडौं उपत्यकामा राति ८ बजेपछि मात्रै ट्रिपर चलाउने निर्णय भएसँगै सडक दुर्घटना केही कम भएपनि अन्य प्रकारका समस्या निम्तिन थालेका छन् । उपत्यका प्रवेश गर्ने विभिन्न नाकाबाट एकै पटक ५ हजार भन्दा धेरै ट्रिपरहरु राजधानी भित्रँदा रात्रीकालिन जनजिवन समेत प्रभावित बन्न थालेको छ ।

केही दिन अघि भक्तपुरको मध्यपुर ठिमीमा साती साढे ११ बजे आसपासको समयमा ट्रिपरबाट ढुंगा झार्दै गर्दा बा २ ख ३०३७ नम्वरका ट्रिपर चालक श्याम तामाङलाई स्थानीयले हातपात गरे । मध्यरातमा ढुंगा झारेर निद्रा विगारेको भन्दै उनी माथि हातपात भएको थियो । तामाङले प्रहरीमा उजुरी दिएनन् । अन्यत्र पनि त्यस्ता उदाहरण दोहोरिन थालेका छन् । रातभर बाक्लो संख्यामा ट्रिपर गुड्न थालेपछि मूल सडक आसपासमा स्थानीय ध्वनी प्रदुषणले निन्द्रा विच्काउने गरेको बताउँछन् ।

बनेपाका स्थानीय मोहन जस्पाउ ट्रिपरका कारण घर सर्नु पर्ने अवस्था आएको बताउँदै भन्छन्–‘ट्रिपर चल्न थालेपछि बाटोमा सर्वसाधारणलाई बाटो काट्न समेत समस्या हुन्छ, अरु सवारी समेत गुडाउन गाह्रो छ ।’ उपत्यकामा साँगा, थानकोट, बालाजु बाईपास, सातदोबाटो, बल्खु, चाँपागाउँ, सुन्दरीजल, साँखु, भक्तपुर लगायतका क्षेत्रबाट राती ८ बजेपछि बाक्लो संख्यामा ट्रिपर भित्रिन्छन् । काभ्रेबाट मात्रै एकै सात ८ सयका हाराहारीमा ट्रिपर राजधानी प्रवेश गर्ने ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख निशेष चापागाईले बताए ।

केही दिन अघि भक्तपुरको मध्यपुर ठिमीमा साती साढे ११ बजे आसपासको समयमा ट्रिपरबाट ढुंगा झार्दै गर्दा बा २ ख ३०३७ नम्वरका ट्रिपर चालक श्याम तामाङलाई स्थानीयले हातपात गरे । मध्यरातमा ढुंगा झारेर निद्रा विगारेको भन्दै उनी माथि हातपात भएको थियो ।

काठमाडौं पुगेर सामान अनलोड गरेर फर्किने मालवहाक सवारी बाक्लै संख्यामा बाहिरिने गरेका उनले जानकारी दिए । रात्रीकालिन डिउटीले मालवहाक सवारी चालकका घर परिवारमा पारिवारिक विखण्डन समेत ल्याउन सक्ने चापागाँईको तर्क छ । दिनभर सामान खोज्न र लोड अनलोडमा जुट्नुपर्ने, अनि राती मात्रै काठमाडौं जान मिल्ने भएपछि घरपरिवारसँगको सामिप्यता समेत गुम्न सक्ने चालकहरु गुनासो गर्छन् । ‘हाम्रो समस्या काठमाडौंका ३ वटै प्रशासन कार्यालयलाई जानकारी गराएका छौ तर सुनुवाई भएको छैन’–काठमाडौं काभ्रे रुटमा ट्रिपर चलाउँदै आएका र हाल भक्तपुर बस्ने एक चालकले भने ।

सडक र अन्य पूर्वाधार विकाससँगै उपत्यकाका घर निर्माणका लागि आवश्यक सिमेन्ट गिटी, रोडा, बालुवा, ढुंगा, इँटा र अन्य निर्माण सामग्री ढुवानी गर्ने ट्रिपरलाई समय सिमा तोक्दा विभिन्न किसिमका जटिलता आउने व्यवसायीहरुको तर्क छ । बाग्मती ट्रिपर ब्यवसायी संघका अध्यक्ष शेरबहादुर कुँवरले ब्यवसायीको माग बमोजिमको निर्माण समाग्री ढुवानी हुन नसकेको बताए ।

सरकारले उपत्यकामा दिउँसो टिपर चलाउन नदिने हो भने थप सवारी साधनको आवश्यकता पर्ने ब्यवसायीहरुले बताएका छन् । अहिले भएका सवारी साधन धेरै भएकाले सवारी चापका ट्राफिक समस्या बढिरहँदा थप सवारी बढेमा समस्या झनै जटिन बन्ने कुँवर बताउँछन् । ट्रिपर दुर्घटनामा धेरै मोटरसाईकल र स्कुटर मात्रै भएकाले दुर्घटना न्युनिकरण गर्न टिपर चालकसँगै मोटरसाईकल र स्कुटर चालकहरुलाई पनि सचेत गराउनुपर्ने व्यवसायीको तर्क छ ।

राती ट्रिपरको संख्या बाक्लो हुँदा एम्बुलेन्स लगायत अन्य अत्यावश्यक सवारी सहजै गन्तव्यमा पुग्दैनन् । मध्य राती मालवहाक सवारीको चाप र त्यसले निम्त्याउने दुर्घटनाका कारण अनसन्धान र व्यवस्थापनमा जुट्न समस्या भएको ट्राफिक प्रहरी बताउँछन् । सिन्धुली र काभ्रेको पनौतीमा रातको समयमा ट्रिपर चलाउन निधेष गरिएको छ । ‘राती मात्रै डिउटी गर्नुपर्ने भएपछि धेरै समस्या छ, यस्तै हो भने कमाउन अब विदेश लाग्नुपर्ने अवस्था आएको छ’–केही दिन अघि भक्तपुरको पालासेंमा भेटिएका एक चालकले भने ।

ट्राफिक लेन अनुशासनको प्रभावकारी एवं कडाईका साथ पालना गराइएको खण्डमा, मालवहाक र अन्य सवारीलाई छुटाछुट्टै लेनको व्यवस्था गरिएको खण्डमा दुर्घटना न्यूनिकरण हुने ढुवानी व्यवसायी बताउँछन् । ‘काठमाडौंमा निर्माण सामग्रीको माग बढिरहेको देखेर बैकको ऋण लिएर ढुवानी व्यवसाय सञ्चालन गरियो, तर अहिले सरकारको निर्णयले कसरी बैंकले ऋण तिर्ने भन्ने चिन्ता बढेको छ’–वाग्मती ट्रिपर व्यवसायी संघका एक पदाधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्