समृद्ध नेपालको नमुना चिलिङदिन, एउटै वडामा १२ करोडको अकबरे बिक्रि



गणेश साम्पाङ, पाँचथर
पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ साविकको चिलिङदिन गाविसलाई केही वर्षअघिसम्म विपन्न गाविसको रुपमा चिनिन्थ्यो तर अहिले त्यही गाविसका बासिन्दा सम्पन्न तथा भाग्यमानी भएका छन् ।

‘७÷८ वर्षअघि यो गाउँमा मकै, कोदो, धान खेती हुन्थ्यो । बजारमा बिक्री गर्ने कुनै वस्तु थिएन, स्थानीयबासीको आयस्रोतको बाटो थिएन । तर अहिले त्यही वडाका स्थानीय व्यावसायिक रुपमा अकबरे खोर्सानी बिक्रीबाट राम्रो फाइदा लिइरहेका छन्’ –सोही वडाका वडा सदस्य कवीन्द्रप्रसाद लावती भन्छन् ।

केही वर्ष अघिदेखि शुरु गरिएको अकबरे खुर्सानी खेतीले अहिले व्यावसायिकता पाएको छ । ‘सबै परिवारले अकबरे खुर्सानी खेती गरेका छन् । नहुनेले पनि १÷२ रोपनीमा अकबरे लगाएका छन्’ –स्थानीय कृषक भीमकुमार नेम्वाङ भन्नुहुन्छ । अकबरे खुर्सानी खेती नगर्दासम्म आफ्नो अवस्था निकै नाजुक भएको र अहिले २÷३ रोपनी जमिनमा अकबरेको खेती गरेको स्थानीय कृषक रेवतकुमार नेम्वाङले बताउनुभयो । उहांंले भन्नुभयो– ‘अहिले एक सिजनमा २ लाख बढी हुन्छ, केही गर्न नसके पनि अहिले छोरालाई काठमाडौंको निजी क्याम्पसमा पढाउँदै छु ।

रेवतले जस्तै रत्न नेम्वाङले पनि अकबरे खुर्सानीकै कमाइबाट आफ्ना छोराछोरीलाई बिर्तामोडमा पढाइरहनु भएको छ । अकबरेको कमाइले सम्पत्ति जोड्ने थुप्रै छन् । थोरै कमाउनेले पनि एक सिजनमा १ लाखदेखि ४ लाखसम्म कमाउने गरेका छन् । अकबरेको कमाइले छोराछोरीलाई उच्च शिक्षा पढाउने तथा राम्रो घर बनाउने गाउँमा थुप्रै भएको वडा अध्यक्ष लावतीले बताउनुभयो ।

गाउँमा अकबरे खुर्सानीको उत्पादन बढ्दै गएपछि सबै कृषकलाई सहकारीमा संगठित गरी व्यावसायिक रुपमा उत्पादन गरेको सिरीजंगा साना किसान सहकारी संस्थाका अध्यक्ष तारावीर नेम्वाङले बताउनुभयो ।

‘अकबरेको उत्पादन शुरु भएपछि जिल्लाको एक गाउँ एक उत्पादन कार्यक्रममा चिलिङदिनको अकबरे परेको छ यसले कृषकको आयस्रोत मात्र होइन पाँचथर जिल्लाको नेतृत्व नै गरेको छ’ –अध्यक्ष नेम्वाङको दाबी छ ।
जिल्लाकै एक गाउँ एक उत्पादनमा पाँचथरमा अकबरे परेपछि यस खेतीलाई व्यावसायीक बनाउन सेवा केन्द्रमार्फत प्राविधिक सहयोग र आवश्यक सल्लाह सुझाव दिइरहेको जिल्ला कृषि विकास कार्यालय पाँचथरका प्रमुख कमलेशकुमार तिवारीले बताउनुभयो ।

उत्पादन बढेसँगै स्थानीय बजारले थेग्न नसकेपछि इटहरीको एक उद्योगले वार्षिक २० देखि ३० टनसम्म अकबरे खोर्सानी किन्ने गरेको छ । यसपटक पनि सम्झौता हुन लागेको अध्यक्ष नेम्वाङले जानकारी दिनुभयो । बजारमा २ सयदेखि ३ सयसम्ममा पाइने अकबरे चिलिङदिन र आसपासमा गरी एक सिजनमा ५० टनभन्दा बढी उत्पादन हुने गरेको छ ।

यहाँ उत्पादन हुने अकबरे राकेभञ्ज्याङ, झापा पाँचथरको रवि बजारसम्म पुग्ने गरेको कृषक गोवा चेम्जोङको भनाइ छ । चिलिङदिनमा उत्पादन भएको अकबरे खुर्सानी बढी बिक्री हुने राँके बजार अहिले अकबरेको बजारको रुपमा चिनिएको छ ।

जिल्लाको एक गाउँ एक उत्पादन बस्तु अकबरे भएको हुनाले पनि पाँचथरको कोसेली नै अहिले अकबरे खोर्सानी भएको विक्रेता विष्णुकुमारी तामाङले बताउनुभयो ।

अकबरे खुर्सानी खेतीले अहिले व्यापकता पाउँदै गइरहेको छ । ‘वार्षिक ५० टन उत्पादन हुन्छ सामान्य २ सय ४० रुपियाँमा बिक्री हुँदा पनि एक सिजनमा १२ करोडको अकबरे बिक्री हुन्छ यसले यो रकमले गाउँका लागि ठूलै रकम हो’ –लावती भन्छन् ।

अकबरेको उत्पादनले स्थानीय गाउँको आय स्रोत बढाएको मात्र होइन जिल्लाकै पहिचानसमेत बनेको छ । जिल्लाको एक गाउँ एक उत्पादनलाई अन्य पालिकामा पनि खेती बिस्तार गरेर लैजान सके यसले जिल्लाको आर्थिक समृद्धिमा थप टेवा पु¥याउँछ पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्