‘माइलो’ इनर्जी ड्रिंक पिउँदा विद्यार्थीको स्वास्थ्यमा समस्या



नेपाल समाचारपत्र
विराटनगर
भारतको नेश्ले इण्डिया कम्पनीले उत्पादन गरेको ‘माइलो’ इनर्जी ड्रिंक पिउँदा विराटनगरको एक स्कुलका दर्जन बढी विद्यार्थीमा स्वास्थ्य समस्या देखिएको छ। इनर्जी ड्रिंक पिएका कयौं विद्यार्थीमा वान्ता र बेहोस हुने समस्या देखिएको छ।
विराटनगरको वडा नम्बर २ स्थित बूढानिलकण्ठ सेकेण्डरी इंग्लिस स्कुलमा सो कम्पनीको उत्पादनको प्रचार गर्न पुगेका प्रतिनिधिले दिएको माइलो इनर्जी ड्रिक पिउँदा विद्यार्थीको स्वास्थ्यमा समस्या देखिएको हो।

विद्यालयले ब्रान्ड प्रमोसनका लागि छुट्याइदिएको टिफिन टाइमको समयमा सो कम्पनीका प्रतिनिधि र डिलरले दिएको माइलो पिउने बित्तिकै विद्यार्थी बालबालिकाले वान्ता गर्नुका साथै बेहोस भएका थिए। विराटनगर–२ का अभिभावक सुवासकुमार साहले इनर्जी ड्रिंक पिएपछि आफ्नो छोरी बेहोस भएको बताउनुभयो। उहाँले डेढ दर्जन बढी विद्यार्थीमा सोही प्रकारको समस्या देखिएको बताएका छन्।

विराटनगर–२ कै शान्ति तिम्सिनाले विद्यालयलाई कम्पनीले प्रयोगशालास्थल बनाउन नहुने बताउनुभयो। विद्यार्थीले बान्ता गर्दै बेहोस हुन लागेको खबर पाएर आत्तिदै स्कुल पुगेका अभिभावकले आ–आफ्ना बालबालिकालाई उपचार गर्न भन्दै विराटनगरकै विराट अस्पताल लिएर गएका थिए। घटनाको सूचना पाएर पुगेको प्रहरीले नेश्ले इण्डियाका विराटनगर डिलर महेन्द्रकुमार अग्रवाललाई नियन्त्रणमा लिएको छ।

अग्रवालले विद्यार्थी बालबालिकाले खाली पेटमा जुस पिएका कारण समस्या देखिएको हुन सक्ने दाबी गरेका छन्। यता, बुढानिलकण्ठ सेकेण्डरी इंग्लिस स्कुलका प्रिन्सिपल मणिराज भट्टराईले इनर्जी ड्रिंक पिएका केही विद्यार्थीमा वान्ता गर्ने समस्या देखिए पनि कुनै पनि विद्यार्थी बेहोस नभएको दाबी गरेका छन्। अभिभावकले फुड प्वाइजन भएको आशंकामा आफ्ना बालबालिका लिएर अस्पताल गएको उहाँको भनाइ छ।

केही दिन अघिमात्र मोरङकै एक विद्यालयको पानी ट्यांकीमा बिष मिसाइएका कारण दर्जनौं विद्यार्थी बिरामी भएको घटना सेलाउन नपाउँदै विराटनगरको यो घटनाले अभिभावकलाई झस्काएको छ। पछिल्लो समय जंक फुड उत्पादन गर्ने कम्पनीले विद्यालयलाई नै पहिलो बजारका रूपमा टार्गेट गर्ने गरेका छन्। जसले गर्दा विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असरसमेत परिरहेको छ।

प्रतिक्रिया दिनुहोस्