बर्षेबाली जोगाउन रातदिन जाग्राम



विनोद सिंह विष्ट, बैतडी ।

जिल्लाका अधिकांश ठाउँमा मकैबाली जोगाउन किसानहरुलाई धौ धौ परेको छ । जंगली जनावरले बर्षेबाली नष्ट गर्न थालेपछी बैतडीका किसान चिन्तित बनेका छन् ।
दिउँसोमा बदेंल, बाँदर र रातीमा दुम्सी तथा जंगली बदेलले मकैबाली नष्ट गर्नथालेपछि किसानहरुलाई मकैबाली जोगाउन सकस परेको हो ।
जंगली बदेँल,बादर र दुम्सीले बैतडीका विभिन्न ठाउँमा आतङक मच्चाउन थालेको हो । मुख्य खाद्यबालीको रुपमा रहेको मकै लगातार जंगली जनावरहरुले नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

जिल्लाको सिगास गाउँपालिका ५ को कफटुडामा बर्खेबाली मकै दुम्सीले सखाप पारेको स्थानिय भान बहादुर वोहराले जानकारी दिए । मकैको घोका लाग्ने लागेको बेला जंगली जनावरले मकैबाली नष्ट गर्न थालेपछी किसान चिन्ता परेको उनको भनाई रहेको छ । दुम्सीले लगातार रुपमा केही दिनदेखि मकैबाली नष्ट गर्न थालेपछी दुम्सीलाई कसरी नियन्त्रण गर्ने भनेर किसानलाई पिरोलेको छ ।

रातीको समयमा पहरा दिएपनि मकैबाली जोगाउन मुस्कील भएको सुर्नया गाउँपालिका ६ का भवानीदत्त अवस्थीले बताए । टहरा बनाएर रातीको समयमा पहरा दिएपनि मकैबाली जोगाउन नसकिएको सुर्नया गाउँपालिका ४ का कालु चन्दले बताए । जिल्लाका सबैजसो क्षेत्रमा मकैबाली जंगली बदेलले नष्ट गर्न थालेको किसानहरुले बताएका छन् ।

उता दोगडाकेदार गाउँपालिकामा बादँरले मकै लगाएतका अन्न बाली नष्ट पारीदिन थालेको छ । वडा नम्बर १ को रिम लगाएतका ठाउँमा बादँरले अन्नबाली नष्ट गरीदिदा किसानहरु चिन्तीत भएका छन् ।

बादँर धपाउन सबै काम छोडेर आफुहरुले मकैको गोठाँलो लाग्नु परेको स्थानीय विरेन्द्र धामीले बताए। बादँरले मकै बाली संगै आफ,अनार, लगाएतका फलफूल पनी नष्ट पारेको छ ।उनले भने“ बादँरको आतंक बढ्दै गएकोले नियन्त्रणको लागी स्थानीय तहले पहल गरीदिनुपर्छ ”
जिल्लाको तल्लोस्वराडस्थित शिवनाथ गाउँपालीका वडा नम्बर ३, ५ र ६ मा बदेलले आतङक मच्चाउन थालेको छ । यस क्षेत्रको मुख्य खाद्यान्न बाली मकै भएकाले त्यही पनि बदेंलले सखाप पार्न लागेको वडा नम्बर ६ का किसान केशब सिंह धनाडीले बताए ।

मेलौली नगरपालिका वडा नं २ र ३ मा जगंली बदेलले मकै खान थालेपछि कृषक रातिको समयमा खेतमै पहरा बस्ने गरेकाछन् । जंगल बाट आएका बदेंलले २० रोपनि खेतमा लगाएको मकै जरा उखेलेरै खान थालेपछि पहरा बस्नु परेको स्थानिय हरिराम पार्कीले बताए । दिनमा बादँरले पनि मकै खान थालेका छन् । उनले भने“ जंगल नजिक घर भएका २ परिवारका ब्यक्तिहरु खरको छानो लगाएको टहरो बनाएर बस्ने गरेका छौं । ”

रातभरी खेतमै बस्नु परेपछि बाजागाजाका साधनहरु टहरोमै लगेर गित गाएर बस्ने गरेको स्थानिय रमेश बिसिले बताए । उनले भने“ आफुहरुले हरेक बर्ष बदेंल धपाउन पहरा बस्ने गरेका छौं । ”

पाक्ने समय हुन लागेका मकै बदेँलले मकै सखास पारेको स्थानीय लोक बहादुर चन्दले बताए ।

पाटन नगरपालिका वडा नम्बर ५का किसानको मकै बाली बदेँलले नष्ट गरिदिदा किसानहरु समस्यामा परेको दिएको स्थानीय हिरा पाण्डेले बताउनुभएको छ । बदँेल धपाउन उनीहरु रातभर वर्षाको समयमा मकै बारीमा बस्न बाध्य भएका छन् । बदँेललको डरले रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको छ उनले भने“ बदँेलको डरले गर्दा घासँ,दाउरा ल्याउनको लागी जङ्गल जान समेत समस्या भएको छ । ”

बर्षेबाली जंगली जनावारले नष्ट गर्न थालेपछी किसानहरु भोकमरीको समस्या उत्पन्न हुने चिन्तामा रहेका छन् । साँझ बिहानको छाक टार्नको लागी लगाएको मकै बाली बदेलले सखाप पर्दा निकै समस्या हुने देखिएको किसानहरुको भनाई रहेको छ यो वर्ष पानी समयमा नपर्दा धेरै ढिला गरी मकै लगाएका यहाँका किसानहरु बदेंलले नष्ट गर्दा झनै चिन्तामा परेका छन् ।

बैतडीमा १४ हजार ९ सय हेक्टर क्षेत्रफल जमीनमा मकैखेती गरिदै आएको छ । जंगल नष्ट हुँदा जंगली जनावर खेतबारीमा पस्ने गरेको वनकर्मीहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्