कोटेश्वर जाम घटाउन वैकल्पिक सडक



मधुसूदन रायमाझी, काठमाडौं
कोटेश्वर चोकमा दैनिकरूपमा बढ्दो ट्राफिक जामलाई व्यवस्थापन गर्न दुईवटा वैकल्पिक सडक सञ्चालनमा ल्याइने भएको छ। दैनिकरूपमा घण्टौं जाम हुने क्रम बढेपछि सडक विभागले दुईवटा वैकल्पिक सडक र सर्भिस ट्र्याक सञ्चालनमा ल्याउने काम अगाडि बढाएको हो।

काठमाडौं प्रवेश गर्ने मुख्य नाकाका रूपमा रहेको कोटेश्वरमा वैकल्पिक सडक निर्माण नहुँदा एम्बुलेन्ससमेत जाममा पर्ने गरेका छन्। सडक विभागअन्तर्गत काठमाडौं डिभिजन कार्यालयले सडकको दायाँबायाँ सर्भिस ट्र्यास सञ्चालनमा ल्याउनका लागि गृहकार्य अगाडि बढाएको छ। डिभिजन कार्यालयले मनहरा खोलामा अस्थायी बेलिब्रिज निर्माण गरेर कोटेश्वर हुँदै चक्रपथतर्फ सञ्चालन हुने सवारीसाधनलाई मनहरा खोलाबाट बालकुमारीको पुलतर्फ सञ्चालन गर्ने भएको छ। डिभिजन कार्यालयले करिब डेढ किलोमिटर सडकमा नयाँ ट्र्याक निर्माण गरेर केही समयभित्र नै सञ्चानल गर्ने गरी काम अगाडि बढाएको छ।

डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख सुशीलराज भण्डारीले वैकल्पिक सडक निर्माणका लागि स्थलगत अध्ययन सम्पन्न भइसकेको बताउँदै केही समयभित्र नै सञ्चालनमा ल्याइने बताउनुभयो। हाल निर्माण भइरहेको मनहरा कोरिडोर हुँदै करिब डेढ किलोमिटर वैकल्पिक सडकका रूपमा सञ्चालन गर्न लागिएको हो’, उहाँले भन्नुभयो– ‘मनहरा खोलालाई आँखा अस्पताल हुँदै बालकुमारीसँग सात मिटर चौडाइ भएको सडकका रूपमा सञ्चालनमा ल्याउँछौं।’

वैकल्पिक सडक सञ्चालन गरेर साना सवारीसाधन ट्याक्सी, मोटरसाइकल लगायतका सवारी साधन बालकुमारी पुलबाट चक्रपथतर्फ सञ्चालन गर्ने योजना डिभिजनले लिएको छ।

डिभिजन कार्यालयका अनुसार कोटेश्वरको टंकप्रसादको शालिकदेखि एयरपोर्टको छेउबाट पेप्सीकोला जोड्ने वैकल्पिक सडक भने तत्काल सञ्चालनमा आउने छैन। मनहरा खोलाको आँखा अस्पतालसम्मको करिब ५ सय मिटर सडक भने डिभिजन सडक कार्यालय भक्तपुुरले निर्माण गर्ने भएको छ। सडक विभागले हाल ठेक्का लागिसकेको करिडोर निर्माण गरिरहेको ठेकेदार कम्पनीलाई नै उक्त सडक निर्माण गर्ने कि डिभिजन कार्यालयले गर्ने भन्ने विषयमा छलफल चलिरहेको भण्डारीले बताउनुभयो।

कोटेश्वर चोकमा आकाशे पुल नहुँदा पैदल यात्रु पनि सडक हुँदै वारपार गर्नुपर्ने भएकाले पनि अत्यधिक रूपमा ट्राफिक जाम हुने गरेको छ। सडक विभागका प्रवक्ता मुक्ति गौतमले भैरव मन्दिरबाट जडिबुटीसम्मको अन्डरपास निर्माणको काम अगाडि बढाउन जापान सरकारलाई आग्रह गरिरहेको बताउनुभयो। सरकारको नीति तथा कार्यक्रम र बजेटमा नै कोटेश्वरको ट्राफिक जाम घटाउन एयरपोर्ट मुनिबाट अन्डरपास निर्माण गर्ने उल्लेख भए पनि अन्डरपासको अध्ययन गर्न विभागले जापान सरकारसँग आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्