खाने हैन त क्वाँटीको सुप ?



हेटौंडा,(नेस) ।

क्षेत्रीय खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडामा क्वाँटीको सुप पाउडरको सफल परीक्षण गरिएको छ । आर्थिक वर्ष २०७४÷०७५ को परिकार विकास कार्यक्रमअन्तर्गत् उक्त सुप पाउडर बनाइएको हो ।

क्वाँटीको सुप पाउडर बनाउन नौं प्रकारका गेडागुडी (चना, केराउ, राजमा, बोडी, भटमास, सानो केराउ, मस्याङ, बकुल्ला र मुङ) लाई सफा गरी भिजाएर उमारिएको थियो ।

टुसा पलाएका गेडागुडीलाई वाष्पीकरण गरी सोलार ड्रायरमा ५५÷६० डिसे तापक्रममा दिनभर सुकाएपछि पिसेर पीठो तयार गरिएको थियो । पीठोमा उपयुक्त मसला, स्टार्च तथा अन्य कच्चापदार्थ मिसाएर क्वाँटी सुप पाउडर तयार गरिएको थियो ।

‘सुप पाउडरबाट सुप तयार गर्न ५० ग्राम सुपलाई ५ सय मिलीलिटर जति पानीमा उमाल्नुपर्छ । उपयुक्त प्यकिङ गरी क्वाँटी सुप पाउडर बिक्री गर्न सकिन्छ,’ कार्यालयका खाद्य प्राविधिक सन्ध्यादीप धितालले भन्नुभयो–यस्ता प्रविधि तथा परिकार विकासले नेपालमा सजिलै पाइने तर कम प्रयोग भएका पोषणयुक्त खाद्यवस्तुलाई नयाँ उत्पादनका रुपमा प्रवद्र्धन गरी कृषि तथा पोषणको क्षेत्रमा विकास गर्न सकिन्छ । विभिन्न खाद्यप्रविधि प्रयोगले क्वाँटीको पीठो, सुप, कुकिज जस्ता उत्पादन विकास गर्न सकिन्छ ।

नेपालमा सजिलै पाइने र सस्तो पोषणको स्रोत भएकाले कुपोषण रोकथामका लागि यसको अध्ययन महत्वपूर्ण मानिएको छ । क्वाँटी परम्परागत्रुपमा जनै पूर्णिमाका दिन खाने गरिन्छ ।

तर, आजभोलि जुनसुकै समयमा पनि घर÷घरमा क्वाँटी बनाइन्छ । क्वाँटी अत्यन्त पोषणयुक्त खाना हो । सामान्यतयाः सात अथवा नौं प्रकारका गेडागुडी भिजाएर उमारी क्वाँटी बनाइन्छ, जसले गर्दा ती गेडागुडीको पाचन प्रक्रिया सहज हुनुका साथै त्यसमा भएका पोषक तत्व मानिसको शरीरले सजिलै प्राप्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्