‘त्यो एउटा बिहान’ मा इल्या



शरद श्रेष्ठ
वि.सं. २०६० मा ‘मन मनै त हो’ कथासङ्ग्रह प्रकाशित गराएर कथाकारका रूपमा नेपाली साहित्यमा देखा पर्दै आएकी इल्या भट्टराई नियात्रा र कथालेखनमा आफूलाई चिनाउन सफल छन्। कथामा गहनता खोज्न जानेकी यिनका अन्य प्रकाशित कृतिहरूमा अनि…(२०६२), निःशब्द प्रश्नहरू (२०६३), कसले के बुझ्यो (बालकथा–२०६६), जीवनका रङ्गहरू (२०६८) र २०७४ मा ‘त्यो एउटा बिहान’ प्रकाशित छन्। पछिल्लो कथाकृतिमा १५ वटा कथाहरू प्रकाशित छन्।
पहिलो कथा ‘त्यो एउटा बिहान’मा इस्तानबुलमा बिताइएका क्षणहरूलाई कथामा उनेर आफ्नो कथा–शिल्पको चातुर्यता कथामा उन्न यिनी सफल छन्।

बोस्पोरस समुद्रमा जोजेफको मृत्यु भएको दुर्दान्तमय कथामा फातिमाको दुःखको कथा आँसुले लेखेको कथाजस्तै लाग्यो। नयाँ नेपालको थिति नबसेको गन्जागोल परिस्थितिका परिदृश्यहरूमा नेताहरू पुनः राजा हुन खोजेको आभास सन्त्रास मिस्सिएको घटना–प्रसङ्गहरू छन् यस ‘आजको दिन’ कथामा र अंग्रेजी भाषाको फोबिया बढ्दै गएको सन्दर्भ ‘म दुःखी छु’ मा पोखिएको छ। महिलाहरूको जीवन धेरै सङ्कटमा अल्झिएको व्यथा–प्रसङ्गहरू एकजना रङ्गकर्मी महिलाले भोगेका जीवनका व्यथाहरू ‘जीवनको अर्थ खोज्दै’ कथामा व्यक्तिएको छ। ‘फेरि तिमी याद आयो’ कथामा प्रेमका तरङ्गहरू व्याप्त छन्।
यस कथासङ्ग्रहमा सम्लग्न अन्य कथाहरू ‘आमा अर्थात् सरोजा बेन’, ‘कतै उनी उही होइनन्…’, ‘इलेक्ट्रा कम्पलेक्स’, ‘स्टडी अस्तव्यस्त’ जीवन त्रासहरू कथाकै भाषा र शैलीमा पोखिएका छन्। सरल छन् सबैजसो कथाहरू। बाङ्गोटिङ्गो जीवनका मर्महरू पोख्न दिएकै कारणले कथाहरू पढौं–पढौं लाग्ने खालका छन्। पात्र–पात्राहरूको मनमा अल्झिएका कुराहरूलाई कथामा पोख्न लगाएका छन्।

यसरी नै ‘त्यो मान्छे खराब हो’, ‘जीवन एउटा सम्झौता नै त रहेछ’, ‘बेनाम सम्बन्ध’, ‘आज म उन्मक्त छु’ र ‘म के गरुँ’ कथाहरूमा खराब मान्छेको कथा, जीवनले गर्नुपर्ने सम्झौताका प्रसङ्ग, बेनाम सम्बन्धका परिकथाहरू, उन्मुक्त हुँदाका मनहरू, दोधारे मनका उत्कण्ठाहरू यी माथि उल्लेख भएका कथाहरूमा पोखिएका छन्। इल्या ‘त्यो एउटा बिहान’ कथासङ्ग्रहमा जीवनका विविध आयामहरूलाई कथावस्तुका रूपमा पोख्न सफल छन्। नियात्रामा जस्तै कथामा पनि इल्याले अझ आफूलाई तिखार्दै जान सकून्, नयाँ कथासङ्ग्रहको लागि बधाई छ।

प्रतिक्रिया दिनुहोस्