सम्पदा पुनर्निर्माणमा हेलचेक्रयाइँ नगर



नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण निधी भनेका यहाँका सम्पदा र मठ मन्दिर धेरै छन्, तर दुर्भाग्य साढे ३ वर्ष अघिको भूकम्पले क्षति पु¥याएका सम्पदा मर्मत संभारमा ढिला सुस्ती भइरहेको छ ।

केही सम्पदा पुन निर्माण नभएका होइनन्, तर धेरै अझै लथालिंग अवस्थामा छन् । काठमाडौंको मध्य भेगमा रहको धरहरा पुनर्निर्माण कार्य पटक–पटक धकेलिँदै आएको छ । धरहरा पुननिर्माण गर्न आवहन गरिएको आर्थिक प्रस्ताव खोल्ने मिति पाँचौ पटक पनि स्थगित भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शुक्रवार प्रस्ताव खोल्ने मिति तय गरेको थियो तर प्रस्ताव पास भएका पाँच कम्पनी मध्ये कुनै एकको कागजात शंकास्पद भएको आपत्ति प्रधानमन्त्री तथा मन्त्री परिषद् पुगेपछि प्रस्ताव खुल्न सकेन । प्राधिकरणले पुन ः पर्सी ५ गते प्रस्ताव खोल्ने मिति तय गरेको छ ।

सार्वजनिक खरिद नियमावली अनुसार लगातार सय दिनसम्म टेन्डर खोल्न नसकेपछि पुन ः टेन्डर गर्नुपर्ने प्रावधान छ । प्रस्ताव खोल्ने मिति सूचना निकाल्दै स्थगित भएको करिव दुई महिना बितिसकेको छ ।

धरहरा पुननिर्माणका लागि जइक–लामा जेभी, सीआर ५ सीईसी जेभी, कुमार सीएफईसी जेभी, जीआईईटीसी–रमनजेभी र सीआईसीओ कालिका–रसुवा जेभीले प्रस्ताव पेस गरेका थिए । प्रस्ताव खोल्ने मिति पटक–पटक धकेलिनुमा राजनीतिक चलखेल बढेको आशंका गरिएको छ । यस अघि नेपाल टेलिकम, विभिन्न सिमेन्ट र डन्डी कम्पनीले धरहरा बनाउने प्रस्ताव गर्दा व्यापारिक प्रयोजन हावी हुने भन्दै प्रस्ताव अस्वीकृत भएको थियो । करिब ४ अर्ब रुपियाँको लागतमा धरहराको निर्माण गर्ने लक्ष्य अघि सारिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा अघि बढाइएको ‘म बनाउँछु मेरो धरहरा’ अभियानमा २५ करोड रुपियाँ जम्मा भएको छ । ओली पुन सोही पदमा दोहोरिएको लामो समय भइसक्दा पनि सो अभियान लथालिङ बनेको देख्दा लाग्छ, अभियान अरु कसैले घोषणा गरेका थिए ।

पुरातात्विक महत्वका मठ मन्दिर र ऐतिहासिक सम्पदाले भरिएको काठमाडौं उपत्यकालाई खुला संग्राहलय पनि भन्ने गरिन्छ । तर जिर्ण भएका संरचना मर्मत संभारमा ध्यान नपु¥याउँदा त्यस्तो परिचय दावी गर्न कति सुहाउछ, कति व्यवहारिक हुन्छ भन्ने प्रश्न स्वभाविक रुपमा उठ्छ ।

अनि सरकारले आगामी २ वर्षपछि सन् २०२०मा २० लाख पर्यटक नेपाल भित्र्याउने महत्वांक्षी लक्ष्य अघि बढाइरहेको छ, तर पर्यटकले अवलोकन गर्ने सम्पदा जिर्ण भइरहँदा कसरी पर्यटकको मन जित्न सकिन्छ, भ्रमण वर्ष कसरी सफल हुन्छ । त्यसैले स्वदेश र विदेशमा भ्रमण वर्षको प्रचार–प्रसार अघि बढिरहेका बेला धरहरा सहितका अन्य सम्पदा पुननिर्माणमा तिब्रता दिन ढिलो गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्