सिंहदरबार प्रवेशमा कडाइ



मधुसूदन रायमाझी, काठमाडौं
देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा थप कडाइ गरिने भएको छ । सिंहदरबारभित्र सामान्य काम लिएर पनि प्रवेश गर्नेको संख्या बढेपछि एकद्वार प्रणालीमार्फत सिंहदरबार प्रवेश गर्ने व्यवस्था गर्न लागिएको हो ।

सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भने पनि हाल दैनिक २५ सयभन्दा बढी नागरिक विभिन्न काम लिएर सिंहदरबार प्रवेश गर्ने गरेको प्रहरीको तथ्यांक छ । सिंहदरबारको चारवटै गेटमा डिजिटल गेट निर्माण गर्ने गृह मन्त्रालयअन्तर्गत रहेको सिंहदरबार सुरक्षा समन्वय समितिले गृहकार्य अगाडि बढाएको छ ।

सिंहदरबारमा रहेको चारवटा गेटमध्ये दक्षिण गेट मात्र हाल सर्वसाधारणका लागि खुला गरिएको छ । दक्षिण गेटमा सिंहदरबार प्रवेश गर्नेको भीड लाग्ने गरेको छ । स्थानीय र प्रदेश सरकार गठन भएर सञ्चालनमा आए पनि सिंहदरबारमा प्रवेशमा भने सर्वसाधारणको भीड कम हुन सकेको छैन ।

सिंहदरबार सुरक्षा समन्वय समितिले चारवटै गेटमा डिजिटल गेट निर्माण गर्ने, एकद्वार प्रणालीबाट प्रवेश पास वितरण गर्ने र आवश्यक मानिस मात्र प्रवेश गर्ने गरी व्यवस्थापन गर्न लागेको हो । सिंहदरवारभित्र हाल प्रधानमन्त्री कार्यालयमा डिजिटल गेट सञ्चालनमा ल्याइएको छ । सिंहदरबारलाई प्रविधिमैत्री र सुरक्षित बनाउनका लागि समन्वय समितिले गेटमा ब्यागेज एक्सरे मेसिन जडान गर्ने, गाडी चेक गर्न भेइकल स्क्यानर भेकल मिरर जडान गर्ने तयारी गरेको छ ।

–दक्षिण गेटबाट भित्रने, पूर्वी गेटबाट बाहिरिने
–सुरक्षाको गेट सर्वसाधारणलाई बन्द
–प्रविधिमैत्री सिंहदरबार बनाइने
–चारवटै गेटमा डिजिटल गेट राख्ने
–भीड घटाउन एकद्वार प्रवेश पास
–गृह र प्रधानमन्त्री कार्यालयले मात्र पास दिन सक्ने

गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले सिंहदरबारलाई सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमैत्री बनाउन लागिएको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सिंहदरबारभित्रको शान्ति सुरक्षा व्यवस्थित गर्न चारवटै गेटमा डिजिटल गेट राख्ने गृहकार्य भइरहेको छ, छिट्टै नै सिंहदरबार प्रविधिमैत्री बन्छ ।’

सिंहदरबार सुरक्षा समन्वय समितिले तत्कालीन, अल्पकालीन र दीर्घकालीन रुपमा सिंहदरबारलाई कसरी प्रविधिमैत्री बनाएर लैजान सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको छ । उहाँका अनुसार समितिले सिंहदरबारभित्र अनावश्यक रुपमा सर्वसाधारण प्रवेश गर्दा मन्त्री र सचिवको कार्यतालिका नै प्रभावित हुने गरेकाले आगामी दिनमा दिन नै तोकेर मन्त्री र सचिवले सर्वसाधारणसँग भेट गर्ने व्यवस्था मिलाइने गृहकार्य भइरहेको छ ।

सिंहदरबारभित्र विकास निर्माणको योजना माग्ने, मागपत्र, ज्ञापनपत्रलगायतका विषय लिएर सरोकारवाला निकाय र सर्वसाधारण दैनिक रुपमा आउँदा नीति निर्माण तहमा नै असहज भएको बताउँदै अधिकारीले कार्यतालिका निर्माण गरेर नै भेटघाटको व्यवस्था गर्न लागिएको बताउनुभयो ।

प्रविधिमैत्री सिंहदरबार बनाउन सरकारले यस आर्थिक वर्षमा बजेट नै विनियोजन गरेको छ । सर्वसाधारण नागरिकले प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयबाट मात्र अब प्रवेश पास पाउने भएका छन् । हाल प्रत्येक मन्त्रालयले गेटमा प्रवेश पास पठाउँदै आएका छन् । सिंहदरबार प्रवेश गर्नका लागि कर्मचारीको पनि डिजिटल कार्ड हुनुका साथै सर्वसाधारणका लागि छुट्टै पास हुने बताउँदै अधिकारीले भन्नुभयो–‘डिजिटल कार्डको कन्ट्रोल एउटा केन्द्रबाट मात्र हुन्छ, डिजिटल रेकर्ड राख्दा बदमासी गर्नेलाई तत्काल नै पक्राउ गर्न सकिन्छ ।’

डिजिटल गेटमार्फत दैनिक कति जना प्रवेश गरे र बाहिरिए भन्ने तथ्यांक संकलन गर्न पनि सहज हुने गरेको छ । हाल दक्षिण गेटबाट पैदल र गाडीबाट सर्वसाधारण सिंहदरबार प्रवेश गर्ने गरेका छन् ।

उहाँका अनुसार गेटबाट डिजिटल पास लिएपछि एउटा मात्र मन्त्रालयमा प्रवेश गर्न पाउने प्रावधान लागू हुनेछ । ‘सिंहदरबारभित्र प्रवेश गरेपछि सबै मन्त्रालयमा जाने पाइने व्यवस्था हटाइनेछ, कुन मन्त्रालयमा जाने हो, त्यो मन्त्रालयमा मात्र जान पाइन्छ, पास लिएर अब सबै मन्त्रालयमा जान पाइँदैन’ –अधिकारीले भन्नुभयो ।

सिंहदरबार अवलोकन गर्नका लागि भने खुला भ्यानको व्यवस्था गरेर गाडीबाटै अवलोकन गराउने विषयमा पनि छलफल भइरहेको बताउँदै उहाँले सिंहदरबारलाई व्यवस्थित बनाउने काम सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सुरक्षा निकायले प्रयोग गर्दै आएको सिंहदरबारको पश्चिम गेटबाट अब सर्वसाधारण र कर्मचारी प्रवेश नपाउने प्रावधान लागू गर्दै छौं, सिंहदरबारभित्रको सवारी चाप घटाउन दक्षिण गेटबाट प्रवेश गर्ने र पूर्वी गेटबाट बाहिरिने व्यवस्था हुन्छ ।’

गृह मन्त्रालय सुरक्षा समन्वय समितिका अध्यक्ष, गृह मन्त्रालयका सहसचिव, अध्यक्ष, नेपाली सेनाको सिंहदवार गणका प्रमुख, महानगरीय सुरक्षा प्रहरी गण सिंहदरवारका प्रमुख र सिंहदरबार पुनर्निर्माण सचिवालका प्रतिनिधि समितिका सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्