आमाले पाएको सफलता



सुनील महर्जन
रिहा महर्जनले सुन्न सक्दिनन्। सुन्न नसक्ने यी छोरीसँगै बसेर नै आमा मणि महर्जनले पढाइको महत्व बुझिन्। पढाइ छाडेको १५ वर्षपछि उनले प्रवेशिका परीक्षा दिइन्।

हाल एमएम दोस्रो वर्षमा समाजशास्त्र संकायमा अध्ययन गरिरहेकी मणिले भनिन्– ‘छोरीलाई कानको समस्या नहुँदो हो त ८ कक्षा पास गरेकी एउटा गृहिणी मात्र हुन्थें। पढाइलाई निरन्तरता दिने थिइनँ।’ अपांगता भएकालाई बोझ ठान्ने प्रवृत्ति घर, परिवार र समाजमा अझै हटेको छैन। मणिले निकै दुःख, सुख गरेर हुर्काएकी छोरीलाई बोझको साटो आफ्नो पढाइको आधारको रूपमा लिँदै आएकी छिन्।

आदर्शकन्या स्कुलमा कक्षा ९ मा पढ्दै गर्दा मणिले पूर्णचण्डी निवासी रामकृष्ण डंगोलसँग विवाह गरेकी थिइन्। श्रीमान्कै सल्लाहअनुसार उनले विवाहपछि पनि पढाइलाई निरन्तरता दिइन्। विवाहपछिको पहिलो वर्षको लामो समय मिखाबहाल माइतीमा बसेर पढ्दा पनि २०५० सालको प्रवेशिका परीक्षामा उनी फेल भइन्। घरपरिवारको काममै व्यस्त हुँदा उनले पछि फेरि प्रवेशिका परीक्षा दिने सोच नै बनाइनन्।

विवाह भएको ५ वर्षपछि छोरी रिहा जन्मिन्। त्यसपछि त फेरि एसएलसी दिने कुरो त उनका लागि कल्पनाको विषयसम्म पनि भएन। ८ महिना पुगेपछि छोरीले कानले नसुनेको उनले थाहा पाइन्। ‘आफ्नो माइतीमा जाँदा आमा चनमायाले बच्चालाई पटक–पटक बोलाउँदा पनि अनुहारमा कुनै हाउभाउ देखिएन। त्यसपछि छोरीले सुन्न नसक्ने थाहा भयो’ –मणिले भनिन्। शुरूमा यो कुरो सुन्दा उनी निकै आत्तिएकी थिइन्। त्यसपछि शिक्षण अस्पतालमा परीक्षण गराउँदा कानको नसासम्बन्धी समस्या रहेको र उपचार सम्भव नभएको चिकित्सकले बताए। चिकित्सककै सल्लाहअनुसार उनले बच्चालाई इयरफोन लगाइदिइन्।

निकै चनाखो भएर मणिले आफ्नो छोरीको स्याहारसुसार गर्न थालिन्। क्रमशः छोरी ३ वर्षकी भएपछि स्कुल भर्ना गर्नुपर्ने भयो। स्कुल खोज्न थालियो। ‘कान नसुन्ने बच्चालाई पढाउन सक्दिन भनेर ४/५ वटा विद्यालयले त भर्ना नै लिएनन्। तनावमाथि निकै तनाव’ –मणिले भनिन्। पछि स्कुल खोज्दै जाँदा बल्लतल्ल च्यासलस्थित माउन्ट हरमन स्कुलले भर्ना लिन राजी भयो।

‘कान नसुन्ने समस्याले गर्दा स्कुलमा पढाएको पाठ नबुझ्ला कि भनेर हरबखत चिन्ता हुन्थ्यो। दिनरात नभनी छोरीको पढाइमा ध्यान दिन थालें। घरका काम छोडेर पनि स्कुलमा पढाएको पाठ दोहोयाउन, गृहकार्य गर्न सघाउँथे। नआएको विषय स्कुलका शिक्षक शिक्षिकासँग सोध्न स्कुल जान्थें। २÷३ दिन बिराएर स्कुलमा गइरहन्थें। स्कुलका सर, मिससँग सोधेर भए पनि मैले छोरीलाई सिकाउँदै गएँ’ –उनले सविस्तार सुनाइन्।

‘असफल भएर पुनः प्रयास नगर्नु ठूलो कुरो हो’ भन्ने वाक्यले आफूलाई निकै हौसाएको सम्झिँदै उनले भनिन्– ‘निकै प्रतिकूल अवस्था झेलेर एसएलसी पास हुनु मेरो लागि ठूलो सफलता थियो।’

‘दुःखम् सुखम् छोरी क्रमशः ७ कक्षामा पढ्न थालिन्। त्यसपछि त छोरीलाई सिकाउन मेरो पढाइले नभ्याएको महसुस हुन थाल्यो’, उनले भनिन्– ‘संयोगवश त्यतिबेला पाटन हाइस्कुलमा खुला शिक्षण पद्धतिअनुरूप पढाइ शुरू गर्न लागेको थियो। मेरो लागि भगवान्ले अवसर जुटाइदिएको सम्झेर फेरि कक्षा १० मा पढेर प्रवेशिका परीक्षा दिने निधो गरें।’ श्रीमान् रामकृष्णले पनि उनलाई निकै हौसला दिए। त्यसपछि उनले १५ वर्षअघि छाडेको पढाइलाई निरन्तरता दिइन्।

‘पढाइका लागि अझ दृढ बन्नुपर्ने भाग्यमा लेखेकाले होला, दोस्रो पटक एसएलसीको परीक्षा दिँदामा पनि अंग्रेजी, गणित र विज्ञान गरी ३ वटा विषयमा फेल भएँ। यत्रो वर्षपछि पढ्दा त ५ वटा विषयमा त पास गर्न सकें। कसो अर्को पटक पास नहूँला भन्दै फेरि पढ्न थालें’ –उनले भनिन्। आफूले पढेर छोरीलाई पढाइमा अब्बल बनाउने अदम्य इच्छा थियो। यही इच्छाले दिनरात नभनीकन मणिले पढ्न थालिन्। छोरीप्रति अगाढ मायासँगैको मेहेनतले गर्दा उनी तेस्रो पटकमा एसएलसीमा उत्तीर्ण हुन सफल भइन्। ‘असफल हुनु ठूलो कुरो होइन। ‘असफल भएर पुनः प्रयास नगर्नु ठूलो कुरो हो’ भन्ने वाक्यले आफूलाई निकै हौसाएको सम्झिँदै उनले भनिन्– ‘निकै प्रतिकूल अवस्था झेलेर एसएलसी पास हुनु मेरो लागि ठूलो सफलता थियो।’

‘घरपरिवार र समाजले तिम्रो छोरी लाटी होइन र ? तिम्रो छोरी लाटी भनेर भन्दा मेरो मुटु छियाछिया हुने गर्दथ्यो। कैयौं पटक एकान्तमा बसेर धेरै रोएँ पनि। तैपनि छोरीको अगाडि दयाभावभन्दा पनि पढाइ र मनोबल बढाउन लागिपरें। यस्ता वचन सुनेर एकछिन त मनमानिकै पीडा हुन्थ्यो। त्यससँगै छोरीलाई पढाइमा अब्बल बनाउने इच्छा पनि झन्–झन् दृढ हुँदै गयो’ –उनले भनिन्। यही मनस्थितिले उच्च शिक्षाको अध्ययन शुरू गराएको उनको ठम्याइ छ।

त्यसपछि उनी पाटन हाइस्कुलमा १० जोड २ मा मानविकी विषय लिएर पढ्न थालिन्। त्यतिबेला उनको उमेर ३५ वर्षको थियो। पढ्ने उमेर नाघिसकेका व्यक्तिले कलेज डे«स लगाएर बाटोमा हिँड्दा धेरैले उनलाई जिस्क्याउथें। आफूभन्दा झन्डै दोब्बर उमेरका सहपाठीसँगै बसेर पढ्नुपर्दा अरू विद्यार्थीले शुरू–शुरूमा निकै आश्चर्यका रूपमा लिएको उनको अनुभूति रहेको छ।

‘उमेर छँदा पढ्नुपर्दैन। बूढी भएपछि पढ्ने ?’ भनेर कतिपयले कुरा काट्थे, घर वरपर हिँड्नै नहुने भयो। त्यसपछि पढेर समाजमा केही गरेर नै देखाउने ईख पैदा हुन थाल्यो। नभन्दै १० जोड २ पनि पास गरेपछि नमुना मच्छिन्द्र क्याम्पसमा पढिन्। एकपछि अर्को गर्दै उच्च शिक्षाको खुड्किलो चढ्दै गरेकी मणि हाल समाजशास्त्र विषय लिएर एमएम दोस्रो वर्षमा पढिरहेकी छिन्। पढाइसँगै ब्युटिसयनको परिचयले उनलाई १ सफल महिला उद्यमीका रूपमा समाजमा स्थापित गराइदिएको छ। विभिन्न चलचित्रमा पनि कलाकारलाई मेकअप गराउने गरेकी मणि अहिले आफ्नो संघर्षप्रति गौरव गर्छिन्।

 

घरपरिवार र समाजले तिम्रो छोरी लाटी होइन र ? तिम्रो छोरी लाटी
भनेर भन्दा मेरो मुटु छियाछिया हुने गर्दथ्यो। कैयौं पटक एकान्तमा बसेर धेरै रोएँ। तैपनि छोरीको अगाडि दयाभावभन्दा पनि पढाइ र मनोबल बढाउन लागिपरें। यस किसिमको वचन सुनेर एकछिन त मनमा निकै पीडा हुन्थ्यो। त्यससँगै छोरीलाई पढाइमा अब्बल बनाउने इच्छा पनि झन्–झन् दृढ हुँदै गयो।

रिहा अहिले नागार्जुन कलेजमा बीआईएममा अन्तिम समेस्टरमा पढ्दै छिन्। श्रुति नेपाल नामक संस्थामा कार्यकारिणी सदस्य भएर रिहा आफूजस्तै सुन्न नसक्नेको सेवामा बिताइरहेकी छिन्। ‘ममीको छोरी हुन पाउनुमा म आफूलाई निकै भाग्यमानी ठान्छु। मलाई बोल्न र पढ्न सिकाउन निकै संघर्ष गर्नुभयो, मैले सुन्न नसके पनि मेरो आमाको कानबाट मैले सुनिरहेकी छु’ –आमालाई अँगालोमा बेर्दे रिहाले भनिन्।
अपांगता भएकालाई दयाभन्दा पनि अवसर दिनु नै सबैभन्दा बढी कल्याणको विषय हुने उनको भनाइ रहेको छ। ‘कसैले हेला ग¥यो भनेर दुखी भएर बस्न नहुने रहेछ। त्यही हेलालाई शक्ति बनाउनुपर्ने मेरो जीवनको विश्वास बन्यो। यही विश्वासको स्रोत मेरी छोरी रिहा हुन्’ –मणिले भनिन्।

 

प्रतिक्रिया दिनुहोस्