बिरानगर बम विष्फोटको घटना रहस्यमय



सरोज यादव, विराटनगर ।
गत आइतबार विराटनगर महानगरपालिकाभित्र भएको बम विष्फोटको घटना रहस्यमय बनेको छ । बम विष्फोटको आरोपमा पक्राउ परेकाहरु निर्दाेष देखिएको र महानगरको सीसी टिभिमा कुनै पनि रेकर्ड फेला नपरेकोले घटना रहस्यमय बनेको हो ।

बम विष्फोटको घटना नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गराएको आशंकामा प्रहरीले सो पार्टीका कार्यकर्ताहरुलाई पक्राउ गरेकोमा उनीहरुको घटनामा सम्लग्नता नदेखिएपछि महानगरको सीसी टिभी फ्ुटेजबाट दोशीसम्म पुग्ने प्रहरीले अपेक्षा गरेको थियो ।

अनुसन्धानको क्रममा महानगरको सीसी टिभिको हार्ड डिक्स लिएर गएको प्रहरी सीसी टिभि रेकर्डमा कुनै फुटेज नदेखे पछि आफै छक्क परेको छ । महानगरमा ८ वटा सीसी क्यामेरा जडान गरी प्रमुख भीम पराजुलीले कार्यकक्षबाट त्यसको निरिक्षण गर्ने गरेका थिए ।

तर बम विष्फोटपछि प्रहरीले लगेको सीसी टिभिको रेकर्ड राखिएको कम्युटरको हार्डडिक्समा कुनैपनि रेकर्ड फेला नपरेको मोरङ प्रहरीका एसपी मनोजकुमार केसीले बताए । महानगरले सीसी टिभि जडान गरेको भएपनि रेकर्डीङ मोडमा नराखिएकाले बम विष्फोटको दिन महानगरको गतिविधि कुनैपनि रेकर्डमा नेखिएको हो । सीसी टिभिको रेकर्ड नभेट्दा अनुसन्धानमा लम्बीएको प्रहरीले जनाएको छ ।

यता महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने सीसी टिभिको फुटेज रेकर्ड नहुने कुरा असम्भव रहेको दावी गरेका छन । आफूले केहि समय अघिसम्म सीसी टिभि रेकर्ड अपडेट रहेको बताउँदै उनले कसरी अहिले खाली देखियो भन्ने तर्फपनि अनुसन्धान गर्नुपर्ने माग गरेका छन । बम पड्काउनकै लागि रेकर्ड बन्द गरिएको हो भने पनि त्यसको प्रहरीले गम्भीर अनुसन्धान गर्नुपर्ने महानगर प्रमुख पराजुलीको भनाइ छ ।

प्रहरी र महानगर प्रमुखको सीसी फुटेज बारेको फरक फरक भनाइले घटनालाई थप रहस्यमय बनाएको छ । सो घटना विप्लब नेतृत्वको नेकपाले गराएको आशंका प्रहरीले गरेपनि सो पार्टीले खण्डन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्