टुहुरा बालबालिकालाई मासिक दुई हजार भत्ता



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको दोगडाकेदार गाउँपलिकाले चालु आर्थिक बर्षदेखि विद्यालय उमेर समूहका टुहुरा बालबालिकालाइ मासिक २ हजार भत्ता दिने भएको छ । टुहुरा बालबालिकालाइ पढाइमा आर्थीक अभाव नहोस भनेर मासिक २ हजार भत्ता दिन लागिएकोे गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताए । उनले भने “टुहुरा बालबालिले आमा बुबा गुमाएको महसुस नगरुन र उनिहरुको पढाइमा कुनै पनि किसिमको समस्या नहोस भनेर भत्ता दिन लागेका हौं ।”

टुहुरा बालबालिकालाई दिईने भत्ताले बालबिवाह न्युनिकरणमा समेत टेवा पुग्ने उपाध्यक्ष कार्कीले बताए। उनले भने“ भत्ताले गरिबी र अशिक्षा कारण २० बर्ष नपुग्दै गरिने बिहेको पनि अन्त्य हुने अपेक्षा गरेका छौं ।”

गाउँपालिकाले टुहुरा बालबालिकाहरुको तथ्याङक संकलन गरीरहेको जनाएको छ । १८ बर्ष मुनिका आमा बुबा गुमाएका टुहुरा बालबालिका लाइ भत्ता दिनको लागी तथ्याङक संकलन गर्न थालीएको गाउँपालिकाले जनाएको हो ।

गाउपालिकामा रहेका सबै ८ वटै वडाका वडा अध्यक्षहरुलाई टुहुरा बालबालिकाको तथ्याङक संकलन गर्न गाउँपालिकाले निर्देशन दिइसकेको गाउपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । उनले भने“ आमा बुबा दुबै गुमाएका र संरक्षक पनि नभएका बालिबालिकाको लागि थप व्यवस्था गर्न गाउपालिकाले भत्ता दिने निर्णय गरेको हो ।”

टुहुरा बालबालिकाको भत्ताको लागी गाउँपालिकाले महिला तथा बालबालिकाको रकमवाट २ लाख ४० हजार रकम छुट्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्