गाउँपालिकामै छैन एघार पढ्ने विद्यालय



महेश न्यौपाने, रोल्पा ।
राज्यले शिक्षा क्षेत्रमा प्राथमिकताका साथ वजेट छुट्याउने गरे पनि रोल्पाको एक गाउँपालिकामा रहेका विद्यालयले भने त्यसको प्रतिफल पाउन सकेका छैनन । उत्तरी रोल्पाको सुनछहरी गाउँपालिकामा रहेका विद्यालयहरु राज्यले प्रदान गर्ने सेवा सुविधावाट वंचित भएको देखिएको छ ।

गाउँपालिका भित्र रहेका विद्यालयको भौतिक संरचना, शिक्षक दरवन्दी र विद्यालयको तहगत अवस्थामा देखिएको अस्तव्यस्तताले यस्तो अवस्था देखिएको हो । माध्यमिक तहमा शुन्य शिक्षक दरवन्दी रहेको जिल्लाकै एक मात्र गाउँपालिकाको रुपमा सुनछहरी गाउँपालिका पर्दछ । यसैगरि गाउँपालिकामा कक्षा ११ र १२ को पठन पाठन गर्ने विद्यालय समेत छैनन । गाउँपालिकाका अधिकांश विद्यालयले विद्यार्थी अनुपातमा कक्षा कोठा, फर्निचर सौचालय, पिउनेपानी जस्ता पूर्वाधारको मार भोग्दै आएको वताइएको छ ।

सुन्य शिक्षक दरवन्दी हुदा अभिभावकहरु शुल्क उठाएर विद्यालय संचालन गर्न वाध्य छन । गाउँपालिका भित्र ५ वटा माध्यमिक विद्यालय रहे पनि सवै विद्यालय नीजि श्रोतवाट संचालन भईरहेका छन । लामो समय सम्म पैसा उठाएर नीजि श्रोतमा विद्यालय संचालन गर्नु पर्दा आफुहरुमा आर्थिक भार समेत थपिदै गएको अभिभावकहरुले वताएका छन ।

गाउँपालिकामा साविकका जेल्वाङ,फगाम,जैमाकसला, स्युरी, सेरम र गाम गाविसहरु पर्दछन । गाउँपालिका भित्र रहेका ५ वटै माध्यामिक विद्यालयमा एउटा पनि सरकारी दरवन्दी छैन । यस वर्ष सरकारले प्रत्येक विद्यालयलाई १÷१ वटा दरवन्दी वरावर अनुदान रकम दिएको गाउँपालिकाका अध्यक्ष आशवहादुर पुनले वताए । अनुदानले केही राहात महसुस भएको छ अध्यक्ष पुनले भने ।

राजनैतिक पहुँच र भनसुनको आधारमा शिक्षक दरवन्दी वितरण हुने गरेका कारण आफुहरुले सरकारी दरवन्दी पाउन नसकेको अभिभावकले वताएका छन । सरकारले दरवन्दी नदिदा आफुहरु चन्दा उठाएर विद्यालय संचालन गर्न वाध्य भएको उनीहरुले गुनासो गरेका छन ।

लामो समयसम्म दरवन्दी उपलव्ध नगराउदा आफुहरुलाई विद्यालय संचालनमा समस्या आइरहेको रोल्वाङ मावि जेल्वाङ रोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकावहादुर वुढाले वताए । स्थानीय सरकारले निर्माण गर्ने शिक्षा ऐन समयमै नवन्दा समेत कामले गतिलिन नसकेको वुढाले वताए ।

नीजि श्रोतमा राखिएका शिक्षकहरु लामो समयसम्म नटिक्ने भएका कारण आफुहरुको पढाईमा असर गरिरहेको जलजला वाल क्लव जेल्वाङका सचिव सन्तोष विकले वताए । शिक्षकहरु फेरवदल भैरहदा त्यसले पठन पाठनमा प्रभाव पारेको छ विकले भने ।

सरकारी दरवन्दी उपलव्ध नहुदा गाउँपालिका भित्र ९५ जना नीजि श्रोतमा शिक्षक व्यवस्थापन गरिरहेको गाउँपालिकाका अध्यक्ष आशवहादुर पुनमगरले वताए । अभिभावक सहयोगवाटै नीजि श्रोत शिक्षक व्यवस्थापन भईरहेको छ अध्यक्ष पुनले भने । निशुल्क शिक्षा भनिए पनि अभिभावकलाई आर्थिक भार कम भएको छैन पुनले भने । गाउँपालिकाले शिक्षा ऐन तर्जुमा गरि व्यापक शैक्षिक सुधार गर्न लागेको वताउदै गाउँपालिकाको शिक्षा सुधारका लागि आफुहरु योजनावद्ध ढंगले लागेको पुनको भनाई छ । निकट भविष्यमै गाउँपालिकामा उच्च माध्यमिक स्तरको कक्षा संचालन गर्ने,गाउँपालिकाको ५ वर्षे शैक्षिक योजना वनाउने लगायतको कामको थालनी गर्न लागिएको पुनले जानकारी दिए ।

जिल्लामा ६ दर्जन वढी माध्यमिक विद्यालय रहेका छन । माध्यमिक विद्यालय मध्ये डेढ दर्जन वढी माविमा कक्षा १२ सम्मको पढाई हुने गरेको छ । जिल्लामा माध्यमिक विद्यालयमा अध्यापन गर्ने ४५ स्थायी र १८ अस्थायी गरि ६३ दरवन्दी रहे पनि सो गाउँपालिका भने दरवन्दी शुन्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्