चितवन र मकवानपुरमा डिडिसिले दुधको मुल्य बढायो, देशभर मूल्य समायोजन गरिने



देशभर मूल्यमा समायोजन गर्न इलाम दुग्ध सहकारीको पन्ध्र दिने अल्टिमेटम

गणेश घिमिरे, इलाम ।

दुग्ध बिकास संस्था (डिडिसि) ले चितवन र मकवानपुरमा मात्र दुधको मूल्य बढाएपछि इलामका दुग्ध किसानहरु रुष्ट भएका छन् । अतिरीक्त मूल्य भनेर संस्थानले गोप्य रुपमा दुईवटा जिल्लामा मात्र दुधको मूल्य बृद्धि गरीँदा इलाम सहित अन्य देशभरका लाखौं कृषकहरु ठगिएको दुग्ध उत्पादक सहकारी संघ इलामका अध्यक्ष हेम कटटेलले बताए ।

‘संस्थाले एकलौटी ढंगले दुईवटा जिल्लामा मात्र दुधको मूल्य बढाएको थाहा पायौं’ अध्यक्ष कट्टेलले आक्रोस पोख्दै भने ‘ डिडिसिले दुईवटा जिल्लामा मात्र दुधको मूल्य बढायो, अरु जिल्लामा उत्पादीत दुधको मूल्य नबढाउँनुले डिडिसिमाथि धेरै शंका उत्पन्न भएको छ ।’ दुग्ध उत्पादक किसानले देशभरी नै दूधको मूल्यमा एकरुपता कायम गर्न माग गरेका छन । पाउडर दुध आयात गरेर नेपालमा उत्पादित दुधलाई बिस्थापित गर्दै मिल्क होलिडे गर्न खोजेको कृषकहरुले आरोप लगाउँदै आएका छन् । पाउडर दुध आयातमा सरकारले नियन्त्रण गर्नुपर्ने अध्यक्ष कटटेलको भनाई छ ।

अब दुग्ध बिकास संस्थानले चितवन र मकवानपुरमा मात्र नभएर देशभरी नै दुधको मूल्य बढाउनु पर्ने र मूल्यमा एकरुपता कायम गर्नुपर्ने जनाएका छन् । यी दुई जिल्लामा डिडिसिले ५७ प्रतिशत मूल्य बृद्धि गरेको संघले जनाएको छ । मूल्य समायोजन अबको पन्ध्र दिनभित्र नगरे सशक्त आन्दोलनमा उत्रने संघले चेतावनी समेत दिएको छ । डिडिसि बिराटनगर अन्तर्गत जिल्लामा रहेका दुग्ध चिस्यान केन्द्रले यहाँका किसानलाई दुधको मूल्य गुणस्तर हेरेर प्रतिलिटर ३८ देखि ४० रुपैंयाँ दिँदै आएको छ ।

जिल्लामा सातवटा चिस्यान केन्द्र रहेको छ । इलाममा दैनिक सरदर एकलाख २० हजार लिटर दुध उत्पादन हुँदै आएको छ । यहाँ उत्पादीत दुध डिडिसि बिराटनगरमा दैनिक सरदर २५ हजारदेखि २७ हजार लिटरसम्म निकासि हुँदै आएको छ । बाँकि अधिकाँश उत्पादीत दुध निजि लगानीमा खोलिएका जिल्ला भित्रकै चिज तथा डेरी उद्योगमा कृषकले बिक्रि गर्ने गरेका छन् ।

डिडिसिले भन्दा निजी दूग्ध उद्योगहरुले मूल्य बढी दिने भएकाले कृषकहरु चिस्यान केन्द्रमा भन्दा डेरी तथा चिज उद्योगमा दुध बिक्रि गर्ने क्रम बढ्दै गएको छ ।

पछिल्लो समय यहाँका कृषकहरु पशुपालन ब्यबसायतर्फ आकर्षित भएकाले पनि दुध उत्पादन पनि बढिरहेको छ । बिषेश गरेर पशुपालन ब्यबसायमा बैदेशिक रोजगारीबाट फर्केका युवाहरु बढि मात्रामा रहेका साविक जिल्ला पशुसेवा कार्यालयका प्राबिधिक डिगबहादुर कार्कीले बताए । तर, कृषकले अझै पनि मेहनत र लगानी अनुसार दुधको उचित मूल्य भने नपाएको गुनासो गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्