कमजोरी भएमा मुलुकी संहिता संशोधन गर्न सकिन्छः प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकी देवानी (संहिता) तथा मुलुकी अपराध (संहिता) ऐनलगायत कानूनलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न र गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

ऐन कार्यान्वयनमा आएको अवसरमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयद्वारा आज यहाँ आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसमा केही कमजोरी भए आगामी दिनमा संशोधन गर्दै जाने स्पष्ट गर्नुभयो । “स्थानीय तह र प्रदेश सरकारलाई यस कानूनलाई कार्यान्वयन गर्न गराउन र जनतालाई यसका बारेमा जानकारी दिन म विशेष आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।

तत्कालीन संसद्मा व्यापक छलफल भई ऐन विगत वर्षमा नै संसद्बाट पारित भए पनि आजदेखि लागू भएको बताउँदै उहाँले यसका बारेमा अनावश्यक भ्रमका खेती नगर्न आग्रहसमेत गर्नुभयो । प्रधानमन्त्री ओलीले नयाँ थिति, ऐन र नियम लागू गर्दा समाजमा केही असजिलो भए पनि यसलाई स्वाभाविक बनाउँदै लान आग्रह गर्दै ऐनमा केही कमजोरी, अपूर्णता, सामाजिक सम्बन्धमा अहित तथा आर्थिक–सामाजिक अधिकार खोसिने अवस्था आएमा सच्याउन सकिने जानकारी दिनुभयो ।

“सङ्घीय लोकतन्त्र, संविधान, राजनीतिक सामाजिक मूल्यमान्यतासहित अन्तर्राष्ट्रिय अभ्यासका अनुभव ऐनमा समावेश भएको छ, यो ऐनमा समेट्न जरुरी पनि जरुरी थियो”, प्रधानमन्त्रीले भन्नुभयो ।
सो अवसरमा कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विधिको शासन र सुशासनलाई थप प्रत्याभूत गर्न ऐन ऐतिहासिक बन्ने विश्वास व्यक्त ऐनलाई व्यावहारिक र वस्तुनिष्ठ रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो ।

कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले नेपालको संविधान कार्यान्वयन गर्न आजदेखि कार्यान्वयनमा आएका ऐन कोसेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “आवश्यकताअनुसार ऐन परिवर्तन र संशोधन हुँदै जान्छन् ।”

मन्त्रालयका सचिव राजीव गौतमले संविधानपछि जारी भएको सो ऐनले कानूनी व्यवस्थालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, मन्त्रिगण सांसदलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्