‘कृषि क्षेत्रबाटै गोकुलगंगा गाउँपालिकालाई समृद्ध बनाउछौ’



स्थानीय सरकारले सडक निर्माणलाई नै पहिलो प्राथमिकता दिएको छ । तर रामेछापको गोकुलगंगा गाउँपालिकालाई भने कृषि क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ ।

कृषि क्षेत्रमा गाउँपालिकालाई आत्मनिर्भर बनाउनुको साथै रोजगारी सृजना गर्ने र उत्पादनमूलक कामा युवा जनशक्तिलाई आकर्षित गर्ने गरी नीति तथा कार्यक्रम अगाडि बढाएको छ ।

रामेछापको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले भने गाउँपालिकाको प्राथमिकता निर्धारण गरेर कृषि क्षेत्रको परिवर्तनको लागि जुटेको बताउनुहुन्छ ।

भौतिक पूर्वाधारसँगै कृषि क्षेत्रको विकास गरेर गाउँघरमा नै युवाहरुलाई रोजगारी सृजना गर्ने अभियानमा लागेको बताउदै उहाँले समृद्धि गफमा भन्दा पनि कामबाटै गर्नुपर्ने बताउनुभयो । यसै विषयमा ्र विकास निर्माणको काम र कृषि क्षेत्रमा गर्ने भनिएको रोजगारी सृजना लगायतको विषयमा केन्द्रीत रहेर गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारसँग नेपाल समाचारपत्रको लागि मधुसूदन रायमाझीले गरेको कुराकानीः–

खड्ग बहादुर सुनुवार
अध्यक्ष, गोकुलगंगा गाउँपालिका, रामेछाप

कृषि क्षेत्रको विकासको लागि गाउँपालिकाले कस्तो योजना अगाडि सारेको छ ?
–गोकुलगंगा गाँउपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनु पर्छ भन्ने हाम्रो अभियानले सार्थकता पाउदै जाने क्रममा छ । । गाउँपालिकाले अहिले विगतमा भएका परम्परागत कृषि प्रणालीमा परिवर्तन ल्याउन र प्रविधिको प्रयोग गरेर कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गरिरहेको छ ।

गाउँमा कृषि क्षेत्रमा परिवर्तन गर्नपर्छ यसको लागि आफैले सुरुवात गर्नुपर्छ भनेर मैले नै सात वटा कृषिका नमूना काम गरेर देखाइसकेको छु । कृषि क्षेत्रमा ट्रायलको रुपमा जनतालाई सिकाउने काम गरिरहेको छु । कृषि क्षेत्रबाटै गाउँपालिकालाई परिवर्तन गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने काममा हामीले केही सफलता प्राप्त गरेका छौ ।

कृषिको कुन–कुन क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने योजना अगाडि सार्नुभएको छ ?
–स्पष्ट योजना विना लक्ष्य हासिल गर्न सकिदैन । कुनै पनि काम गर्नको लागि योजना चाहिन्छ । त्यो योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न दृढ इच्छा शक्ति पनि चाहिन्छ । हामी जनप्रतिनिधिहरु योजनालाई कार्यान्वयन गर्न लागि परेका छौं । गाउँपालिकाको समृद्धिको आधार भनेकै कृषि हो ।

गाउँपालिकाको ६ वटा वडामा कहाँ के उत्पादन हुन्छ भनेर हामीले ती क्षेत्रलाई पकेट क्षेत्रको रुपमा विकास गरेर लैजाने योजना अगाडि सारेका छौं । हामीले काम गर्न सकिन्छ भनेर पुष्टि गरिसकेका छौं । यसमा कृषकहरुको ठूलो भूमिका छ । अर्गानिक कफीको माग धेरै छ । हामी अर्गानिक कफी उत्पादन गरेर बजारमा पु¥याउने योजनामा छौं ।

यो सगै हाम्रो विभिन्न वडामा आलु किबी, लगायतका फलफुलको राम्रो उत्पादन हुन्छ । गाउँपालिकाले कृषि क्षेत्रको लागि बजेटसँगै कृषकहरुको लगानीलाई पनि प्राथमिकता दिएका छौ । गाउँपालिकाले मात्र लगानी गर्दा प्रतिफल नआउने भएकाले कृषि क्षेत्रका विकासमा कृषकहरुको लगानी पनि अनिवार्य गरेका छौं ।कृषिमा यो बर्ष हामीले ३ करोड जति वजेट विनियोजन गरेका छौं ।

के साच्चिकै गाउँपालिकाका कृषिमा आत्मनिर्भर होला त ?
– कृषि क्षेत्रमा गरेको लगानीको परिणाम आउछ । यसको लागि जनताको पनि साथ र सहयोगको निकै ठूलो खाँचो छ । अहिले बजार उपयुक्त भएन भन्ने गुनासो कृषकहरुको छ । तर हामी बजारको राम्रो प्रबद्र्धन गर्ने प्रतिबद्धता गर्न चाहन्छौ ।

कृषकहरुलेले उत्पादन गरेको कृषिजन्य उत्पादनलाई बजारसम्म पु¥याउने सुनिश्चितता गाउँपालिकाले गर्छ । उत्पादन गर्नुहोस बजारको जिम्मा हाम्रो भो । अब किसानहरुले चिन्ता गर्नुपर्ने जरुरी छैन ।

गाउँपालिकाभित्र सडकको अवस्था कस्तो छ ? भौतिक पूर्वाधार निर्माणको काम कसरी अगाडि बढेको छ ?
–गोकुलगंगा गाँउपालिका सिस्टममा चल्छ । जति विकास निर्माणको काम हुन्छ सबै पारदर्शी ढंगले काम हुन्छ । गाउँपालिकाले सडक निर्माणको लागि मेसिन खरिद गरेको छ । जुन मेसिन दैनिक रुपमा नागरिकहरु आवतजावत गर्ने सडकको मर्मतको लागि प्रयोग हुँदै आएको छ ।

बाँकी काममा पनि प्रयोग गछौं । त्यसलाई गाउँपालिकाले विधि बनाएर सञ्चालन गरेको छ । गाउँपालिकाको आफ्नै भवन निर्माण हुँदैछ । दुई तीन महिनाभित्र नै पालिकाको आफनै भवन हुन्छ ।

स्वास्थ्य र शिक्षाको क्षेत्रमा सुधार गर्ने के–के काम गर्नुभयो ?
–स्वास्थ्य र शिक्षालाई गाउँपालिकाले प्राथमिकता दिएको छ । गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा शिक्षाको अभाव हुन दिएका छैनौ । स्वास्थ्य संस्थाहरुमा पर्याप्त औषधीको व्यवस्था गरेका छौं । स्थानीय जनताहरुलाई स्वास्थ्य बीमा गर्नुपर्छ भन्ने अभियान चलाउन खोजीरहेका छौँ ।

हाम्रो पहलमा नै गाउँपालिकाको केन्द्रमा अस्पताल निर्माणको काम अगाडि बढने भएको छ । हामीले एउटा संस्थासँग साझेदारी गरेर डेढ करोड संस्थाले लगानी गर्ने, डेढ करोड पालिकाले लगानी गरेर काम गर्न खोजिरहेका छौं । अस्पताल निर्माण भएपछि अस्पताको लागि आवश्यक डाक्टर र कर्मचारीको दरबन्दी माग गरेका छौं । यही आर्थिक बर्षबाट स्थानीयस्तरबाट हामी अस्पताल सञ्चालनमा ल्याउछौ ।

हाम्रो गाउँपालिकाको सबै भन्दा ठूलो समस्या शिक्षा क्षेत्रको हो । यस विषयमा हामी निकै चिन्तित छौं । अहिले शिक्षामा हामीले परिवर्तन लयाउन सकेका छैनौ । एउटा सामुदायिक विद्यालयबाट संचालन हुने शिक्षाबाट भनेजस्तो परिणाम निकाल्न सकेका छैनौ । शिक्षामा सुधार ल्याउनको लागि केही संघ संस्था मिलेर काम गरिरहेका छौं ।

शिक्षामा परिर्वतन ल्याउन पर्छ भनेर हामी अत्यन्तै चिन्ताको साथ लागि परेका छौं । गाउँपालिका जनप्रतिनिधि, शिक्षक, अभिभाव हामी सबै मिलेर सुधारको लागि गृहकार्य भइरहेको छ । गाउँपालिकामा गुणस्तरीय शिक्षाको विकास गर्न हामी आतुर छौ, आशा गरौ विस्तारै परिवर्तन हुँदै जान्छ ।

निर्वाचनको क्रममा विदेशिएका युवाहरुलाई गाउँमा नै रोजगारी सृजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो नि अहिले के गर्दै हुनुहुन्छ ?–गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनु भनेको नै युवाहरुलाई फर्काउने अभियान हो । हामीले कृषि क्षेत्रमा मात्र १८ वटा योजना अगाडि सारेर कार्यान्वयमा जुटेका छौं । यो योजना बृद्धाबृद्धाहरुले गर्न सक्दैन ।

त्यसको लागि युवाहरु नै चाहिन्छ । हाम्रो क्षेत्रमा धेरै जलविद्युत आयोजनाहरु छन् । ती आयोजनाहरुमा पनि युवा शक्तिहरुलाई रोजगारी उपलब्ध गराउन पर्छ भनेर लागिपरेका छौं । हामीले कृषि र जलविद्युत क्षेत्रमा निजी क्षेत्रलाई लगानी गर्न पनि आग्रह गरिरहेका छौं ।

पर्यटन, कृषि लगायतको क्षेत्रमा हामी ७ हजारसम्म रोजगारी सृजना गर्न सक्छौ । कृषि र पशुपालन अन्तर्गत हामीले नामाडीमा वृहत्त काउ फार्म सञ्चालन गर्ने यतारीमा छौं । यो योजना कार्यान्वयमा ल्याउन सफल भयो भने १५ सय जनालाई रोजगारी दिन सकिन्छ । हामीले राखेको योजना सफल भएको अवस्थामा चार बर्षभित्र चार हजार युवाहरुलाई रोजगारी दिन सक्छौ ।

प्रतिक्रिया दिनुहोस्